कालाखोलामा ‘सुनाखरी तुलसीपुर सिकाई मेला’

तुलसीपुर, १५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को मावि कालाखोलामा ‘सुनाखरी तुलसीपुर सिकाई मेला भएको छ । तुलसीपुर उपमहानगरपालिकाभित्रका विभिन्न ८ वटा विद्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको संयुक्त आयोजना तथा टिच फर नेपालको प्राविधिक सहयोगमा एकदिने सुनाखरी तुलसीपुर सिकाई मेला मावि कालाखोलामा भएको हो ।

‘प्रदर्शनी र अन्तत्र्रिmयामा आधारित शिक्षा, समूह कार्य र अनुभव आदान–प्रदान सबैको इच्छा’ भन्ने मूल नाराका सुरु भएको सिकाई मेलाको उद्घाटन शिक्षाबिद् डा. विद्यानाथ कोइरालाले गरेका हुन् । मेलाको उद्घाटन गर्दै शिक्षाविद् डा. कोइरालाले अहिले शिक्षक, अभिभावक र विद्यार्थीका चाहाना फरक हुने भएकाले विद्यार्थीको क्षमता बुझेर शिक्षण सिकाई गर्दा यसबाट सिक्न सहज हुने बताए ।

उनले विद्यार्थीलाई सिर्जनशील बनाउन उसको क्षमता बुझेर उसको प्रतिभालाई चिन्न सके त्यसैबाट पनि धेरै काम गर्न सकिने बताएका थिए । ‘सबैको बुझाई, क्षमता फरक हुन्छ, सिक्ने कलामा विद्यार्थीलाई बढी सहभागी बनाई बुझाउन आवश्यक छ’, कोइरालाले भने– ‘विद्यार्थीहरुलाई सिर्जनशील बनाउन ठूलो काम गर्नुपर्दैन, जस्तो छ त्यसलाई भिन्दै तरिकाले सोचे मात्र पनि पुग्छ । तर त्यसका लागि शिक्षकहरुमा चिन्तन ल्याउन जरुरी छ ।’ उनले मेलाले विद्यार्थीलाई आधुनिक ज्ञानसँग जोडेर गुणयुक्त बनाउन मद्धत गर्ने पनि बताए ।

कार्यक्रममा बरिष्ठ कलाकार सुनिल थापाले विद्यार्थीहरुले मनबाट पढेमा मात्र सफल हुने बताए । मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुलसीपुरलाई शिक्षाको ज्ञान केन्द्रका रुपमा विकास गर्ने बताए । उपप्रमुख स्यानी चौधरीले पढाईलाई गुणस्तरसँग जोडेर लैजाने तर्क गरेकी थिइन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगेन्द्र विश्वकर्मालगायतले शिक्षण सिकाई मेलाले तुलसीपुरमा रहेका विद्यालयमा केही परिवर्तन गर्न सकिने र यो सिकाई प्रभावकारी हुने बताए । स्थानीय स्तरमा सिकेका कुरालाई उदाहरणका रुपमा बाहिर देखाउन सकिने उनको भनाइ छ ।

सिकाई मेलाका सल्लाहकार एवं वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसीले शिक्षण सिकाई मेलाले विद्यार्थीलाई कितावी ज्ञान मात्र नदिएर अन्य कुरामा पनि योग्य बनाउने बताए । तुलसीपुर उपमहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी प्रमिला ओली र संगीत जिसीले गरेकी थिइन् ।

४१ स्टलमा विभिन्न प्रदर्शनी

८ वटा विद्यालयको संयुक्त आयोजनामा सञ्चालित सुनाखरी तुलसीपुर सिकाई मेलामा विद्यार्थीहरुले निर्माण गरेका वस्तु प्रदर्शन गरिएको थियो । ४१ वटा स्टलमा विभिन्न विद्यालयका विद्यार्थीले तयार पारेका ३१ वटा प्रदर्शनी, फुड स्टल १, ब्यापारिक स्टल २, खेल स्टल ३, कलेज स्टल २ हेल्थ डेक्स २ स्टल राखिएको थियो । प्रदर्शनी हेर्न पुगेका विद्यार्थी, अभिभावक, नागरिक, शिक्षक, विभिन्न पेशाकर्मीले चासोका साथ जानकारी लिएका थिए ।

सुनाखरी तुलसीपुर सिकाई मेलाबाट बालबालिकाहरुले सिकाई आदान–प्रदान गरेको सञ्चार उपसमितिका संयोजक लक्ष्मी न्यौपानेले जानकारी दिइन् । सिकाई मेलामा कम्तीमा ५ हजार विद्यार्थीहरुलाई अवलोकन गराउने लक्ष्य लिइएको थियो तर मेलामा लक्ष्यभन्दा धेरै विद्यार्थीहरुले अवलोकन गरेका छन् । संयोजक लक्ष्मी न्यौपानेका अनुसार सिकाई मेलामा करिब ७ हजार बढी विद्यार्थीहरुले अवलोकन गरेका छन ।

मेलाले दिगो विकासको लक्ष्य प्राप्त गर्न मद्दत पु¥याउने, सिक्ने र सिकाउने प्रयोगात्मक विधिलाई सवलीकरण गर्ने, बिद्यार्थी, शिक्षक र शैक्षिक अभियन्ताबीच बलियो सञ्जाल निर्माण गर्ने अवसर प्रदान गर्ने, शिक्षक र बिद्यार्थीलाई सिक्ने सिकाउने अवसर खुलारुपमा प्रदान गर्ने र नेतृत्व विकास गर्न सक्ने सीपको विकास भएको मूल आयोजक समितिले जनाएको छ । टिच फर नेपालसँग सहकार्य गरेका तुलसीपुर उपमहानगरपालिकाभित्रका सरस्वती मावि दमारगाउँ, अम्बेश्वरी माबि अम्बापुर, मावि प्रतापकोट, मावि भित्री संक्राम, नवजागरण मावि कुटेचौर, मावि बालापुर र जनज्योति मावि तुहिरनियापुर संयुक्त आयोजनामा सिकाई मेला भएको हो ।

उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । तुलसीपुरले २०७५ सालदेखि टिच फर नेपालको सहकार्यमा विभिन्न विद्यालयहरुमा सिकाई मेला आयोजना गर्दै आएको छ । एकदिने सिकाई मेलाको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको थियो भने सह–प्रायोजकमा तुलसीपुर मेट्रो कलेज रहेको थियो ।