नारायणप्रसाद श्रेष्ठ
सुन्दर, शान्त र विशाल हृदय लिएर बाँचेको नेपाली मनको आदर्श हिजो जेजसरी विश्वरंगमञ्मा हिमालझँै उच्च र गंगाझैँ शुद्ध र सफा भएर परिचित भएको थियो । यसरी नै अहिले पनि नेपाली मनले नेपालीपन झल्किरहने स्वभाव र हिमालझैँ हाँसिरहने दृढता खोजिरहेको छ । स्वतन्त्र र स्वाभिमानी भएर बाँचेको हिजोको वीरता आज पनि उदाहरणीय भएर प्रस्तुत होस् भनी चाहिरहेको छ ।
कोही कसैको लोभ, मोह र आशक्तिमा होइन, आफ्नै पौरख र पसिनाले सिर्जेको प्रकृतिको अनुपम छटाले ओतप्रोत शान्त र शीतल छहारीरुपी बोटवृक्ष अहिले पनि सबैको पसिना ओभाउने चौतारी भएर रहेको छ । कहिल्यै नझुक्ने नेपाली शिर अहिले पनि विश्वपरिवेशमा उत्तिकै टड्कारो र उच्च स्वाभिमान भएर बाँचेको छ । म मरे केही हुँदैन, मेरो देश र स्वाभिमान कहिल्यै मर्न दिनेछैन भनी निरन्तर डटिरहने नेपाली स्वभाव अहिले पनि जीवन्त रहेको छ । एकले अर्काको सहयोग गर्दै हिमाल, पहाड, तराई जहाँ बसे पनि एउटै स्वर र एउटै उद्देश्य राखेर बाँचेको नेपाली मौलिक संस्कृति विश्वको लागि आकर्षणको केन्द्र भएर देखापरेको छ ।
बाँच र बचाउ भन्दै सहयोगी मनले आपसी सद्भाव बढाउन स्वीकारेको अतिथि देवोको सिद्धान्त अहिले पनि इतिहासको पानामा स्वर्ण अक्षरले लेखिएको छ । निडर, निष्पक्ष र शान्त स्वभावको नेपाली आचरण अहिले पनि ज्वलन्त भएर पहिचान दिइरहेको छ । शान्ति र सद्भाव जीवनको अपरिहार्य आवश्यकता हो, हाम्रो संस्कृति र संस्कार हाम्रो आदर्श हो भनी सधैँ एउटै धरातलमा रही विश्व सामू शान्तिको उद्घोष गर्ने नेपाली आदर्श र भाइ–भाइबीचको सांस्कृतिक सम्बन्ध विश्वको लागि उदाहरण बनिरहेको छ । यति हुँदा पनि अहिले कता–कता, कस्तो–कस्तो परिवेश देखापर्दैछ भनी संकुचित विचारहरु छरपष्टिएका छन् । त्यसैले हिजो जुन परिवेशमा नेपाली आचरण रहेको थियो अहिले पनि त्यत्तिकै आवश्यक रहेकोले सावधानीपूर्वक वर्तमानले प्रत्येकलाई सजग गराइरहेको छ ।
मानव भएर मानवीय नाता र सम्बन्धमा बाँचेको हाम्रो संस्कृति हिजो जति ठूलो हुरी बतास आए पनि कत्ति पनि नडगमगाइ अगाडि बढेको थियो । पूर्वको झापाबाट पश्चिमको महेन्द्रनगर, तराईको विराटनगर, महोत्तरीबाट हुम्ला, जुम्ला र मुगुको चिसो स्थानमा पनि बास बस्न पुगेका सबै नेपालीमा आपसी गहिरो सम्बन्ध थियो । बेलुकाको पाहुना ईश्वरको रुप हो भनी के हिमाल, के पहाड, के तराई हाम्रो आपसी सम्बन्ध मजबुत थियो । जहाँ रहे, बसे र भेट भए पनि नेपाली भएर बाँच्न दृढता र आत्मविश्वास बलियो थियो । एकले अर्काको सहयोग गर्न पाउनु भनेको भाग्यले पाउनु हो भनी तीर्खाएको मनलाई मोही र मकैको खाजाले स्वागत गरिन्थ्यो ।
जहाँ रहे, बसेको नेपाली भए पनि जहाँ जाँदा वा आउँदा पनि एक छाक र गासको जोहो भइरहन्थ्यो । हिड्दा, बस्दा वा जंगलमा यात्रा गर्दा यात्रीको भेट ईश्वरको वरदान भएर विश्वासका साथ मित्रता कायम गर्दै अघि बढेको थियो । कोहीकसैको पराई थिएन । कुनै किसिमको भेदभाव थिएन । हिन्दू, मुस्लिम, इसाइ, बौद्ध चाहे जुनसुकै धर्म, संस्कृति र परम्परामा बाँचेका भए पनि सबैको एउटै मन, भरोसा र विश्वास थियो । एकले अर्काको सम्मान गर्दै बाँच र बचाउको सिद्धान्त मात्र प्रतिपादन भए गरेको थियो । तँ ठूलो म सानो यस्तो मतभेद पाइँदैनथियो । कहीँकतै देखिए पनि समझदारी र आपसी सद्भावले त्यसलाई मेटाइन्थ्यो ।
त्यो आदर्श नाता विश्वासमा परिणत थियो । यसलाई कुनै पनि हुरी बतासले र तुफानले पनि हटाउन सक्दैनथियो । आफ्नै रीति, थिति र संस्कारमा रमाउँदै हिमालको चिसो र कलकलाउँदो झरनाले तराईलाई सिंचित गर्दै, तराईको उर्वरा भूमिको खाद्यान्नले हिमाल, पहाड, तराई बाँचेको त्यो आपसी सम्बन्ध साच्चिकै नेपालको गौरवमय परम्परा थियो । नेपाल र नेपालीको स्वाभिमान थियो । यसरी हाम्रो आदर्श, हाम्रो पहिचान भएर नेपाल र नेपालीको गरिमा, इज्जत र प्रतिष्ठा विश्वपरिवेशमा बढेको थियो । नेपाली पाहुना ईश्वरको रुप हो भनी विश्वको कुनै पनि कुनामा त्यहाँका राष्ट्राध्यक्ष झुकेर नेपाली आदर्शको सम्मान गर्ने वातावरण त्यसबेलामा थियो ।
राष्ट्रिय पहिचान निकै उच्च भएर परिचित थियो । संस्कृति र संस्कारले अविछिन्न गति लिएको थियो । यसरी इतिहास लेखिँदै हाम्रो आचरण, हाम्रो संस्कृति बाँच्ने आधार भएर जीवन्त थियो । मानव भएर मानवीय आचरण र व्यवहारले विश्व समुदाय नेपाली संस्कृतिप्रति चासो र अभिरुचिपूर्वक हेर्ने, बुझ्ने र सम्झने गर्दथे । नेपालीबीच एकता मात्र होइन, भावनात्मक सम्बन्ध र प्रेमभाव थियो । यसरी हुर्केको थियो हाम्रो नेपाली आदर्शको बोटवृक्ष ।
यसरी हुर्केको हाम्रो बोटवृक्षमा वर्तमानमा कसरी धमिरा लाग्ने परिस्थिति जन्मिँदैछ ? यसको मूलकारण र तत्व के हो ? अब सबैले बुझ्न जरुरी भइसकेको छ । संसारमा कुनै पनि प्राकृतिक सत्यको परिवर्तन भएको छैन । पृथ्वीको रचनामा मौसमदेखि पर्यावरणीय वातावरणमा खासै परिवर्चन भएको छैन । फरक यति हो, मानिसको स्वभाव र विचारमा जुन परिवर्तन आएको छ, त्यसको प्रतिफल प्राकृतिक नियममा पनि केही फरक देखिएको मात्र हो । पृथ्वीमा जे रोपिन्छ त्यही उम्रिएको सत्य फेरबदल भएको छैन । मकै रोपी गहूँ उम्रिएको त देखिएकै छैन । पशु र चराचर जगतमा खास केही फरक देखिएको छैन । फरक छ त मानिसको स्वभाव र विचार । त्यही विचारको फरकको कारण प्राकृतिक सत्यको नियममा केही फरक भएको अनुभूति भएको मात्र हो । तसर्थ, यसलाई बुझ्न जरुरी छ ।
कथाको मुख्य पात्रले निभाउनुपर्ने दायित्व र जिम्मेवारी जसरी सामाजिक सचेतनाको उदाहरण भएर देखापरेको हुन्छ र सर्वसाधारणको लागि त्यो अनुकरणीय शिक्षा बन्दै गएको हुन्छ । त्यसरी नै नेतृत्वको सोच, चिन्तन र भूमिकाले सिङ्गो मुलुकलाई प्रभाव पारिरहेको हुन्छ । घर वा समाजको अगुवाले जुन किसिमले आफ्नो भूमिका निर्वाह गर्दछ, त्यसको प्रत्यक्ष प्रभाव त्यो समाजमा पर्ने कुरा सत्य सावित छ । तसर्थ, यस कुरालाई गम्भीर रुपले सोच्न जरुरी छ । यसरी पौराणिककालदेखि गासिँदै आएको हाम्रो आदर्श अहिले खस्किँदै जानु विडम्बना मान्नुपर्छ ।
विश्वास र भरोसा बोकेको नेपाली मनको उदारतालाई वर्तमानमा खिया लगाउनु जुन कार्य भइरहेको छ, भौतिक विलाषीको तलाउमा डुबेर राष्ट्रिय चिनारीलाई लोप गराउने जुन धृष्टता गरिँदैछ वास्तवमा यो नेपालीका लागि दुर्भाग्य मान्नुपर्छ । ठूला हुरीबतासले नढलेको हाम्रो संस्कृति र हाम्रो आचरण धृष्टराष्ट्रको चरित्र निर्वाह गर्नेले महाभारतको युद्धको श्रीगणेश गर्नेतर्फ आफूलाई प्रविष्ट गराउनु भनेको यो दुर्भाग्य नै हो । सप्तरंगी इन्दे्रणीसरी सजाइएको सुन्दर, शान्त र विशाल हृदय भएको नेपाली आदर्शलाई कौडीमा सौदा गर्नु र यसले निरन्तरता पाउँदै गर्नु भनेको नेपाली स्वाभिमानमा धक्का पुग्नु हो ।
तसर्थ, सचेत आत्मा सबै जागृत हुनु जरुरी छ । नेपाल र नेपालीको गौरवमय संस्कृति र संस्कार तेल सकी निभ्न लागेको बत्ती दियो होइन । सुनौलो बिहानीको किरणसँगै उदाउने सूर्यको रोशनी हो । त्यसैले झलमल्ल उज्यालो नेपाल र नेपालीको पहिचान बचाउन सबै एकजुट हुनु परेको छ । हाम्रो पहिचान, हाम्रो आदर्श भन्दै नेपाली मनको हिमालझैँ उच्च र सागरझैँ स्वच्छ र पवित्र आचरणलाई जीवनको अभिन्न अंग र उद्देश्यसँग गाँसेर अघि बढ्न समयले हामीलाई घचघच्याइरहेको छ । वर्तमानले यही खोज्दै छ, चेतना भया ।