नारायणप्रसाद श्रेष्ठ
दुनिया आज शान्ति र खुसीको खोजीमा भड्किरहेको पाइन्छ । बिहान सबेरै उठेदेखि राती अबेरसम्म भौतिक युगको चकाचौरमा आफूलाई कसरी मनोरञ्जन प्रधान बनाउने त्यो ध्याउन्नमा सबैको मन भागदौड भइरहेको छ । सामाजिक मर्यादा र जीवनचक्रको इतिहासलाई समेत भुलेर तेरो र मेरो गर्दै आफूलाई मपाइ बनाएर सबै कर्म गरिरहेको अवस्था छ ।
आफ्नो र विरानो छुट्याउने समय समेत नपाइरहेको अवस्था छ । शान्ति र सद्भाव बोकेर संसार देख्ने आँखाले केवल स्वार्थ मात्र देखिरहेको छ । मृगतृष्णाझैँ कहिले यता त कहिले उता भागदौड गरिरहेको छ । तर पनि उसको इच्छा र आकांक्षाले खोजेको खुसी र शान्ति पाइरहेको छैन । मन्दिर, मस्जिद र गिर्जाघरलगायत धार्मिक संघसंस्थामा धाउँदा–धाउँदा थाकिसकेका पाइतालामा ठेला बस्दा पनि उसले खोजेको शान्ति नपाइरहेको छ ।
खुसी केलाई भन्ने र यो कहाँ पाइन्छ ? त्यसको गन्तव्य समेत थाहा छैन । च्यातिएको चोलीभित्र लुकेको उसको आत्मकथा र त्यसभित्र रहेको आनन्दको कथा सुन्ने मानिसलाई फुर्सद छैन । मनको पवित्रताभित्र रहेको स्वच्छ र पवित्र आचरणले कहाँ र कसरी शान्ति र खुसीको वातावरण बनाउँछ त्यसतर्फ कसैको ध्यान पुगेको छैन । अधिकांश आफूभित्र लुकेको यथार्थ नबुझी बाह्य वातावरणमा रहेको खुसी र शान्ति खोजिरहेका छन् ।
सत्यको धरातल बिर्सिएर भौतिकवादी चिन्तनले जकडिएको वस्तुमा रमाउन खोजिरहेका छन् । क्षणिक आनन्द र सुख नै जीवनको उपलब्धि हो भन्ने गरी भौतिकतातर्फ मानिस भागदौड गरिरहेका छन् । आध्यात्मिकतामा होइन, भौतिकतामा आफ्नो सुख खोजिरहेका छन् । चेहराभित्र लुक्न नसकेको दुःखलाई जबर्जस्ती लुकाइ शान्तिको स्वास फेरिरहेका छन् । आफू खुसी भएको देखाइरहेका छन् । शान्तिको पर्खाइमा थाकेका दुईखोलीको त्यो झुपडीभित्र लुकेको कथा कसैलाई थाहा छैन ।
रातदिन पसिना बगाइ खनीखोर्सी बनाएको खेतको गहरामा पाकेको बाली भिœयाइ साग र सिस्नुमा बाँचेको आनन्दको त्यो कथा कसैलाई सुन्ने र देख्ने फुर्सद छैन । उकालोमा हिड्ने पथिकको पसिनाले के भनिरहेछ ? पिपलचौतारीमा चल्ने चीसो बतासले आनन्दित भइरहेको मनको यथार्थ परिवेश कसरी पुलक्कित भइरहेको छ ? त्यसको यथार्थ सत्य कसैलाई थाहा छैन । केवल थाहा पाएको वहाना गरी भड्किरहेको मनलाई सान्त्वना दिइरहेको पाइन्छ ।
पिपलचौतारीभित्र लुकेको आनन्द केवल त्यही पथिकलाई थाहा छ, जसले उकालोमा भारी बिसाइ सुस्केराभित्र हावाको चीसो सिरेटोले थकाइ मेटिरहेको छ, आनन्दको महसुस गरिरहेको छ । पूर्वबाट उदाएको न्यायो घामको राँपिलो घामलाई बुझेको उसको मनको मझेरीमा पलाएको शान्तिको यहसास उसैलाई मात्र महसुस भइरहेको छ ।
प्रकृतिको सुन्दर छटाभित्र लुकेको सल्लेरी वनको फिजारिएको कसुमको सुसेलीभित्र रमाएको उसको मनभित्रको आनन्द उसैलाई मात्र महसुस भएको छ । दुःखभित्र लुकेको सुख र अशान्तिभित्र लुकेको शान्ति कस्तो हुँदोरहेछ ? उसैलाई मात्र थाहा भएको छ । समाज उसको बाह्य आवरणलाई मात्र देख्छ । उसको आन्तरिक सुख र शान्तिसँग अनभिज्ञ छ ।
यसरी उकाली, ओराली धाउँदा–धाउँदा थाकेको मनभित्र आज उनको कथा लुकाउँदालुकाउँदै पनि छरपष्टिएको छ । थाकेको मनमा आनन्नको अनुभूति भइरहेको छ । रातभर जागराम बसेका आँखाको नानीभित्र आनन्दको लहर दौडिरहेको छ । अन्तरसत्यभित्र लुकेको उनको जवानीको जाँगर फेरि एकपटक सललेरी वनको सुसेलीसँगै रमाउन खोजिरहेको छ । हाड, छालाको शरीरभित्र लुकेको आत्माको कथा बुझ्ने अवसर उनलाई मिलिरहेको छ ।
भौँतारिएको मनमा सान्त्वनाको लहर दौडिरहेको छ । उनी खुसी छिन्, सुखी छिन्, शान्त र मनोरम छटाभित्रको प्रकृतिको स्वाद उनले महसुस गरिरहेकी छिन् । छरछर झरेको पानीको झरनासँगै पूर्वको क्षितिजबाट झुल्किरहेको राँपिलो घामले उनलाई स्वागत गरिरहेको छ । मनको मझेरीमा रहेको कलुषित विचार विस्तारै हट्दैछ । पसिनाले निथ्रुक्क भिजेको शरीरभित्रको कसिंगर हटि निर्मल र स्वच्छ चिन्तन र सोचमा उनी डुबुल्कि मारिरहेकी छिन् ।
आमाको पोषिलो दूध चुस्दै उफ्रिरहेका बाख्राका पाठाझैँ उनको मन उफ्रिरहेको छ । खुसीको बह कहाँ र कसरी पोखूँ भनी डुलिरहेको छ । संसारलाई हेर्ने उनको दृष्टिकोणमा सकारात्मक भाव झल्किरहेको छ । सुख र शान्तिको खोजीमा भौतारिएको उनको मनले शान्तिको स्वास फेरेको छ । मानिस–मानिसबीच किन भेद हुँदोरहेछ ? उनले बुझ्न थालेकी छन् । घमण्ड र अहंकारले परिपोषित मानिसको भौतिक लालच उनले बल्ल बुझेकी छन् । अरुलाई तीर्णबराबर सम्झने उसको भावना किन यसरी छटपटी हुँदोरहेछ उनले बुझेकी छन् । व्यर्थ संकल्प किन र कसरी आउँदोरहेछ, उनले बुझ्ने अवसर पाएकी छन् ।
शान्ति र आनन्द आत्माको चाहना हो । द्वन्द्व भौतिक युगले ल्याएको परिस्थिति हो । सांसारिक गतिविधिलाई हेर्ने हो भने एउटा द्वन्द्वले निम्त्याएको अप्ठेरोलाई समाधान नगर्दै अर्को द्वन्द्व पुनः सिर्जित भइ मानवीय सोच र चिन्तनमा आँधी आउने वातावरण किन र कसरी भइरहेको छ ? हुन त भौतिक युगको विशेषता भनेकै यही कष्ट र अपारदर्शी चिन्तन हो । यस्तो हुनुको मुख्य कारण मानवीय चरित्रभित्र उब्जिएको असीमित आकांक्षाले उब्जाएको स्वार्थी प्रवृत्ति हो ।
यही प्रवृत्तिको कारण मानिसले जिन्दगीभर संघर्ष गरिरहनु परेको हुन्छ । तसर्थ, अशान्तभित्र शान्तिको महसुस गर्न र सेवाभावमा समर्पित जीवनको त्यो कथा सबैले महसुस गर्नु जरुरी छ । हिंसाले ल्याउने परिणतीप्रति सजग रही प्रेम र करुणाको सत्यभित्र लुकेको आत्मसत्यलाई पहिचान गर्नु जीवन जिउनु हो ।
एकपटक सहरको एकजना महिला महात्माकहाँ गइ मैले खुसी र शान्ति कहाँ पाउँछु भनी सोधिरहेकी थिइन् । उनको कुरा सुनेर गुरुले देख्दैमा गरिब, च्यातिएको लुगा लगाइ लुगलुग कामिरहेकी महिलातिर इसारा गर्दैै ती महिलालाई भने – जाउ उनीसँग सोध खुसी र आनन्द कहाँ पाउँछ ? च्यातिएको मैलो लुगा लगाएकी ती महिलातिर संकेत गरेको देख्दा धनाढ्य महिलालाई निकै रिस उठ्यो । गुरुलाई तथानाम गाली गरिन् । जसरी कुटीबाट बाहिर जान लागिन् तब ती आमाले विस्तारै भनिन्– बहिनी गुरुले जे भन्नुभएको छ, ठिक भन्नुभएको छ ।
तपाईँले खोजेको शान्ति र आनन्द मसँग छ । नपत्याए हेर्न जाउ भनी बाहिर लगेर आफूसँग भएको घटना बताउँदै एउटा झुपडीभित्र लगेर भन्छिन्– बहिन म पनि तपाईजस्तै सम्पन्न परिवारभित्रको छोरीबुहारी हुँ । रुपैयाँ, पैसाको कुरै नगर्नुस् । बिहान–बेलुका चाकडी गर्नेहरुको लर्को लाग्थ्यो । के खाउँ, के लाउँको कहिल्यै पीडा भएन तर दैवसंयोग हाम्रो सम्पत्ति घट्दै गायो । श्रीमान बित्नुभयो । मेरा दुई छोरा थिए, ती पनि आफ्नै संसारमा हराउँदै गए । म एक्लो भएँ, नितान्त एक्लो भएँ । मन खिन्न हुँदै गयो ।
खान, बस्न र घुम्न मलाई खाचो थिएन तर पनि मनमा कहिल्यै सुख, शान्ति भएन । दिक्क लागि मर्न जान लागेकी थिएँ । बाटामा एउटा रोइरहेको बच्चा फेला पारेँ । सिगान छोडी भक्कानिएर रोइरहेको त्यो बच्चा घर्सँदै मसम्म आउन लाग्यो । मलाई घृणा र रिस एकैपटक उठ्यो । मैले बच्चालाई हुत्याएँ, बच्चा झन जोडले रोयो । यस्तो अवस्था देखी मेरो मन निकै पिरो भयो । म पनि रोएँ, आफूले गल्ती गरेको महसुस भयो । कस्तो निष्ठुरी आमा रहेछिन् भनी एकपटक उनलाई पनि गाली गरेँ ।
बच्चाको त्यो अवस्था देखि मलाई करुणा जाग्यो, टुहुरो बच्चालाई उठाइ घरमा ल्याएँ र नुहाइधुवाइ गरी मीठो मसिनो खानेकुरा दिएँ । ऊ खुसी भयो र हाँस्दै खेल्न लाग्यो । त्यो देखेर मेरो मन पनि खुसी हुँदै गयो । पछि गएर त्यही मेरो बाच्ने सहारा बन्न पुग्यो । मेरो झुपडी महल बन्यो । तसर्थ, कुनै पनि सत्यलाई घृणा नगरी आफूले चिनेको यथार्थ पहिचान गरेर खुसी र शान्ति पहिल्याउन सक्नुपर्ने रहेछ । मेरो विचारमा खुसी गरिबको झुपडीभित्र रहेको गरिबीभित्र, चीसो र ठण्डीमा लुगलुग कामी च्यातिएको लुगासँग हिडेको दिलभित्र आनन्द हुँदोरहेछ ।
यसरी नै भरे के खाउँ ? बिहान के खाउँ भनी चिन्ता नगरी जीवनले भोगेको समस्याभित्र लुकेको कथाभित्र तथा भारी बिसाइ बच्चालाई काखमा राखी दूध चुसाउने आमाको आनन्दसँग, राती मस्त निदाउने त्यो आत्मासँग र रोइरहेको बच्चाको खुसीभित्र आनन्द र शान्ति लुकेको हुँदोरहेछ । यति कुरा सुनेपछि रिसाएकी ती महिलामा नयाँ सोच सल्बलायो र भनिन्– तपाईँले मेरो आँखा साच्चिकै खोलिदिनुभयो । खुसी सहरमा होइन गाउँको झुपडीमा हुँदोरहेछ ।
सन्तोषी मनभित्र र सकारात्मक चिन्तन गर्ने स्वभावमा हुँदोरहेछ । खुसी प्राप्तिमा होइन सेवामा हुँदोरहेछ, विश्वास र भरोसामा हुँदोरहेछ । खुसी खोजीमा होइन अनुभूतिमा हुँदोरहेछ । अरुको खुसीमा रमाउन सिक्नुमा नै खुसी हुँदोरहेछ । यो दुईखोलीभित्र लुकेको कहानीको एक अंश मात्र हो । अब आफै मूल्यांकन गरौँ, बुझौँ र शान्ति के रहेछ थाहा पाऔँ ।