आलोक भावुक
गढवा, ९ पुस । गढवा गाउँपालिकाले इलाका प्रहरी कार्यालय गढवालाई ५६ इन्चको युएचडि एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ।
शुक्रबार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र गढवा गाउँपालिकाभित्रका विभिन्न संघ संस्थाहरुको उपस्थितिमा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीलाई एलइडी टेलिभिजन हस्तान्तरण गरिएको हो ।
गढवा गाउँपालिकाको बजार क्षेत्रको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै गढवा बजारको विभिन्न स्थानमा क्यामेरा जडान पछी निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय गढवालाई ५६ इन्चको एक थान एलइडी टेलिभिजन हस्तान्तरण गरेको गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलले बताए । अध्यक्ष पोख्रेलका अनुसार गढवा गाउँपालिकाभित्र चोरीलगायत अपराधिक गतिविधिलाई मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गरिएको हो ।
‘सुखी गढवा खुसी गढवा गाउँपालिका’ निर्माणमा आफू लागिपरेको बताउँदै १ नम्बर वडादेखि ८ नम्बर वडासम्मका मुख्य मुख्य ठाउँमा स्थानीयको सल्लाह-सुझाव अनुसार अघि सिसिटिभी क्यामेरा जडान गरिने बताए ।
राप्तीको प्रवेशद्वारको रुपमा रहेको गढवा गाउँपालिकालाई सुरक्षित बनाउने उदेश्यले गढवा बजारको मुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । गाउँपालिकामा अपराधिक गतिविधिमा कमी आउने उपाध्यक्ष चौधरीको विश्वास छ ।