राजनीतिक स्थिरताको अमूर्त कल्पना

के.पी. सुवेदी
राजनीति भनेको सबैभन्दा श्रेष्ठ नीति भन्ने मान्दामान्दै पनि घटनाहरुले त्यसलाई अन्तैतिर मोड्यो भने त्यसलाई पनि राजनीति नै भन्नुपर्ने रहेछ । यस्तै चल्दैछ हाम्रो मुलुककै राजनीति पनि । नीति, सिद्धान्त, विचार, आस्था यी सबै आफ्नो सुविधाअनुसार व्याख्य गरे हुने । यसो गर्न नदिने इमान, नैतिकता एवम् अलिखित सम्झौता अथवा प्रतिबद्धता सार्वजनिक खपतका लागि बोलिदिने खोक्रो आदर्श मात्र ? कस्तो बिडम्बना !

सामाजिक सञ्जाल अथवा सुरक्षित राखिएका भिडियोहरुले गिज्याइरहँदा जवाफ नदिइ निर्लज्जतापूर्वक पिठ फर्काए हुने । प्रेससँग आमनेसामने हुँदा बहाना मिलाउने तैयारी भाषा छँदैछ, भन्छन् राजनीति सरलरेखामा कहाँ हिंडेको छ र अनि राजनीतिमा स्थायी मित्र पनि हुँदैन, स्थायी शत्रु पनि हुँदैन । त्यसोभए फरक सिद्धान्त, फरक दर्शन र फरक वाद खाली भन्ने कथा मात्र हुन् ? कुनैबेला माओवादी संसदवादीलाई गिज्याउँदै उनीहरुले राज्यको सुविधा लिनु राज्यलाई लुट्नु हो भनेर निकै गाली गर्थे । संसदलाई जनप्रतिनिधिको विशुद्ध राजनीतिक बहस गर्ने, राज्य सञ्चालनमा सन्तुलन र नियन्त्रण कायम गर्न विधिवत रुपमा स्थापित विधायिका नमानेर जनतालाई झुक्याउने ठग व्यापारीहरुको झुण्ड भन्ने गर्थे ।

उनीहरु जनताबाट निर्वाचित प्रतिनिधिहरु खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने व्यापारिक थलो भन्ने गर्थे । त्यतिबेला उनीहरुको लहलहैमा ज्यान हाल्ने होनहार युवाहरु, विद्यार्थीहरु र शोषित पीडित सर्वसाधारण पनि थिए । २०६३ बैशाख ११ गते पुनःस्थापित संसद्मा उसको प्रवेश हुँदा त्यस अधि उसले संसदीय पार्टीहरु माथि थोपरेका सबै राजनीतिक आरोपीहरु खण्डित भएका भए पनि संसदीय व्यवस्थाका गुणहरु बचाएर दोषरहित प्रणाली बनाउन प्रयास गर्ने झिनो आशा पालिरहेका जनताले दिनदिनै उसको सत्तास्वार्थ चुलिँदै गएको देखिएको छ ।

नेकपा एमालेलगायतका कम्यु पार्टीहरु संसदीय अभ्यासमा आफ्नो लोकतान्त्रिक छवि पछ्याइरहँदा संसदीय दलदलमा डुबेको भनेर उसको राजनीतिक हैसियतप्रति तिक्त टिप्पणी गर्ने पार्टी अहिले संसदीय भासमा डुबेर नाकैसम्म पुरिँदा पनि अर्धचेत अवस्था पुगेको छ । यसपटक दुई वर्षदेखि आफूले गद्दार र प्रतिगमनकारी भनेर सरापिरहेको र एकसाता अघिसम्म प्रधानमन्त्रीको पद किस्तीमा पस्केर दिए पनि कुनै शर्तमा नलिने भनेको भिडियो ताजै छन् । एक हप्ता नबित्दै सबै आरोपहरु पखाल्न सक्ने कुन कम्युनिस्ट विचारधारा हो ?

संयोग हो कि राजनीतिक विचनको गम्भीर मोडमा यो मुलुक पुगिसकेको हो या ठूलै दुर्घटनाको संघारमा हाम्रो मुलुकको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता पुगेको हो ? किनभने माओवादीको नेतृत्वमात्र होइन त्यो त संसदीय भास उसकै शब्दमा भन्दा पनि त्रियासी थान सांसद लिएर कपटी व्यापारीको भेषमा संसदमा भासियो । त्यतिखेरैदेखि उसको फोहरी खेल सुरु भयो र पछिल्लो खेलमा संलग्न भएका रास्वपा र राप्रपा प्रचण्डलाई उछिनेर छलाङ मारेका छन् । अहिले सबैभन्दा ठूलो छलाङग मार्ने रास्वपा भएको छ ।

सानो छिद्रलाई औल्याएर तिललाई पहाड बनाउन सक्ने क्षमता पत्रकारको भूमिकामा रहेर देखाएका अध्यक्ष रवि लामिछाने पार्टी दर्ता गरेको छ महिनामै सत्ताको च्याँखे दाउँमा हैसियत राख्ने हुनसकेको घटना राजनीतिक वृत्तमा ऐतिहासिक फड्को हो । त्यस्तै विरोधाभासपूर्ण सत्ता सहभागिता राप्रपाको पनि देखियो । जसलाई राजनीतिक जीवनमा सबैभन्दा विमति मात्र राखिएकोछ । नीति सिद्धान्त र कार्यकलाको निन्दा गर्नु नै आदर्श राजनीतिको परिभाषा दिन नलजाउने रास्वपा र राप्रपाका अध्यक्ष दुवैले बोलेका कुरा अगाडि राखेर सुन्यो भने सुन्नेलाई लाजमर्दो अवस्थामा पुग्यो, नेपालको राजनीति ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले थपेको सपथ अहिलेको सरकारमा सहभागी हुँदा केही अर्थ राख्छ ? त्यस्तै रास्वपाका अध्यक्ष रवि लामिछाने पत्रकारिता गरुञ्जेल कानुनको सानो छिद्रमा ठूलाठूला काण्डको तुफानी वेग चलाउँदा सबैभन्दा बढी खलपात्रको उपमा पाउने प्रचण्डलाई काँधमा बोक्नु कसरी सम्भव भयो ? रविले धेरै उच्चारण गरेका बालुवाटार जग्गा काण्डका भ्रष्टाचारी विष्णु पौडेललाई माथिल्लो दर्जा स्वीकारेर सरकारमा सहभागी हुँदा जनताले चिनेको रवि र अहिले भ्रष्टाचारीको सहयात्री एउटै हो भनेर सहज स्वीकार्य हुनसक्छ ?

कि राजनीतिक दलको माने उही भ्रष्ट, अनैतिक कामको अनुशरण गर्नुपर्छ भन्ने हो ? होइन भने रवि अहिलेसम्म अरु दलभित्रको अवैध गतिविधि उधिनेर बाहिर निकाल्नेले आफूमाथि तेर्छिएको वैधानिकता पुष्टि हुन आवश्यक थिएन । जहाँ वैधानिकता सम्बन्धमा उठेको प्रश्नको निराकरण भइरहेको छ, त्यही सरोकारवाला निकायको नेतृत्व लिँदा प्रभाव पारेर आफू अनुकूल बनाउन चाहेको देखिन्छ ।

हाम्रो मुलुकको ठूलो राजनीतिक रोग पनि छ, विदेशी शक्तिको इसारामा चलेको भनेर सरकार गठन विगठनमा सधैँ चर्चा हुन्छ । होला, विदेशी विशेष गरी छिमेकीहरुको अनुकूल र प्रतिकूलको नेतृत्व हुन्छ पनि होला तर सोझै आएर जनप्रतिनिधिलाई तिमीहरु यसैलाई चुन्नुपर्छ भनेर प्रधानमन्त्री र राष्ट्रपति छान्ने काम पक्कै पनि गर्दैनन् र आफूले पहलकदमी लिएर अलिकति त्याग, अलिकति नैतिकता देखाउन नसक्नेले आफ्नो स्वार्थसँग बाझिने अवस्था आउँदा अरुलाई दोष दिएर पानीमाथिको ओभानो बन्ने संस्कार बसिसकेको छ ।

हाम्रो मुलुकमा केही स्वनामधन्य बाम बुद्धिजीवी जसले आफूलाई विशिष्ट श्रेणीको विश्लेषक सम्झन्छन् उनीहरु गैह्रबाम गतिविधि अमेरिका र भारतको इसारामा चलेको भन्न रुचाउँछन्, खासमा तिनीहरु कम्युनिस्ट मुलुकको दलालहरुहुन् भन्दा हुन्छ । किनभने पाँच वर्षभित्र घटेका नेपालको सीमानामा छिमेकीले आँठो सार्ने काम दुवै तिरबाट भयो तर त्यसको सन्तुलित विरोध लोकतान्त्रिक शक्तिले मात्र ग¥यो । बामपन्थीहरुले उत्तरी सीमाना मिचेको बारे कतै कुरा गर्न चाहेनन् । यस्तै प्रवृत्तिलाई छिमेकीले पनि आफ्नो स्वार्थमा प्रयोग गर्नु नयाँ कुरा होइन ।

संयोग मात्र हो कि के हो यसपटक चिनिया सन्देश लिएर एकजना कम्युनिस्ट नेता स्वदेश फर्केलगतै बामपन्थी एकताको नारा लगाउँदै अघिल्ला दिनसम्म परम दुश्मनझैँ गर्ने दुई ठूला कम्युनिस्ट पार्टीको समीकरण बन्यो । त्यसमा कांग्रेससँगको पाँचदलीय गठबन्धन भत्काउनपर्ने थियो, भत्कियो र कांग्रेस विरुद्ध नयाँ मोर्चा सरकारको आकार लिएर प्रकट भयो । कांग्रेसले यो व्यहोर्नुपर्ने अवश्यंभावी थियो । यो कांग्रेस नेतृत्वहीन चरणबाट गुज्रिँदै गरेको समय थियो ।

त्यसैले दूरदृष्टि पुगेन, त्यसको परिणाम जे देखियो यसलाई सहज रुपमा लिएर आगामी दिनमा सके लोकतान्त्रिक शक्तिलाई गोलबन्द गरेर जाने कित्ता स्पष्ट नभएकालाई अनावश्यक प्रोत्साहन गर्नु आत्मघाती हुँदोरहेछ भनेर आत्मसात गर्ने । चुडिएको चंगाजस्तो विचारविहीन समीकरण दुई÷चार दिन चल्ने हो, यो सरकारको आयु पनि त्यस्तै हुनसक्छ ।