आलोक भावुक
गढवा, १७ पुस । देउखुरीका वन जोगाउन डिभिजन वन कार्यालय देउखुरीले पहल सुरु गरेको छ। ‘हरियो वन नेपालको धन’ शब्दमा मात्र सिमित भैरहेको बेला डिभिजन वन कार्यालय देउखुरीले वन क्षेत्रमा हुने गरेको चोरी, निकासी र रातारात हुने गरेको तस्करीलाई नियन्त्रण गर्न स्थानीय तहसंग छलफल सुरु गरेको छ।
सव डिभिजन वन कार्यालय गढवाले शनिवार गढवा गाउँपालिका भरीका विभिन्न सामुदायिक वनका पदाधिकारी,वडाका जनप्रतिनिधिहरु, प्रहरी, काठ व्यवसायी, समिलका सञ्चालक, वन महासंघका अध्यक्ष साथै सरोकारवाला निकायहरुसंग देउखुरीका वन क्षेत्रको संरक्षण कसरी गर्न सकिन्छ भन्ने वारेमा अन्तक्रिया कार्यक्रमको आयोजना गरी छलफल गरिएको सव डिभिजन वन कार्यालय गढवाले जनाएको छ ।
डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सामुदायिक वनलाई उत्पादनमुखी कार्यक्रमसंग जोड्न आवश्यक रहेको बताए । सामुदायिक वनको काठ कटानी गरेर बेच्नु मात्र नभएर सामुदायिक वनले कम्तीमा एक सामुदायिक वन एक उत्पादनमुखी कार्यक्रम बनाएर अघि बढे मात्र सफल हुने बताउदै सम्पूर्ण सामुदायिक वनहरुका सरोकारवाला निकायलाई उत्पादनमुखी कार्यक्रम बनाउन जोड दिन आग्रह गरेका थिए ।
त्यसैगरी नाका क्षेत्रमा पर्ने भुभागमा पनि खोलामा रहेको ढुङ्गा जस्ता नदिजन्य पदार्थको सही सदुपयोग नगर्द करोडौको राजस्व भारतमा बगेर जाने गरेकोले राष्ट्रिय वन क्षेत्रको खोलानालामा रहेको ढुङ्गा र काठलाई प्रक्रिया मिलाएर उपयोग गर्न सके ठुलो मात्रामा राजस्व आउने सुझाव बताए।
सामुदायिक वन र राष्ट्रिय वन दुवै बिनासको संघारमा पुगेको बताउदै वन बचाउनेतर्फ नयाँ र ठोस कदम चालाउन आवश्यक रहेको बताउदै स्थानीय वन ऐन बनाएर भएपनि वन वचाउनेतर्फ आफु अग्रसर रहेको अध्यक्ष पोख्रेलले बताए ।
कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले डिभिजन वन कार्यालयले स्थानीय तहसंग सहकार्य गर्दा आफु अत्यन्त खुशी भएको बताउदै नयाँ भौतिक संरचना बन्दै गर्दा चोरी तस्करीको काठ प्रयोग हुनु दुर्भाग्यपुर्ण भएको बताइन। सामुदायिक वनको काठको मात्र समस्या नभएको भन्दै सामुदायिक वन क्षेत्रभित्र रहेको नदिजन्य पदार्थको चोरी तस्करी पनि ठुलो समस्या भएको बताउदै त्यसलाई समाधान गर्न अत्यावस्यक रहेको बताइन।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले वन डिभिजन कार्यालय र जनप्रतिनिधि र वनसंगका बिभिन्न ब्यक्तिहरुको उपस्थितिमा भएको अन्तरक्रियाबाट धेरै कुरा बुझ्न पाएको बताउदै कमिसनको खेलमा रातारात चोरी तस्करी भएको र वन क्षेत्रमा नदिजन्य पदार्थको उतखनन् गरिएको खबर पुलिस प्रशासन लगाएत सबै लाई हुँदा पनि मौन बस्दा मिलिमतो मै हुने गरेको होकि भन्ने आशंका आम जनमानसमा हुने गरेको बताए । क्षेत्रीले स्थानीय निकायले वन ऐन बनाउन चाहे आफुलै सहयोग गर्ने बताए। देउखुरीका ४६ सामुदायिक वनमध्ये एक ओटा वनले मात्र प्रक्रियामा अघि बढेको बताउदै क्रियाशील हुन सबैलाई अनुरोध गरे।
यसैगरी डिएफओ क्षेत्रीले अवका दिनमा सामुदायिक वनका जुनसुकै गतिविधि गर्दा पनि स्थानीय सरकारको सहभागितामा गर्न सुझाव समेत दिए । साथै डिएफओ क्षेत्रीले वन ऐनका वारेमा जानकारी गराएका थिए ।