व्यावसायिक कालिज पालनमा पूर्व वडाध्यक्ष

गोरक्ष समाचारदाता
दाङ, २१ पुस । दाङको बंगलाचुली गाउँपालिका–५ मुर्कुटी निवासी पूर्व वडाध्यक्ष एनुराज खत्रीले १६ लाख बढी रुपैयाँ लगानी गरेर व्यावसायिक कालिजपालन गर्दै आएका छन् । शिक्षण पेशाबाट करिब ६ बर्षअघि राजीनामा दिएर जनप्रतिनिधि बनेका खत्रीले विगत ढाई बर्षदेखि कालिजपालन गर्दै आएका छन् । खत्री २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बंगलाचुली वडा नं. ५ मा वडाध्यक्षमा निर्वाचित भएर काम गरेका थिए । जनप्रतिनिधिका रुपमा पाँच बर्ष बिताएपछि पछिल्लो समय खत्री गाउँमै व्यावसायिक कालिजपालन गर्दै आएका छन् । कालिजको व्यावसायिक पालनका लागि घोराही बजारमा रहेको घर करिब १ करोड रूपैयाँमा बेचेर व्यवसाय सुरु गरेको उनी बताउँछन् ।

बजारभन्दा आफू जन्मे हुर्केकै ठाउँमा बस्नका लागि सहरको घर बिक्री गरेको बताउँछन् । ‘आफू जन्मे हुर्केको ठाउँ छोड्न मन लागेन । त्यसैले गाउँ छोड्नुभन्दा बजारको घर बिक्री गर्ने सोच बनाएर कालिजपालनमा लागेको हुँ’, खत्रीले भने– ‘अहिले आफ्नै गाउँमा व्यवसाय गर्न पाउँदा खुसी लागेको छ ।’ खत्री पूर्व शिक्षकसमेत हुन् । खत्रीले गाउँकै एक विद्यालयमा करिब ३० वर्ष शिक्षण पेशा गरेका थिए । बंगलाचुलीमा व्यावसायिक बाख्रापालनसमेत गरेका निवर्तमान वडाध्यक्ष खत्रीले कार्यकाल सकिनुभन्दा करिब एक वर्षअघि ‘लेकाली व्यावसायिक पशुपंछी फार्म’ दर्ता गरेर कालिज पाल्न सुरू गरेको बताउँछिन् ।

‘पहिले पढाउने काम गर्ने गर्थे । पढाउने काम छोडेर राजनीतिमा आएर पाँच बर्ष जनप्रतिनिधिका रुपमा जनताको सेवा गरे’, उनले भने– ‘पाँच बर्ष जनप्रतिनिधिका रुपमा काम सकिएपछि के गर्ने भन्ने सोच थियो । त्यही सोच अनुसार पशुपंछी फार्म दर्ता गरेर कालिज पाल्न थालेको हुँ ।’ जुनसुकै क्षेत्रमा लागे पनि सक्रिय जीवन बिताउनुपर्छ भन्ने मान्यता अनुसार जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा एक बर्षअघि नै फर्म दर्ता गरेर व्यवसाय सुरु गरेको उनी बताउँछन् । त्यसका लागि आफूले तुलसीपुरमा रहेको एक कालिज फार्मबाट १ हजार रूपैयाँका दरले ९ सय वटा बच्चा किनेर व्यवसाय सुरू गरेको बताउँछिन् ।

‘बंगलाचुलीमा कालिज पालन नयाँ काम थियो । जसले गर्दा धेरै बच्चा सुरुमा बचाउन सकिएन’, उनले भने– ‘नौ सय बच्चाहरुमध्ये ५ सय जति बचे । तिनैलाई हुर्काएर व्यवसाय गरिरहेको छु ।’ उनका अनुसार अहिले उत्पादन समेत सुरु भएको छ । यो बर्ष करिब १५ सय बच्चा उत्पादन भएको बताउँछन् । फार्ममा कालिजको संख्या करिब २५ सय बढी पुगेका थिए तर अहिले आधाभन्दा बढी बेचिसकेका छन् । अझै करिब फार्ममा १२ सय बढी कालिजहरु रहेका छन् ।

सुरुमा कालिज (भाले) साढे तीन हजार रूपैयाँसम्ममा बिक्री गरे पनि पछिल्लो समय भाउ घटेर दुई हजारसम्ममा बिक्री गर्दै आएको बताए । जिल्लामा व्यावसायिकरुपमा कालिजपालन बढ्न थालेपछि कालिजको मूल्य क्रमिकरूपमा घट्दै गएको उनी बताउँछन् । उनीका अनुसार कालिजका पारखीहरू फार्ममै आएर किन्ने गर्दछन् । बाँकी बिक्रीका लागि घोराही, तुलसीपुरलगायतका बजारसम्म पठाउने गरेका छन् । उनका अनुसार तराईको भन्दा अग्लो चिसो पहाडी हावापानीमा हुर्केको कालिज स्वादिलो हुने गर्दछ ।

त्यही कारण बजारबाट समेत किन्न २९ किलोमिटर टाढा बंगलाचुलीसम्म उद्योगी तथा व्यवसायीहरू पुग्ने गरेको बताउँछन् । उनका अनुसार कालिज पालनमा व्यवसायमा सजिलो र अप्ठ्यारो दुबै छ । आफू कसरी सन्तुष्ट हुने भन्ने महत्वपूर्ण कुरा भएको उनी बताउँछन् । व्यावसायिक पालन गरे पनि आफूसँग ह्याचिङ मेसिन नभएका कारण कालिजका अण्डा घोराही वा तुलसीपुरसम्म लगेर बच्चा निकाल्ने गरेको खत्री बताउँछन् ।

‘व्यावसायिकरुपमा कालिज पाल्न थाले पनि मसँग बच्चा उत्पादनका लागि ह्याचिङ मेसिन छैन’, उनले भने– ‘जसले गर्दा घोराही वा तुलसीपुरसम्म गएर बच्चा निकाल्नुपर्ने बाध्यता छ । तर बाटो खराब भएका कारण अण्डा फुटेर खेर जाने र ढुवानी खर्च बढी लाग्ने गरेको छ ।’ उनलाई घरायसी कामसँगै व्यवसायमा श्रीमती केशरी र कान्छा छोरा द्रोण खत्रीले सघाउने गर्दै आएका छन् । पाँच जनाको परिवारमध्ये खत्रीका जेठा छोरा बेलायत छन् भने छोरीको विवाह भइसकेको छ ।