उपभोग्यबस्तु खरिदका लागि हप्तामा तीन दिन पसल खुल्ने
दाङ,२६ चैत । दैनिक उपभोग्य बस्तु खरिदका लागि जिल्लामा हप्तामा तीन दिन खाद्यान्नका पसलहरु खुल्ने भएका छन । जिल्ला प्रशासन कार्यालयले दैनिक उपभोगका लागि अत्यावश्यक बस्तु खरिदका लागि तीन दिन पसल खोल्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले चैत २५ गतेदेखि लागु हुने गरि लकडाउनको अवधिभर दैनिक उपभोग्यबस्तु खरिदका हप्ताको आइतवार, मंगलबार र शुक्रवार पसल खोल्ने निर्णय गरेको हो । यस अघि दैनिक उपभोग्यबस्तु खरिदका लागि हरेक दिन बिहान ६ देखि ९ बजेसम्म दैनिक तीन घण्टा खाद्यान्न,डेरी,तरकारीलगायतका पसलहरु सञ्चालन हुदै आएका थिए । त्यो समयमा पनि पसलहरुमा भीडभाड हुने गरेको गुनासो बढेपछि दाङ उद्योग बाणिज्य संघ र दाङ चेम्वर कमर्शले उपभोक्तालाई दैनिक उपभोग्य बस्तुहरु होम डेलिभरीको व्यवस्था गरिरहेका छन । त्यसका लागि उद्योग बाणिज्य संघले २३ वटा गाडी र चेम्वरले ६ वटा दुईपाङ्ग्रे सवारीसाधनका माध्यमबाट दैनिक उपभोग्यबस्तु उपलव्ध गराउँदै आएका छन । साथै अत्याबस्यक बस्तुहरु खरिद गर्दा १ मिटरको दुरी कायम गरेर मात्रै सामनहरु किनबेच गर्न जिल्ला प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्णयले आफुहरु आश्चर्यमा परेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाालले बताए । ‘दैनिक उपभोग्य बस्तु खरिदका नाममा भीडभाड नहोस भनेर हामीले होमडेलीभरीको व्यवस्था गरेका छौ’,अध्यक्ष भुसालले भने,‘तर प्रशासनले छलफल नै नगरी हिजो अर्कै निर्णय गरेको बाहिर आएको छ ।’
