दाङ, १५ पुस । काममा दक्ष भएका तर औपचारिकरुपमा शिक्षा नलिएकाले प्राविधिक शिक्षाअन्र्तगतको प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । कामदारको दक्षताको आधारमा उनीहरुले तहअनुसारको प्रमाण–पत्र पाउने भएका हुन् । यसका लागि पूर्व सिकाई मान्यता विधिबाट परीक्षण गरेर प्रमाण–पत्र प्राप्त गर्ने भएको लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी लक्ष्मणप्रसाद ज्ञवालीले बताए ।
मन्त्रालयले घोराहीमा गरेको नेपालमा व्यावसायिक योग्यता प्रणाली निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयनमा प्रदेश सरकारको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । प्रमाण–पत्र प्रदानका लागि विभिन्न समयमा सीप परीक्षणको आवेदन खुल्ला गरिने गरेको छ । ‘यसले सीप भएका तर प्रमाण–पत्र नभएकालाई सहयोग पुग्नेछ’, ज्ञवालीले भने । सरकारले ल्याएको कार्यक्रमका बारेमा जानकारी दिनका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको उनले बताए ।
सबैलाई जानकारी दिनका लागि निजी क्षेत्र, पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग कार्यक्रम गरिएको उनले बताए । अहिले पनि काममा दक्ष भएका तर प्रमाण–पत्र नहुने मानिसहरु धेरै रहेका छन् । उनीहरुलाई जानकारी हुन नसक्दा पूर्व सिकाईको मान्यता विधिवाट परीक्षणमा सहभागिता हुन सकेका छैनन् ।
यसले सीप भएका तर प्रमाण–पत्र नभएकासम्म जानकारी पुग्न सहयोग पुग्ने छ । दक्ष जनशक्ति भएमा उद्योगी तथा व्यवसायीहरुलाई समेत सहज हुनेछ । प्रमाण–पत्र भएमा कामदारलाई समेत काम गर्न सहज हुनेछ । दक्ष जनशक्ति भएमा काम गर्दा रकमसमेत धेरै पाउने छन् । प्राविधिक शिक्षाका वारेमा जानकारी दिन यस प्रकारको कार्यक्रम गरिएको उनको भनाइ छ । प्राविधिक शिक्षामा पनि १ तह देखि ८ तहसम्म हुने गरेको ज्ञवाली बताउँछन् ।
‘औपचारिक शिक्षाजस्तै प्राविधिक शिक्षामा पनि तह रहेको छ, यसको बारेमा सबैलाई जानकारी हुन सकेको छैन’, उनले भने । कार्यक्रममा मन्त्रालयका गुनासो सुन्ने अधिकारी थानेश्वर ज्ञवालीले विषय प्रवेश गराएका थिए । उनले प्राविधिक शिक्षाप्रति पछिल्लो समय आकर्षण घट्दै गएको बताए । निजी क्षेत्रलाई आकर्षक बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
प्राविधिक क्षेत्रबाट उत्पादन भएका जनशक्तिलाई रोजगारमा जोड्ने निजी क्षेत्र भएकाले सहकार्यबाट अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ । उद्योगका लागि आवश्यक जनशक्ति उत्पादन गर्नतर्फ लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा राप्ती प्राविधिक शिक्षालयका शालिकराम डाँगी, सुकबहादुर चौधरी, प्रदीप गौतमलगायतले प्राविधिक शिक्षा, यसका तह, निजी क्षेत्रको भूमिका यसको आवश्यकता, राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीलगायतका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यावसायी, प्राविधिक शिक्षा अध्यापन गराइरहेका विद्यायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।