दाङ,१० पुस । नेपाल जेसिजले सन् २०२२ को ‘राष्ट्रका उत्कृष्ट युवा पुरस्कार’ दाङका युवा अधिकारकर्मी बिपिन बुढाथोकीलाई प्रदान गरेको छ। बुढाथोकी एम्नेष्टि ईन्टरनेशनलका राष्ट्रिय अध्यक्ष हुन्। विरगञ्जमा बिहिबार देखि सुरु भएको जेसिज राष्ट्रिय महाधिवेशनमा उनलाई राष्ट्रका उत्कृष्ट युवाका रुपमा नगद सहित स्वर्ण पदक प्रदान गरिएको हो।
२०१५ देखि एम्नेष्टि ईन्टरनेशनलमा आवद्ध भई मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको भन्दै जेसिजले बुढाथोकीलाई यो पुरस्कार प्रदान गरेको हो। बुढाथोकी २०१८ मा यो संस्थाको उपमहासचिव बनेका थिए। त्यसैबेला उनी कार्यबाहक महासचिव समेत बनेका थिए। सन् २०२२ मा एम्नेष्टिको राष्ट्रिय अध्यक्षमा निर्वाचित बुढाथोकी अहिले सम्मका एम्नेष्टिका सबै भन्दा कान्छा अध्यक्ष हुन्। उनी २६ बर्षको उमेरमै अध्यक्ष चुनिए। यो संस्थाको अध्यक्षका रुपमा बुढाथोकीले संक्रमणकालीन न्याय,जलवायु न्याय, महिला, बालबालिका र युवाहरुको अधिकार, आप्रवासी श्रमिक, दलत , जनजाती , सिमान्तकृत, अल्पसंख्यक र उपेच्छित समुदायको अधिकार र न्यायका निम्ती पैरबी गर्दै आएका छन्। ‘जेसिजले गरेको यो पुरस्कारले मलाई मानव अधिकारका क्षेत्रमा काम गर्न थप उत्तरदायि बनाएको छ,’ बुढाथोकीले भने ‘यो जिम्मेवारीलाई थप गहन ढंगले पुरा गर्ने अवसर पनि मेरा लागि हो।’
जेसिजले आफ्नो महाधिवेशनमा राष्ट्रका उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। उसले राष्ट्रका निम्ति कुनै न कुनै क्षेत्रबाट योगदान पुर्याएका युवाहरुलाई पुरस्कार प्रदान गर्ने गर्दछ।