भुवन पोख्रेल
राजनीति सधैँ सोझो रेखामा हिड्दैन भन्ने कुरालाई नेपाली राजनीतिक वृत्तका अप्रत्यासीत घटनाले प्रमाणित गर्दछन् । नेपाली राजनीतिक दलका शीर्ष नेताको अभिष्ट प्रधानमन्त्री पद प्राप्ति भन्दा अरु कुनै छैन । शीर्ष दलका नेताहरुको अन्तिम लक्ष्य नै प्रधानमन्त्री पदको प्राप्ति बन्न पुगेको छ । राजनीतिमा नैतिकता, इमानदारीको कुनै अर्थ छैन । दुई–दुई पटक संसद विघटन गरेका केपी ओलीसँग मिलेर सरकारको नेतृत्व गर्दा प्रचण्डले कुनै पनि प्रश्नको उत्तर दिनसकेका छैनन् ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन किन जरुरी थियो र आज त्यसको औचित्य किन सकियो ? विश्वसनीय उत्तर अब प्रचण्डले नदिए पनि होला तर देउवालाई यो प्रश्नले केही समयसम्म ऐठन परिरहने नै छ । प्रचण्डले प्रधानमन्त्री पद बाजी मार्दै ह्याट्रिक त गरेका छन् तर त्यसको नैतिक धरातल भने शून्य प्रायः छ । २०७२ यता प्रधानमन्त्री पद कुनै रोमाञ्चकता र उत्साहबिनाको ओली, देउवा र प्रचण्ड बीचको निरस कुर्सी दौडमा सीमित भएको छ ।
बहुमतको अहंकार हमेसा नैतिकताका लागि घातक हुन्छ । चुनाव परिणाम आएपछि देउवालाई निर्णय गर्नमा कसैले बाधा हालेको थिएन । जसरी हुन्छ गठबन्धनको निरन्तरता होस् भन्ने थियो तर सभापतिले गठबन्धन टिकाउन सकेनन् । देउवा न आफू सुरक्षित बने न त आफ्ना पार्टीभित्रका अन्य नेतृत्ववर्गको भविष्य सुनिश्चित गर्न सके । संसदीय राजनीतिमा कुनै पनि पार्टीलाई अधिक निराशा र हतोत्साहका क्षणहरु आउँछन्, जान्छन् तर त्यस्तो बेला पार्टी नेतृत्व समस्याको समुल पहिचान गरेर निदान वा उपचारतर्फ लाग्छ कि लाग्दैन भन्ने हो ।
कांग्रेसले २०६४ र २०७४ मा पनि यस्तै निराशा झेलेको थियो तर कुनै पनि बेला पार्टीभित्र पर्याप्त विमर्ष र परिवर्तन ल्याउने काम भएन, पार्टीलाई पुरानै ढर्राले लतारियो । कांग्रेस आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । त्यसका लागि परिवर्तनको लप्का झेल्नसक्ने साहसिक नेतृत्व जसको आँखामा जनताले विश्वास गर्ने सपना बोकेको होस् । पक्ष–विपक्षमा भन्दा पनि कांग्रेस एक मन, वचन र संकल्प बोकेर अगाडि बढ्न सकोस् । मुलुकमा कांग्रेस किन खुम्चिँदै गयो र कम्युनिस्टहरुको कसरी आयतन बढ्दै गएको छ भन्ने विषयमा पार्टीभित्र आन्तरिक बहस हुनुपर्छ । कांग्रेस लोकप्रिय मत किन घट्यो भन्ने बारे बेलैमा चिन्तन, मनन् र विमर्ष गर्नसक्ने हो भने त्यो मत फर्काउन सक्दथ्यो ।
शीर्ष नेतृत्वमा बदलाव नआइकन त्यो सम्भव छैन । कांग्रेसमा आउन चाहने युवा पुस्ताले भरोसा गर्न लागयक नेतृत्वको खडेरी देखियो, कंग्रेस वृत्तमा । कोही व्यक्तिले रुख चिह्नमा किन भोट हाल्ने भन्ने विषयमा सोच्दा पार्टी प्रमुखतर्फ नजर सोझ्याउँछ । पार्टी प्रमुखबाट केही आशा राख्न ठाउँ देखेन भने किन रुखमा भोट हाल्ने भन्छ ? त्यसर्थ पार्टी सुदृढीकरणका लागि वर्तमान नेतृत्वलाई अगाडि ल्याएर सम्भव छैन । वर्तमान नेतृत्वले त पार्टी पहिलो हुँदा पनि दोस्रो र तेस्रोले शासन गर्ने र प्रतिपक्षमा बसेर रमिता हर्ने तमासे बन्न विवश बनायो । जनताको मतलाई सम्मान गर्न जानेन । अकस्मात कुनै घटनाक्रमले नयाँ मोड लिएन भने कांग्रेस प्रदेशमा पनि प्रतिपक्षमा बस्नुपर्ने देखिएको छ ।
प्रचण्डको सत्तासँग जोडिएको सात दलको चित्त बुझाएर गठबन्धन जोगाउनु चुनौतीपूर्ण छ, ढङ्ग पुगेन भने टुटेको र नयाँ जुटेको गठबन्धन पुनः टुक्रिन पनि केही बेर लाग्ने छैन । राजनीति सम्भावनाको खल हो, कहिलेकाहीँ अपत्यासीत घटनाक्रम विकसित हुनु पुग्छन् । आफूलाई सत्ताको खेलाडी ठान्नेहरु पनि तीन बल्ड्याङ खाएर उत्तानो पर्नसक्छन् । केही घण्टामै देउवाको प्रधानमन्त्री बन्ने सपना हुरीले उडाएर बूढानीलकण्ठ फर्कनु प¥यो । प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायतका सबै प्रमुख पद एकलौटी गर्ने मनसाय बोकेका देउवा हारेको जुवाडेझैँ खाली हात फर्कनु प¥यो । उनको आत्मघाती कदमले उनलाई व्यक्तिगत रुपमा मात्र क्षति भएर बरु सिङ्गो कांग्रेस पार्टी पहिलो दल भएर पनि केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षमा बस्नुपर्ने अवस्था आयो ।
देउवाले गरेको आत्मघाती हठकै कारण सत्ताको पासा पल्टिन पुगी गठबन्धन भत्किन पुगी नयाँ गठबन्धन जुट्न पुगेको हो । टुट्नु र जुट्नु नै सत्ता स्वार्थको अभिष्ट हो । मुलुकमा थोरै पनि राजनीतिक रुची नभएकालाई पनि थाहा छ कि प्रचण्ड जसरी पनि प्रधानमन्त्री बन्न चाहन्छन् । त्यो कुरा झन देउवालाई पत्ता नहुने कुरै भएन । प्रचण्डको मनोविज्ञानलाई देउवाले कसरी बुझ्न सकेनन् ? असम्भवलाई सम्भव बनाएर देउवाले प्रधानमन्त्रीको ह्याट्रिक गर्न पुगेका छन् । प्रचण्ड हठात एकसय असी डिग्रीको फन्को मारेर विपरीत ध्रवमा पुगेर र आफ्नो अभिष्ट पूरा गरे । संसदीय राजनीतिका नयाँ खेलाडी भए पनि राजनीतिक चतु¥याईमा प्रचण्ड पनि कोहीभन्दा कम होइनन् ।
पछिल्लो गठबन्धन र राजनीतिक उलट फेरका मास्टरमाइण्ड केपी ओली नै हुन् । तर त्यसलाई सम्भव भने शेरबहादुर देउवाको हठ र प्रचण्डको चुनौतीलाई अवसरमा बदल्ने खुबीले बनायो । यसपटक पनि विश्वासिला नेतामार्फत् वैकल्पिक ढोका खुलै राखेका थिए । त्यसैले उनले समय घर्किनु अघि बालुवाटारको कटिल वार्ताको युक्तिलाई बाइबाई गरेर प्रधानमन्त्रीको बाजी मारे । लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैँ ओली, प्रचण्ड सम्बन्धमा निर्णायक मोड लिएर एकछिन्मा काटाकाट एकछिनमा चाटाचाटमा बदलियो । यो राजनीतिक घटनाक्रममा उलटफेरका मास्तरमाइण्ड केपी ओली नै हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती र अवसर दुवै छन् । सात दलसँग जोडिएका प्रचण्डलाई सबैको चित्त बुझाउन ठूलै चुनौती छ भने उनको टिममा नयाँ जोश जाँगर भएका युवा र उर्जावान नेतृत्व पनि छ । राजनीतिक स्थायित्वले जरा गाड्ने अवसर पनि छ । शेरबहादुर देउवाको कुर्सी मोहको समीक्षा गरेर नेपाली कांग्रेसका सम्भावना भएका नेतृत्ववर्ग पनि लुरुलुरु पछि राख्नुको आत्ममन्थन हुनुपर्छ । सबैभन्दा जरुरी पार्टीभित्र मात्र होइन, मुलुककै समकालीन राजनीतिक परिदृश्यमा उज्ज्वल छवि बनाएका गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवा नेताहरुले पार्टीको संगठन र संसदीय मोर्चामा निर्णायक हस्तक्षेप गर्न जरुरी छ ।
पुस्ताको कुरालाई बिर्सेर पार्टीमा भएका पुराना पुस्ता अभिभावक बन्न र मार्गदर्शन गर्न गुटको साँघुरो घेराधन्दा माथि उठ्न आवश्यक छ । निःसन्देह कांग्रेसका लागि राजनीतिक घटनाको पछिल्लो विकास ठूलो क्षति हो । नयाँ नेतृत्व नयाँ उर्जासाथ अघि बढ्यो भने कांग्रेसको वर्तमान धर्मराएको जस्तो देखिए पनि भविष्य उज्ज्वल छ । सत्ताको स्वभाव चञ्चल हुन्छ । कहिले कसको हातमा पर्छ भने कहिले कसको हातमा । चिसिँदो मौसमसँगै बढ्दो राजनीतिक सरगर्मी मुलुकका घटनाहरुले देखाएका छन् । यस बेलाको जाडो मौसममा देखारेको राजनीतिक सरगर्मीले प्रत्येक नेपालीलाई तताएको छ ।
यसका केन्द्रीय प्रतिनिधि पात्र बन्न पुगेका छन्, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । राजनीतिमा अस्थिर तर चतुर खेलाडी प्रचण्ड नेकपा फुटाएर आ–आफ्नो किनारामा पन्छिएको केही समय बित्न नपाउँदै ओलीसँगको शत्रुपूर्ण व्यवहार अहिले पानीबिनाको झगडा सडकमा फोहर पानी भएर पोखियो । तल्लो स्तरका शब्द वाण प्रयोग गरेर तुच्छ श्रेणीका अपाच्य गालीगलौजको दोहोरी चलेको आम नेपाली जनताले भुलेका छैनन् । मानौ बामपन्थीहरुको चरित्र नै मन नपरेका मानिसलाई खसाल्ने र खुइल्याउने त होइन ?
प्रधानमन्त्री पदको सत्तालिप्सा लिप्त प्रचण्ड, केपी ओलीबाट प्रधानमन्त्री पद नपाउने भएपछि त्यसबेला एमाले पार्टीलाई धुजा–धुजा पार्ने सपना बोकेर माधव नेपाल सहित त्यसबेलाको प्रतिपक्षी नेपाली कांग्रेस रुखमुनि ओत लाग्न आए । प्रधानमन्त्री पद पाउने भनेपछि शेरबहादुर देउवा हौसिए । स्थानीय, प्रदेश र संघीय चुनावमा गठबन्धनमा कुनै खिचडी पोकेको थिएन । जिन्दगीभर प्रजातन्त्र र लोकतन्त्रको समुन्नतिका लागि घरपरिवार त्यागेका, आफ्नो जीवन रुखमुनि बिताएका थुप्रै कार्यकर्ताले नेपाली कांग्रेसबाट टिकट पाउन वञ्चित भएर पनि पार्टी निर्देशनमा जीवनमा पहिलोचोटि मनले मान्दानमान्दै हँसिया हथौडा र कलम चिह्नमा छाप लगाइ प्रचण्डलगायतका बामपन्थीलाई विजयी गराएको भुलेका छैनन् ।
भर्खरै सम्पन्न चुनावी सभामा एमाले विरुद्ध प्रचण्डले र कांग्रेस विरुद्ध वा गठबन्धन विरुद्ध ओलीले कति विष वमन गरे, सम्झनालायक छ । यो पवित्र गठबन्धन हो सत्ता लिप्साका लािग होइन । मैले प्रधानमन्त्री पद दाबी गर्ने छैन भनी प्रचण्डले भाषण गरेको देशभरका आम जनताले भुलेका छैनन् । प्रचण्डको भित्रि आसय देउवाले नबुझेको देखाए । पुनः प्रधानमन्त्री पद पाइहाल्छु कि भन्ने विचार देउवामा पलाउनु पनि स्वाभाविकै हो । संसदमा सबैभन्दा ठूलो दलको हैसियतले पनि प्रधानमन्त्री पद गुम्दैन भन्ने एकोहोरो मनस्थितिमा देउवा उभिए । प्रधानमन्त्री र राष्ट्रपति पद आफ्नो पार्टीले पाउने कुरामा देउवा ढुक्क थिए ।
प्रचण्डको सत्ता हत्याउने भित्रि खेल र ओलीकहाँ आफ्नो दूत पठाएको उनले हेक्कासम्म नपाउनु उनको ठूलो कमजोरी हो । अन्त्यमा प्रधानमन्त्री पद प्रचण्डलाई दिन सहमत भए तापनि निकै ढिलो भइसकेको थियो, चतुर खेलाडीका अगाडि । देउवा आफ्नो विश्वास पात्र भनिउका केही व्यक्तिको झुण्डमा मात्र रुमलिए । पार्टीभित्र बरिष्ठ नेताहरुसँग घनिभूत छलफल गर्न चुके । पटक–पटक बैठक बसे तापनि निष्कर्षमा नपुग्नु । राष्ट्रपतिले दिएको समय सीमासम्म अलमलको बाटो अपनाउनु देउवाको अर्को कमजोरी हो । चारतिर फर्केका गठबन्धनका शीर्ष नेतालाई मिलाउने खुबी भएको मानिएका देउवा यसपटक असफल ठानिए ।
कार्य बोध र उमेरको कारण घटनाक्रमलाई विश्लेषण गर्न नसक्नु स्वाभाविकै हो । पार्टीका प्रवक्ता, विश्वास प्राप्त व्यक्तिहरु यस्तो गम्भीर अवस्थालाई ध्यान पु¥याउन नसकेकोमा दोषी छन् । पन्छिएर देउवालाई मात्र दोष थोपरेर हुँदैन । यस संगीन घडीमा नेपाली कांग्रेसका सांसद केन्द्रीय सदस्यहरु पनि देउवालाई मात्र गम्भीर दोष र आरोप लगाएर उम्किन पाउँदैनन् । उनीहरुले अब घाम ताप्दै देउवालाई दोष लगाउनुभन्दा समयमै सतर्क गराउन उचित सल्लाह दिनु श्रेय हुन्थ्यो ।
देउवाको विकल्प रोज्नु मात्र लोकतान्त्रिक पार्टीमा वर्तमान अवस्थाको समाधान हुन सक्दैन । यस्ता बेला पार्टीलाई दुर्घटित हुनबाट जोगाउनु सबैको दायित्व हो । कुनैबेला वीपीले आफूले विष सेवन गरेर पनि राष्ट्र, राष्ट्रियता, समाजवाद र प्रजातन्त्र बचाएको लोकतान्त्रिक पार्टी हो कांग्रेस । धैर्य र लोकतान्त्रिक चरित्र नभएको व्यक्ति कांगे्रेस बन्न सक्दैन । गणेशमानको बहादुरी, वीपीको दर्शन, कृष्णप्रसादको त्याग र समर्पण, चातुर्य, गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकता अनि सुशील कोइरालाको समर्पण सम्झनु पार्टीभित्र अहिले सान्दर्भिक हुन्छ ।
अहिले बदलिएको राजनीतिक घटनाक्रमले सबैलाई आश्चर्य पारेको छ । प्रधानमन्त्री प्रचण्डको नयाँ जोडिएको गठबन्धन पवित्र आत्मपरक हो कि स्वार्थपरक त्यो त विकसित घटनाक्रमले भविष्यमा बताइहाल्दछन् । केही दिन अघि धारे हात लगाएरु सत्तोसराप गरेका दुई कम्युनिस्ट नेताको अंकमाल संसय जन्माउने खालकै छ । डिभार्स पछिको केपी ओली र प्रचण्डको लगनगाँठो कसिएको ‘अनौठो सहवास’को परिणाम कस्तो निस्कन्छ त्यो त भविष्यले बनाउने नै छ । वर्तमान सत्ता गणितीय खेल हो । चुनावको परिणामले कुनै पनि दललाई बहुमत नदिएपछि संयुक्त सरकार यति बेलाको राजनीतिक बाध्यता हो ।
देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने वचन फेरेपछि प्रचण्डले बाटो बदले र बालकोटको शरणमा पुगे । यति भए चौतर्फी घेराबन्दीमा परेका राजनीतिको केन्द्रीय पात्र चतुर खेलाडी ओलीलाई के चाहियो र ? ओलीले अवसरको उपयोग गर्नमा माहिर भएकाले प्रचण्डको पहिलो चरणको प्रधानमन्त्री हुने मागलाई सम्बोधन गरिदिए । जसको फलस्वरुप बन्यो नयाँ समीकरण, जसले शक्ति केन्द्र बन्ने ओली आकांक्षा पनि पूरा भयो । देउवालाई जिल्याएर प्रचण्डलाई बालुवाटार पु¥याइदिए । प्रचण्ड प्रधानमन्त्री पदका लागि अर्जुनदृष्टि लगाएर बसेका थिए तर देउवा यति ढुक्क थिए कि उनले सत्ता समीकरणको वैकल्पिक प्रयासहरुलाई गम्भीरताका साथ लिँदै लिएनन् ।
कांग्रेस गठबन्धनसँग मिलेर प्रधानमन्त्री हुन नसक्दा एमालेसँग मिल्ने योजना नं २ उनीसँग बनिसकेको थियो । तेस्रो दल भएर पनि पहिलो र दोस्रो दललाई जोड्ने र घटाउने ट्रयाक प्रचण्डलाई प्राप्त थियो । अहिले संसदको गणितमा माओवादीको हैसियत महत्वपूर्ण भए पनि सानो छ । प्रचण्डको बाध्यता एमालेलगायतका गठबन्धन दलको समर्थनको बलमा टिक्नु उनका लागि चुनौती छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा धकेलेर दोस्रो ठूलो दल एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन्, अब कति दिन टिक्ला यो नयाँ जोडिएको गठबन्धन, सत्तास्वार्थको डोरी कसिँदासम्म मात्र प्रचण्डको भविष्य देखिन्छ । स्वार्थको डोरी खुकुलो हुनासाथ उनी धकेलिनुपर्छ, बालुवाटार बाहिर तिकडम कतिञ्जेल टिक्छ र ? राजनीतिकर्मी सत्ता, शक्ति र अधिकारलाई अन्तिम सत्य र अभिष्ट ठान्छन् । संसदीय राजनीतिमा शक्तिको स्रोत जनतामा हुन्छ । राजनीतिक दलले जनादेश मान्नुपर्छ, आफूखुसी शक्तिकेन्द्र बन्नु हुँदैन ।