बाइलाइनमा समाचार छापिँदा …

मेरो चाहना र इच्छा पुलिस प्रशासन अर्थात् फोर्समा जागिर खाने थियो । त्यसको लागि उनको स्वभाव फिट नै छ तर उनी त्यहाँ छैनन् । ‘मैले दुई पटकसम्म प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकमा परीक्षा पनि दिएँ तर सफल भएनँ’ जिज्ञाशु, मिहिनेति र हक्की स्वभावका चमन धितालले विगत सम्झँदै भने । उनले आफू सधैँ खुसीका साथ कर्म गर्ने गरेको बताउँछन् ।

विसं २०४३ सालमा जन्मिएका धितालले आफूले विगतमा पत्रकारिता गरेको पनि सम्झिए । गाउँकै नरदेवी मावि तेघराबाट एसएलसी पास गरेका धितालले आफ्नो पहिलो खुसी नयाँ युगबोध दैनिकमा पहिलो पटक बाइलाइनका साथ आफ्नो नाममा समाचार छापिँदाको सम्झिए । विसं २०६० साल असोज ७ गते नयाँ युगबोध दैनिकमा ‘माओवादीले कच्ची पुल भत्काए’ भन्ने मेरो बाइलानमा समाचार छापिँदा म जीवनमै पहिलो खुसी प्राप्त गरेको थिएँ’, उनले भने, ‘त्यो खुसी नै जीवनमा आजसम्म प्राप्त गरेको खुसी हो ।’ धितालले त्यतिबेला पत्रिकामा नाम छापिनु पनि ठूलो कुरा भएको सुनाए ।

जीवनमा उनीसँग धेरै खुसी र दुःखका पलहरू छन् । खुसीमा रमाउने र दुःखमा पनि त्यति हतास हुने उनको स्वभाव छैन । दुःखलाई पनि सहज रूपमा लिने गर्छन् । ‘पहिलो खुसी भनेको बाइलाइनमा मेरो नाम सहित युगबोधमा पहिलो पेजमा समाचार आउँदाको लेखिदिनु’, उनले भने । उनले समाचार छापिएको दिन सबै साथीभाइलाई समोसा खुवाएको सम्झिए । ‘त्यो दिन खुसीले म दिनभर सबैलाई समोसा, जेरी खुवाउँदै हिंडे’, धितालले भने, ‘त्यो खुसीको सीमा नै कस्तो मीठो थियो । त्यसको वर्णन गरेर साध्यै छैन ।’

विसं २०६० सालदेखि पत्रकारितामा लागेका धितालले अर्को खुसी रेडियो स्वर्गद्वारीमा आफ्नो नाम आउँदा खुसी लाग्ने गरेको सुनाए । त्यतिबेला यस क्षेत्रको एकमात्र रेडियो त्यसमा पनि आफूले पठाएको सामाचार रेडियोबाट आउँदा र चमन धितालले पठाएको भन्दा खुसीले गदगद हुने गरेको सुनाए । ‘रेडियो स्वर्गद्वारीमा नाम वाचन हुँदाको क्षण मेरो अर्को खुसी हो’, उनले भने । विद्यानीलकण्ठ मावि घोराहीबाट प्लस–टु र मेहन्द्र बहुमुखी क्याम्पसबाट व्याचलर गरेका धितालले अर्को खुसी विसं २०६२ देखि ६६ सम्म सूचनापत्र साप्ताहिक र गोरक्ष दैनिकमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले पत्रकारितामा लाग्दा धेरै कुराहरू सिकेको भन्दै उनले गुरु सुदर्शन रिजाल र विपुल, सुदीप र किशोरचन्द्र गौतमलाई समेत सम्झिए । ‘मैले करिब ४, ५ वर्ष घोराहीमा बसेर पत्रकारिता पनि गरेँ, त्यतिबेला सबैले मेरो गुरु, साथीभाइले साथ र सहयोग गर्नुभएको थियो, म त्यसमा पनि खुसी छु’, उनले भने । त्यस्तै स्नातकोत्तरका लागि काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालयमा गएका धितालले अर्को खुसी त्रिभुन विश्वविद्यालयमा अंग्रेजी विभाग नेविसंघको अध्यक्ष हुँदा लागेको सुनाए । उनले विसं २०६६ सालमा त्यहाँ गएँ करिब ३ हजारको अगुवाइ गर्न पाउँदा तथा विद्यार्थी राजनीतिमा लागेर विद्यार्थीको हकहित स्थापित गर्न पाउँदा अर्को खुसी लागेको सुनाए ।

त्रिभुवन विद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका धितालले आफू पढाइमा सफल हुँदा पनि खुसी लागेको सुनाए । उनले कक्षा १ देखि आफू प्रथम, द्वितीय भएको भन्दै आफू पढाइमा पनि राम्रो स्थानमा आउँदा खुसी लागेको सुनाए । त्यस्तै आफूले मास्टर सकेर आएपछि राप्ती आवाज पत्रिकामा सहसम्पादक भएर काम गर्न पाएकोमा अर्को खुसी व्यक्त गरे । पत्रिकाले आफूलाई जिम्मेवारी दिएको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै विसं २०६९ साल देखि तुलसीपुर बोर्डिङ स्कूलमा पढाउन सुरु गरेको भन्दै त्यहाँ जागिर सुरु गर्दा पनि खुसी लागेको सुनाए । उनले त्यहाँ आफूलाई सहयोग गर्ने र माया गर्ने बोर्डिङका प्रमुख भिष्मबहादुर केसीलाई समेत सम्झिए । धितालले त्यससँगै नोभेक्स लिटिल हेभवनमा समेत पढाएको बताउँछन् । विसं २०७६ सालदेखि राप्ती बबई क्याम्पसमा सहायक प्राध्यापकको रूपमा आफूले पढाउन सुरु गर्दा अर्को खुसी प्राप्त भएको उनले सुनाए ।

सामुदायिक क्याम्पसमा आफू प्रतिस्पर्धा गरी आएको र यहाँ आफू र आफूभन्दा माथिल्लो उमेरकालाई उच्च शिक्षा दिन पाउँदा धेरै खुसी लाग्ने गरेको सुनाए । ‘यहाँ मास्टर लेवलमा आफू र आफूभन्दा पुरानालाई ज्ञान बाँड्न पाउँदा खुसी लाग्छ’, उनले भने । मध्यमवर्गी परिवारमा जन्मिएका धितालले आफूले सोचेअनुसार कर्म गर्न नपाए पनि बुवाको पेसालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्छन् । ‘मेरो इच्छा चाहना त अर्को थियो तर मेरो बुवा पनि शिक्षक हुनुहुथ्यो, दाइ, दिदी पनि शिक्षक नै हुनुहुन्छ । म पनि यसैलाई निरन्तरता दिएँ, यसैमा खुसी छु’ उनले भने ।

त्यस्तै धितालले आफूले पढाएका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, राजनीतिज्ञ तथा विभिन्न निजामति क्षेत्रमा रहेको भन्दै खुसी व्यक्त गर्छन् । उनले विभिन्न समयमा विभिन्न स्थानमा उनीहरूसँग भेट हुँदा तथा उनीहरूले सम्झँदा खुसी लाग्ने गरेको सुनाए । धितालले आफू शिक्षण पेसामा लागे पनि पत्रकारिता जीवितै रहेको र अझै पनि पत्रकारितामा इच्छा रहेको बताउँछन् । उनले आफूले पिएचडी गरेर एक पटक नामको अगाडि डाक्टर लेखाउने प्रक्रियामा रहेको बताउँछन् ।

‘एकपटक नामको अगाडि डा. थपेसी मेरो खुुसीहरू झनै थपिने थिए’, उनले भने । धितालले आफूलाई घरपरिवार, श्रीमती, आफ्ना भाइ र सबैले साथ सहयोग गरेकोमा पनि खुसी व्यक्त गर्छन । उनले २ वटा छोराहरू छन् । सन्तान जन्मँदा पनि त्यत्तिकै खुसी भएको उनले बताए । जीवनमा उनले धेरै सिकेका छन् । वाक कलामा पनि राम्रो ज्ञान छ । मञ्च पाएमा विषयवस्तुमा राम्रैसँग जम्न ल्याकत राख्छन् ।

जीवनको भ¥याङ कति लामो छ, कसैलाई थाहा छैन । उनी पनि त्यसमा अन्जान नै छन् । विधाताले उकाल्दासम्म मान्छे उक्लिरहन्छन् । उनी पनि त्यही गरिरहेका छन् । जीवनको यो भ¥याङसम्म उनले पनि अन्यजस्तै धेरैसँग प्रेम गरे । तीमध्ये उनले केही छोडिसकेका छन् । केही उनीसँगै अझ प्रेममा छन् । एकान्त वा मनले मागेको अवस्थामा उनले मज्जाले प्रेम गर्छन् र खुसी साट्छन् ।

जीवनप्रतिको उनको मूल्याङ्कन सरल र वक्र दुवै नै हो । यो आप्mनै ताल र लयमा चल्छ । समयले आजसम्म जुन ठाउँमा उभ्याए पनि उनले सहज रूपमै लिने गर्छन । भाग्यविधाताप्रति उनको खासै गुनासो छैन र भन्छन् ‘जीवन चलेको छ । चलेको जीवनले नै खुसी दिन्छन् । त्यो मैले भेटिनै रहेको छु ।     प्रस्तुती : बालाराम खड्का