मेलमिलाप दिवस
दाङ, १७ पुस । अहिलेको गल्तीलाई अवसरका रूपमा लिएर सवल, सक्षम, एकताबद्ध र संगठित पार्टी निर्माणमा लाग्न कांग्रेसका नेता कार्यकताले सुझाव राखेका छन् । ४७औँ मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस दाङले घोराहीमा गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले वर्तमान सन्दर्भमा राष्ट्रिय एकतासँगै पार्टीभित्र आपसी मेलमिलाप र संगठन निर्माणका लागि मेलमिलाप दिवसको अन्त्यन्तै सान्दर्भिकता रहेको बताए । मेलमिलाप दिवसलाई नारामा मात्रै नभएर हरेक नेता तथा कार्यकर्ताले पार्टी निर्माणका लागि व्यवहारमा लागू गर्नुपर्नेमा जोड समेत दिए थिए ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल भएर पनि सरकारको नेतृत्व गर्न नसक्दा पार्टीभित्र असन्तुष्टि, आक्रोश र निराशा छाएको भन्दै बोल्ने वक्ताहरूले नेतृत्वले नेता तथा कार्यकर्तालाई त्यसको जवाफ दिन सक्नुपर्नेमा जोड दिए । साथै अहिलेको घट्नाबाट एकले अर्कालाई गाली, आग्रह–पूर्वाग्रहभन्दा पनि पार्टी निर्माणका लागि सत्ता र कुर्सीको लोभभन्दा माथि उठेर अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद गेहेन्द्र गिरीले अहिलेको परिस्थितिमा आरोप–प्रत्यारोप भन्दा पनि पार्टीभित्र समीक्षा गरेर पार्टी निर्माणका लागि अघि बढ्नुपर्ने बताए । उनले गठबन्धनबाट भएको धोकाबाट कांग्रेस सच्चिएर तल्लो तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता पार्टी निर्माणको अभियानमा लाग्नुपर्ने उनको भनाइ थियो ।
त्यसका लागि पार्टीको संरचना, संगठन गतिशील र चुस्त बनाउँदै भ्रातृ तथा शुभेच्छुक संस्थालाई चलायमान बनाउन आवश्यक रहेको बताए । ‘अहिले पार्टीका नेता तथा कार्यकर्ताहरू आरोप–प्रत्यारोप गर्ने समय होइन, गल्तीबाट आत्मसमीक्षा गरेर अघि बढ्ने समय हाम्रा सामू आएको छ’, प्रमुख अतिथि गिरीले भने, ‘त्यसका लागि गम्भीर समीक्षा गरौँ, गठबन्धन गर्नु ठिक थियो कि थिएन भनेर छलफल गरौँ र एउटा निष्कर्ष निकालेर पार्टी निर्माणको अभियानमा जुटौँ ।’
नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेताले गिरीले भने, ‘सरकार गठनको खेल अर्कैले खेलाउँछन्, त्यसमा कसले गोल हान्ने भन्ने मात्रै हो, यसपटक प्रचण्डले गोल हान्न सफल भएका छन् । त्यसमा शेरबहादुर देउवालाई गाली गर्ने काम नगरौँ ।’ उनले राष्ट्रियता नभएर कांग्रेस नहुने र कांग्रेस नभएर हामी पनि नहुने भएकाले राष्ट्रियतासँगै कांग्रेसको संगठन निर्माणका लागि लागौँ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेशसभा सदस्य राजु खनालले वर्तमान परिस्थितिमा आपसी मनमुटाव र तिक्ततालाई बिर्सिएर पार्टी निर्माणका लागि सबै लाग्नुपर्ने बताए । पार्टीलाई संगठित र व्यवस्थित रूपमा निर्माणका लागि आपसी मेलमिलाप र छलफल आवश्यक रहेको भन्दै त्यसले कांग्रेसलाई संगठित बनाउने बताए । उनले निर्माणमा हुने प्रतिस्पर्धालाई कसैले पनि तुसका रूपमा लिन नहुने बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले गल्ती रियलाइज गरेर मूल्य, मान्यता, विचार र नैतिकतालाई बचाउँदै पार्टी निर्माणका सबैले ध्यान दिनुपर्ने बताए । त्यसका लागि अहिले गठबन्धनबाट भएका गल्तीलाई अवसरका रूपमा लिनपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा निवर्तमान प्रदेशसभा सदस्य शंकर गिरीले देश झन दुर्घटनाको खतरामा रहेको भन्दै त्यसका लागि प्रजातन्त्रवादी शक्तिको आवश्यक रहेको बताए । कार्यक्रममा वक्ताका रूपमा रहेका उनले फरक उद्देश्य र विचार रहेका पार्टीहरूबाट बनेको वर्तमान सरकारले थप दुर्घटनाको जोखिम निम्त्याउने खतरा रहेको टिप्पनी गरे । यसबाट बचाउनका लागि प्रजातन्त्रवादी शक्तिहरू एकजुट हुन आवश्यक रहेको भन्दै त्यसको नेतृत्व कांग्रेसले गर्न आवश्यक रहेकोमा उनको जोड थियो ।
कांग्रेसका अर्का वक्ता नेता गोविन्द मजगैयाले अहिलेको परिस्थितमा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिको मिलन आवश्यक रहेको बताए । देशका लागि बाह्य खतरा पहिलेको भन्दा अहिले झन बढेकाले तत्कालीन समयमा विश्वेश्वरप्रसाद कोइरालले लिएको राष्ट्रिय एकता दिवसको सान्दर्भिकता अहिले पनि आवश्यक रहेकाले कार्यकर्ताले देशसँगै पार्टीका राष्ट्रिय मेलमिलापको सूत्रमा आबद्ध हुन आवश्यक रहेको बताए । त्यसका लागि पार्टीले हिजो पार्टीका लागि काम गरेका परिवार, समूह रअवर्गलाई खोजी गरेर सम्मान गर्न वर्तमान नेतृत्व आवश्यक रहेको बताए ।
दुई जना वक्ताले राखेको विचारमाथि बोल्दै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले देशको राष्ट्रियतासँगै पार्टीका लागि मेलमिलापको आवश्यक रहेको बताए । देशलाई बचाउनका लागि भूगोलको एकता पृथ्वीनारायण शाह, भाषाको एकता भानुभक्त आचार्य र राष्ट्रिययताका लागि भावानात्मक एकता गर्ने वीपी कोइरालाले गरे पनि पछिल्लो समय नेताहरूले त्यसलाई भुलेर व्यक्तिगत स्वार्थमा लागेको बताए । नेतृत्वका लागि आम देशभरका कार्यकर्तामा निराशासँगै पार्टीका लागि क्षति भएको भन्दै समीक्षा गरेर पार्टी निर्माणका मेलमिलाप र एकता कायम राख्न आवश्यक रहेको बताए ।
कांग्रेसका पूर्व जिल्ला सभापति घनश्याम रेग्मीले कम्युनिस्टसँगको एकतामा पुनःविचार गर्दै सत्ता, स्वार्थका लागि आगामी दिनमा गठबन्धन गर्न नहुने कार्यकर्ताहरूलाई विश्वास दिलाएर अघि बढ्नुपर्ने बताए । त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूले नैतिक मूल्य, मान्यतालाई गुटभन्दा माथि पार्टीलाई राखेर संगठन निर्माणका लागि अघि बढ्नुपर्ने बताएका थिए ।
कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति मोहनलाल वली, कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, कांग्रेस क्षेत्र नं ३ का सभापति जगत खड्क, महाधिवेशन प्रतिनिधि सूष्मा गिरी, महासमिति सदस्य देवका नेपाली, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाली कांग्रेस क्षेत्र नं ३ (क) का सभापति देबेन्द्र रिजाल, नेपाली कांग्रेस दङ्गीशरण गाउँपालिका सभापति शम्भु गिरी, कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसीलगायतले बोलेका थिए ।
नेपाली कांग्रेस दाङका उपसभापति कमानसिङ भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई अर्का उपसभापति गिरिराज सुवेदीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुनकुमार योगीले गरेका थिए । भारतमा निर्वासित जीवन बिताइरहेका नेपाली कांग्रेसका नेताहरू वीपी कोइरालासहित गणेशमानसिंह, सैलजा आचार्य, खुमबहादुर खड्कालगायतका सातजना नेताहरू २०३३ साल मंसिर १६ गते नेपाल आएका थिए ।