विपुल पोख्रेल
स्कूले जीवनमै थिएँ । राजनीतिक चेत भने थोरबहुत थियो मस्तिष्कमा । बाबा राजनीतिमा पहिले देखिनै संलग्न । त्यतीबेला माबी रझेनाको प्रधानाध्यापक हुनुहुन्थ्यो । घरमा मानिस आइरहने, राजनीतिक गफ हुन्थ्ये । एकप्रकारले प्रशिक्षण जस्तै चल्थ्यो ।
मध्यरातमा समेत मानिसहरु आउँथे । रातीमै खाना पकाउनु हुन्थ्यो मम्मीले उनीहरुका लागि । बाबाका कपडा लगाउथे, बाबाको दाह्री काट्ने मसिनले दाह्री काट्थे । केही सूचना लिन्थे । बाबाले केही किताव दिनुहुन्थ्यो । बिहानै उठ्दा उनीहरु घरमा हुँदैनथे । पछि थाहा भयो, पञ्चायती व्यबस्थाका बिरुद्धमा लड्दै गर्दा भूमिगत भएका राजनीतिक कार्यकर्ताहरु रहेछन् उनीहरु ।
मैले थाहा पाउँदादेखिका घरका दृष्यहरु हुन् यी । यिनै दृष्यहरुको साच्छी बस्दाबस्दै राजनीतिक चेत घुसेको थियो दिमागमा ।
‘काठमाडौंमा गणेशमान सिंहको घरमा भएको सम्मेलनले आन्दोलन गर्ने निर्णय ग¥यो । अब जे पनि हुन सक्छ’ बाबाले मम्मीलाई भनेको सुने । मेरो जीवनमा पहिलो पटक ‘आन्दोलन’ शब्द सुनेको त्यही थियो । राजनीतिक गफका क्रममा क्रान्ति भन्ने शब्द प्रयोग हुने गरेकोसुनेको थिए ।
‘राजा सेनाको बलमा शासन गर्दैछ, वीपी कोइरालाले जनताको बलमा र उनीहरुको मतको आधारमा शासन चल्नु पर्छ भन्नुहुन्थ्यो, मूल फरक यही हो राजाको व्यबस्था र हामिले चाहेको व्यबस्थामा’ भुमिगत र अन्य राजनीतिक कार्यकर्ताहरु आँउदा बाबाले प्रजातन्त्रलाई यसरी बुझाउने गरेको संझन्छु ।
मैले मम्मीलाई आन्दोलनको अर्थ सोधे । मम्मीले ‘हड्ताल जस्तै हो । राजाको ठाउँमा जनताको व्यबस्था ल्याउने कुरा हो त्यो’ यसरी बुझाउनु भयो मलाई ।
‘राजा सेनाको बलमा शासन गर्दैछ, वीपी कोइरालाले जनताको बलमा र उनीहरुको मतको आधारमा शासन चल्नु पर्छ भन्नुहुन्थ्यो, मूल फरक यही हो राजाको व्यबस्था र हामिले चाहेको व्यबस्थामा’ भुमिगत र अन्य राजनीतिक कार्यकर्ताहरु आँउदा बाबाले प्रजातन्त्रलाई यसरी बुझाउने गरेको संझन्छु ।
आन्दोलन सुरुभयो । समाचार दिनहुँ सुनिन्थ्यो । रेडियो नेपालसंग बाबा ‘इरिटेट’ भैसक्नु भएको थियो । हिन्दी बिबिसी सुन्नुहुन्थ्यो उहाँ । ‘जनता आन्दोलनमा छन्, राजाले मान्छे मारिरहेको छ, त्यही राजाको गुणगान गरेर बस्छ, आन्दोलनको कुरै गर्दैन रेडियो नेपाल’ बाबा यस कारण ‘इरिटेट’ हुनुहुन्थ्यो रेडियो नेपालसंग । ‘फुटाएर फाल्दिन्छु…’ कतिपटक यसो पनि भन्नुहुन्थ्यो ।
दाङमा आन्दोलन हुन सकिरहेको थिएन । बाबा हेडमास्टर भएको मावी रझेना, जहाँ म पनि पढ्थे त्यो समयमा, पुलिसको पहरा हुन्थ्यो । किन त ? भन्दा विनोद(बाबा), कुमुद(ठुलोबुवा)हरुले यहींबाट बिद्यार्थीको आन्दोलन निकाल्न सक्छन् भनेर रे । मेरो गाउँ महदेवा पनि प्रशासनको तारो बनेको थियो । ‘D’ एरिया’ भनिन्थ्यो रे प्रशासनको भाषामा । ‘D’ भन्नाले Democrats को एरिया भनेर ।
राती केही युवाहरु जुटे हाम्रो घरमा, मलाई लाग्छ चैत २४ गते तिर हो । त्यो दिन काठमाडौंमा आन्दोलनकारीहरुले ठूलो प्रदर्शन गरेका थिए । ‘दाङमा आन्दोलन नउठ्नु हाम्रा लागि नमज्जाका बिषय हो । जसरी हुन्छ बजारमै जुलुस निकाल्न प¥यो’ बाबाको आदेशात्मक आवाज सुने । भगिरथ योगी, दीपक पोख्रेल, प्रमोद गौतम, भोला अधिकारी, किरण रेग्मी, बिष्णु पोख्रेल, बासु पन्त, रवी गौतम, केशव बिसीलगातका युवाहरुलाई यो खबर सञ्चार गर्ने भनियो र २६ गते प्रदर्शन गर्ने निधो भएको मेरो स्मरणमा छ । अन्य ठाउँहरुमा पनि छलफल हुँदै तयारी भयो सायद । महेन्द्र बहुमुखी क्याम्पसका बिद्यार्थी नेताहरुलाई सहभागी गराउने जिम्मा बासु पन्तलाई दिने कुरा भएको पनि स्मरणमा छ ।
२६ गते आयो । दीपक पोख्रेल(हाल स्वर्गीय)ले खाना खाएर बाँसका केही सिप्किना बोकेर ‘हिँड केटा हो’ भन्नुभयो । उहाँ आफ्नै रफ्तारमा बजार तर्फ लाग्नु भयो । हामी समान उमेरका ठिटाहरु आन्दोलन गर्न भन्दै पछिपछि गयौं । हाम्रो गाउँ र बजारको बिचमा कटुवा खोला छ, त्यही खोलामा दीपक दाइले बाँसको सिप्किनामा कपडा छिराउनु भयो । बनियन च्यातेर सिंम्रीक घोलेर बनाइएको चार तारा सहितको झण्डा ।
निमा हल नेर सानो भिड जम्माभयो । प्रहरी देखिन थालिसकेका थिए । दीपक दाइले जोड संग ‘इन्क्लब जिन्दाबाद’ भनेर चिच्याउनुभयो । त्यो सुनेर २०/२५ जना युवाहरु यहाँ दौड्दै आएर र जिन्दाबादमा स्वर दिए । धेरै समय त्यो टिक्न सकेन । प्रहरी आइहाल्यो । प्रहरीको लाठीले मान्छे हानेको त्यसै दिन पहिलो पटक देखको हुँ मैले ।
हामी साना भएर होला, प्रहरीले केही गरेन । दाइहरुलाई पक्राउ पनि ग¥यो ।
बेलुका हाम्रा गाँउका आमाहरुको ठूलो समूह गएर प्रहरी चौकीमा धर्ना दियो । प्रहरीले बाध्यभएर सबैलाई रिहा ग¥यो । त्यो दिन त्यस्तै भयो ।
बेलुका अबेर अध्यारो भैसकेपछि दीपक दाइ घरमा आउनुभयो । त्यहाँ धेरै कुराभए बाबासंग, तर हामीले नसुन्ने गरी । पछि मम्मीसंग बाबाले भनेको सुनियो, ‘भोली २७ गते बेलुका मसाल बाल्ने, खोलाको वल्लो छेउमा उभिएर । जतिसक्यो धेरै बाल्ने र चर्को स्वरमा नारा लगाउने तयारी गर्न भनेको छुँ ।’
मम्मी अली डराउनु भयो । त्यसै त प्रहरीको निगरानी बढी रहेको छ, त्यसमा पनि यतैवाट(खोलाको वल्लो छेउँ) मसाल बालेमा प्रहरीले बाबालाई पक्रन्छ कि भन्ने डर थियो मम्मीको ।
तयारी कहाँसम्म पुग्यो मलाई थाहा छैन, तर २७ गते साँझको मसाल प्रदर्शन हेर्ने उत्कट चाहना भने मनभरी जागिरह्यो । कहीले आउँला त्यो क्षण भन्ने लागिरहेको थियो । २६ गतेको रात कट्यो । २७ गते बिहानै बाबाले चिच्याउँदै भनेको सुनियो, ‘ए कमल(मेरो मम्मीलाई बाबाले कमल भनेर बोलाउनु हुन्छ) बहुदल आयो सुनिस् ? ए केटा हो बहुदल आयो है ।’ हिन्दी बिबिसी बजिरहेको रेडियो बोकेरै बाबा गाँउ तिर दौड्नु भयो । हामी ३ भाइ बिस्तारामै थियौं । यो आवाजपछि हामी पनि ओर्लिऔ र बाबाको पछि दौडिंयौं ।
बाबाको जीवनमा त्यो क्षण जत्तिको खुशीको क्षण सायदै कुनै थियो होला । ‘जनताका अगाडि कुनै तानाशाहा टिक्न सक्दैन’ बाबाले त्यो दिन १ सय पटक भन्दा बढी व्याख्या र बिश्वका उदाहरणहरु दिदै भन्नुभयो होला सायद ।
मसाल प्रदर्शनका लागि कुरेको २०४६ सालको चैत २७ विजय उत्सव मनाउँनका लागि आइपुग्यो । प्रजातन्त्र जिन्दाबाद ।
यो दिन ल्याउन कैयौले ज्यान गुमाए, हजारौंको नेतृत्वदायी भूमिका छ, जनताको अपार समर्थन छ । तर, मेरो आँखा अगाडि चैत २६ गते घुम्ने रिलमा भने यिनै पात्र र घटना देखिन्छन् । मेरो आँखामा नदेखिएरै पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैमा उच्च सम्मान व्यक्त गर्दछु र उहाँहरुको त्यो भूमिकाको प्रशंसा गर्दछु ।
