अमरराज आचार्य
दाङ, १७ पुस । घोराही उपमहानगरपालिका वडा नं १९ तिर्साङ निवासी नविकला पुनलाई ढाड दुख्ने समस्या थियो तर उनी जाँच गराउन कतै गएकी थिइनन् । शनिवार घोराही–१९ को सैघा वडा कार्यालयमा स्वास्थ्य शिविर भएको जानकारी पाएपछि शिविरमा जाँच गराउन आएकी थिइन् । उनी शिविरमा जाँच गराउनका लागि बिहान शिविर स्थलमा आइपुगेकी थिइन् ।
शिविरमा जाँच गराएपछि औषधी समेत निःशुल्क पाइन् । ‘डाक्टरहरू आउने जानकारी पाएपछि घरमा ढोका लगाएर बिहानै आएको हु’, उनले भनिन्, ‘आप्mनै गाउँमा डाक्टरसँग सहज रूपमा स्वास्थ्य जाँच गराउन पाउँदा खुसी लागेको छ ।’ जाँच गराएर घर गएर खाना पकाएर खाने समेत उनले बताइन् । ‘आफ्नै गाउँमा जँचाउन पाउँदा धेरै सजिलो भयो’, पुनले भनिन्, ‘घोराहीसम्म पुग्नका लागि भाडा मात्रै ६ सय रूपैयाँ लाग्नेथ्यो, जाँच गराउन र औषधीका लागि थप पैसा र दिनभरिको समय लाग्ने थियो तर त्यो बचत भएको छ ।’ आफनै गाउँमा डाक्टर हुँदा सहज हुने बताइन् । ‘गाउँमै विशेषज्ञ डाक्टरी सेवा नहुँदा सामान्य उपचार मात्र हुने गरेको छ’, पुनले भनिन् । गाउँमै सेवा पाउने व्यवस्था गरिनु पर्ने उनले बताइन् ।
सैघा गोठीवनका लीलादेवी ख्डकाको टाउको दुख्ने, कम्मर दुख्ने समस्या छ । बिरामी भए पनि उनले त्यसको जाँच गराएकी थिइनन् । गाउँमै शिविर भएको जानकारी पाएपछि उनी शिविरमा आएको बताइन् । ‘चेक गराउनका लागि कतै गएको थिएनँ, गाउँमै डाक्टर आउने भएपछि आएको हु’, खड्काले भनिन् । गाउँमा सामान्य उपचार मात्र हुने गरेको बताइन् । ‘पैसा पनि हुँदैन, सहन सक्दासम्म सहेर बस्ने हो, धेरै भएपछि मात्र चेक गराउन जाने हो’, खड्काले भनिन् ।
सैघा सातामकी पार्वती रावत पनि उपचारको लागि बिहानै शिविरमा आइपुगेकी थिइन् । उनी एक घण्टाको बाटो हिडेर शिविरमा स्वास्थ्य जाँच गराउन आएको बताइन् । उनलाई दमको समस्या रहेको उनले बताइन् । ‘डाक्टरलाई चेक गराएर औषधी लिएर जाँदैछु, अब सञ्चो हुन्छ कि ?’, रावतले भनिन् । आफ्नो समस्या डाक्टरसँग आप्mनै गाउँमा राख्न पाउँदा खुसी लागेको उनले बताइन् । उनी बिरामी भए पनि उपचारका लागि घोराहीसम्म नगएको बताइन् । ‘सधैँभरि आफ्नै गाउँमा यसरी स्वास्थ्य जाँच गराउन पाए हामीलाई धेरै सहज हुने थियो’, रावतले भनिन् ।
सैघा साउनेपानीका जितमान विक पनि स्वास्थ्य परीक्षणका लागि लाइनमा बसेका थिए । खुट्टा दुख्ने, कान कम सुन्ने समस्या रहेको उनले बताए । समस्या भए पनि उपचारका लागि अस्पतालसम्म नगएको उनले बताए । डाक्टरलाई जाँच गराएपछि आप्mनो समस्या समाधान हुने उनको भनाइ थियो । ‘गाउँमै डाक्टर आएको थाहा पाएकाले आएको हुँ’, विकले भने ।
उनीहरू मात्र होइन शिविरमा आएका अधिकांशले आप्mनो समस्या बारेमा नबताउने गरेको पाइएको छ । विकट क्षेत्र गरिबी, अशिक्षा भएका कारणले पनि रोग लुकाउने गरेको पाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । प्रजातान्त्रिक उद्यमी संघको आयोजना, नेपाल परिवार नियोजन संघ दाङको सहआयोजना र घोराही उपमहानगरपालिका वडा नं १९ को व्यवस्थापनमा भएको स्त्री रोग, फिजिसियन, हार्डजोर्नी नशारोगसम्बन्धी निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा डा अजय रेग्मी, डा गौरव रावल, डा सलिना दाहाल, डा करिश्मा भण्डारीलगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । शिविर उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले सैघा भौगोलिक तथा विकासका हिसाबले समेत पछाडि परेको बताए । ‘आर्थिक, पूर्वाधार, स्वास्थ्य, शिक्षाको हिसाबले पछाडि परेको छ’, सांसद खनालले भने । पछाडि परेको क्षेत्रको विकासका लागि आफूले प्रयास गर्ने समेत बताए । ‘नागरिकलाई सहज रूपमा पु¥याउन आप्mनो स्थानबाट पहल गर्नेछु’, उनले भने । नागरिकका लागि जिम्मेवारी निर्वाह गर्न आफू लागिपर्ने बताएका थिए । ‘मैले निर्वाचनमा नागरिकसँग गरेका वाचा पूरा गर्न लागिपर्नेछु’, खनालले भने ।
घोराही उपमहानगरपालिका वडा नं १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीले नागरिकलाई आप्mनै ठाउँमा विशेषज्ञ सेवा प्रदान गर्न निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए । अशिक्षित, गरिबी तथा विपन्नवर्गका नागरिक धेरै रहेकाले रोग लुकाएर बस्ने गरेको उनको भनाइ रहेको थियो । नागरिकको स्वास्थ्यलाई ध्यान दिएर वडा कार्यालय अगाडि बढ्ने बताए । नेपाल परिवार नियोजन संघका सचिव माया पोख्रेलले ग्रामीण क्षेत्रका महिलाहरू आफ्नो समस्याका बारेमा नबताउने गरेको बताइन् । कार्यक्रम प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर केसी (मानु) को अध्यक्षतामा भएको थियो । संघका उपाध्यक्ष छविनारायण गिरीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव श्रीधर धितालले गरेका थिए ।