आलोक भावुक
गढवा,१० पुस । गढवा गाउँपालिकाको आयोजनामा दुई दिने जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको शनिबारमा उद्घाटन गरिएको छ।
प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गरेका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष पोख्रेलले स्वास्थ्यका लागि खेल एकदमै महत्वपूर्ण रहेको भन्दै स्वास्थ रहनका लागि खेल एकदमै आवश्यक रहेको बताए।
जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताले एकातिर स्वस्थ रहन फाइदा गर्छ भने अर्को तिर जनप्रतिनिधि र कर्मचारी बिच सहयोगी भावनाको बिकास गर्नको लागि निकै ठुलो योगदान पुर्याउने बताए।
गढवा गाउँपालिका खेल क्षेत्रमा पछाडी परेको स्वीकार गर्दै आफु निर्वाचित भएर आए देखी नै गढवा गाउँपालिकामा आफ्नै सुविधा सम्पन्न खेल मैदान बनाउनेतर्फ सोचेको बताउदै आफुले पहिलो बर्ष कै निति तथा कार्यक्रममा गढवामा पालिकामा पालिकास्तरको सुविधा सम्पन्नको स्टेडियम निर्माण गर्ने संगसंगै गढवा गाउँपालिकाको एउटा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने उद्देश्य राखेको बताएका थिए ।
गढवा कभर्डहलका अध्यक्ष कृष्णराज पाण्डेले निर्माणाधिन कभर्डहललाई तयार गर्न सके देउखुरीको खेल क्षेत्रको बिकासलाई अघि बढाउन सहयोग गर्ने बताएका थिए ।
उद्घाटन कार्यक्रमको पहिलो खेल जनप्रतिनिधितर्फ गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र गढवा गाउँपालिका वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरी र अर्को तर्फ कर्मचारी तर्फ गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीबिच खेलमा जनप्रतिनिधिको टिमले जित हासिल गरेको थियो।
ब्याटमिन्टन प्रतियोगिता दुई दिनसम्म चल्ने गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् । गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्यामबहादुर बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।