फिलिम हलमा सहायक अकाउण्टेन्ट हुँदा …

उनी सधैँ कर्ममा तल्लीन हुन्छन् । कहिले यातायात, कहिले समाजसेवा त कहिले वनवातावरण र राजनीतिसँगै सिंचाई । हँसिलो, मिजासिला तथा सबैको मन जित्न सफल उनी सधैँ मुस्कुराइरहन्छन् । उनी आफ्ना खुसीहरू साट्दै भने, ‘म भर्खर एसएलसी दिएर बसेको थिएँ । एसएलसीपछि अब केही रोजगारी गर्नुपर्छ भनेर म सोचिरहेको थिएँ । तुलसीपुरमा विष्णु चलचित्र मन्दिर स्थापना भयो ।

त्यसको स्थापना सँगसँगै मैले पनि त्यहाँ काम गर्ने अवसर पाए । त्यतिबेला सिनेमा हलमा काम गर्न पाउनु ठूलो कुरा थियो । सिनेमा हलमा काम गर्ने मान्छेको सान र मान पनि त्यत्तिकै थियो । विसं २०५२ सालमा मैले सिनेमा हलमा सहायक अकाउण्टेन्टको रूपमा जागिर पाए । जीवनका उकालीओरालीहरूमा खुसी र दुःखका वेदनाहरू मेरा धेरै छन् तर पनि दुःखलाई खुसीमा परिवर्तन गर्दै म जीवनलाई सत्मार्गमा हिडाल्ने प्रयत्नमा छु’, उनले भने ।

तुलसीपुर–४ रक्षाचौर निवासी युवा व्यवसायी निमकुमार श्रेष्ठका खुसीहरू मैले खोतल्दै जाँदा आप्mनो पहिलो खुसी सिनेमा हलमा जागिर खाँदाको उनले लिए । मेरा खुसी र दुःखका क्षणहरू धेरै छन् तर मेरो पहिलो खुसी विष्णु सिनेमा हलमा जागिर खाँदाको लेखिदिनुहोला’, उनले भने, ‘म जीवनमै पहिलो खुसी प्राप्त गरेको त्यो नै हो ।’ मलाई घरायसी जिम्मेवारी पनि थपिएको थियो, एसएलसीपछि तत्काल मैले रोजगारी पाए म त्यसैमा खुसी भए’, उनले भने । उनले त्यतिबेला सिनेमा हल तीन शो सञ्चालन हुने र त्यहाँको काम गर्ने मान्छेको मान र सान बेग्लै हुने गरेको बताए ।

‘अहिले विभिन्न प्रविधिहरू भित्रिएर फिलिम हल र फिलिममा त्यति आकर्षण छैन, त्यतिबेला निकै महत्वका साथ ठूलो संख्यामा मानिसहरू फिलिम हेर्न आउँथे । उनले मासिक १ हजारमा आफूले काम गरेको बताए । उनले जागिर खाएपछि अब जीवन धान्न सकिने भइयो, आप्mनो खुट्टामा आफै उभिन पाइयो भनेर त्यस दिन रातभरि खुसीले निद्रा नै परेन ।’

श्रेष्ठले आफूलाई त्यहाँसम्म पु¥याउनमा व्यवसायी उत्तमकुमार श्रेष्ठ र आफना दाइलाई सम्झिए । यसैगरी श्रेष्ठले दोस्रो खुसी २०५६ सालमा जिप किनेर यातायात क्षेत्रमा लाग्दा लागेको बताए । त्यतिबेला यातायातका साधनहरू निकै कम भएको र आफूले गाडी किनेर पश्चिम दाङको विकट क्षेत्रका जनतालाई सेवा दिएकोमा खुसी व्यक्त गरे । ‘म विसं २०५६ सालमा पहिलो पटक गाडी किनेर पश्चिम दाङको हापुरे रोडमा गाडी सञ्चालन गर्दा पनि लागेको थियो, यातायातको सहज पहुँच भयो, त्यसमा पनि खुसी लाग्छ’ उनले भने ।

त्यस्तै यातायात व्यवसायी समेत रहेका श्रेष्ठले विसं २०५९ सालमा पहिलो पटक यातायात क्षेत्रको नेतृत्व गर्ने अवसर प्राप्त भएकोमा पनि खुसी व्यक्त गरे । उनले पहिलो पटक तुलसीपुर जिप तथा माइक्रो मिनी बस समितिको सदस्यमा आफूले काम गर्न पाउँदा खुसी लागेको सुनाए । यातायात व्यवसायीको हकहितका लागि आफूले गरेको राम्रा कार्यहरूले गर्दा आफू सधैँ खुसी हुने गरेको बताए । त्यस्तै सदस्य हुँदै समितिको कल्याणकारी सचिवको समेत जिम्मेवारी पाउँदा झनै खुसी प्राप्त सुनाए । समितिमा आफू र आप्mनो टिमले पहिलो पटक सुविधा सम्पन्न गाडीहरू भित्राएर सहज यातायातको सुविधा दिन पाएकोमा पनि खुसी व्यक्त गरे ।

‘समितिमा अध्यक्ष पवनराज बुढाथोकी सहितको हाम्रो टिमले धेरै संघर्षका साथ नयाँ गाडीहरू सञ्चालन गर्ने अवसर मिल्यो, त्यसमा पनि मलाई निकै खुसी लाग्छ’, उनले भने । त्यस्तै आप्mनो व्यक्तिगत तथा समितिबाट विभिन्न समयमा दुःखी, गरिब र विभिन्न स्थानमा सामाजिक सहयोग गर्न पाउँदा पनि खुसी लाग्ने उनले बताए । त्यस्तै श्रेष्ठले प्रजातान्त्रिक यातायात व्यवसायी समितिको सचिवजस्तो पदमा आफूलाई साथीभाइले जिम्मेवारी दिएकोमा पनि खुसी व्यक्त गरे । ‘सबै साथीभाइको विश्वास र मायाले म यहाँसम्म आउन सफल भएको छु, म यसैमा खुसी छु’, उनले भने ।
श्रेष्ठले स्वर्गीय श्रीमती मायादेवी श्रेष्ठको सम्झनामा तुलसीपुर–४ स्थित ठूलाखालीमा रहेको शिवमन्दिरमा १०० किलो तामा दान गर्न पाउँदा पनि खुसी प्राप्त भएको बताए । ‘मेरो स्वर्गीय श्रीमतीले मलाई यो स्थानसम्म ल्याउन ठूलो सहयोग गरिकी हुन, उनको सम्झनामा विभिन्न स्थानमा सहयोग गर्न पाउँदा पनि मलाई खुसी प्राप्त हुन्छ’, उनले भने । विभिन्न सामाजिक संघसंस्था र यातायात क्षेत्रमा काम गर्दै आएका श्रेष्ठले आफूलाई सामाजिक काममा लाग्दा खुसी लाग्ने गरेको बताउँछन् ।

त्यस्तै श्रेष्ठले आफू गादिबराह सामुदायिक वनको सदस्य भएर वन वातावरणको संरक्षण गर्न पाउँदा अर्को खुसी मिल्ने उनी बताउँछन् । त्यस्तै गाउँकै सिंचाइ कुलोको कोषाध्यक्ष भएर सिंचाइको क्षेत्रमा काम गर्न पाउँदा अर्को खुसी मिलेको बताउँछन् । ‘सबै साथीभाइ र इष्टमित्रले मलाई जिम्मेवारी दिनुहुन्छ, त्यो जिम्मेवारी पूरा गर्न पाएको छु, त्यसैमा खुसी छु’, उनी भन्छन् । उनले आफूले गरेको कार्यले अरूलाई खुसी गराउन पाउँदा आफूहरू पनि खुसी हुने बताउँछन् ।

उनले विभिन्न समस्यामा रहेका व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा तथा साथीभाइ, इष्टमित्र र समाजले आफूले गरेको कार्यमा धन्यवाद दिँदा झनै खुसी प्राप्त हुने सुनाए । ‘मानिसको जीवनमा धेरै उतारचढावहरू आउँछन् तर त्यसलाई पार गर्दै सहज जीवन जिउनु नै मलाई खुसी लाग्छ, मेरो खुसी अरूलाई सहयोग गर्दा र सामाजिक काममा लाग्दा नै प्राप्त हुन्छ’, उनले भने । तुलसीपुर–४ रक्षाचौर निवासी निमकुमार श्रेष्ठ तुलसीपुर यातायात प्रालिका प्रशासनिक सचिव, प्रजातान्त्रिक यातायात व्यवसायी समितिको सचिव एवम् यातायात व्यवसायी हुन् ।
 प्रस्तुती : बालाराम खड्का