घोराहीको औद्योगिक क्षेत्रको काम अघि बढाउने तयारी

अमरराज आचार्य
दाङ, ९ पुस । दाङको घोराहीमा सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रका काम ढिलै भए पनि अघि बढ्ने भएको छ । औद्योगिक क्षेत्रको काम अगाडि बढाउनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका निर्देशक सञ्जयलाल मानन्धरसहितको टोलीले स्थलगत अध्ययन समेत गरेको छ । टोलीले स्थलगत अनुगमन तथा जिल्लामा सरोकारवालाहरुसँग भेटघाट तथा छलफलसमेत गरेको छ ।

घोषणा भएको लामो समयसम्म अगाडि बढ्न नसकेको काम अगाडि बढ्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका निर्देशक मानन्धरले जानकारी दिए । उनका अनुसार अब काम अगाडि बढ्नेछ । घोषणा भएको औद्योगिक क्षेत्रको अवस्था बुझ्नका लागि आफूहरु जिल्लामा आएको समेत उनले बताए । ‘सबैको सहयोगमा रहेमा काम सहजरुपमा अगाडि बढ्छ’, उनले भने– ‘काम गर्दा समस्या नआउने गरी अगाडि बढाउने सबैको दायित्व हो ।’ सरकारले घोराही उपमहानगरपालिकाको वडा नं. ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो । नेपाल सरकारको २०७७ माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको थियो ।

साविक राप्तीको आवश्यकताअनुसार लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो । संघले २०७१ सालदेखि औद्योगिक क्षेत्रका लागि पहल गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । औद्योगिक क्षेत्रका बारेमा स्थानीय बासिन्दाहरुलाई बुझाएर अगाडि बढ्नुपर्ने घोराही उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रसाद चौधरीले बताए । ‘नागरिकलाई यसका बारेमा बुझाउन जरुरी छ’, वडाध्यक्ष चौधरीले भने– ‘ स्थानीयहरुलाई यसका बारेमा बुझाउन आवश्यक छ । औद्यागिक क्षेत्रका बारेमा स्थानीय बासिन्दाहरुलाई बुझाउन काम हुनेछ ।’

सबै प्रक्रिया पूरा भए पनि फाइल मन्त्रिपरिषद्मा पुगेर पनि लामो समय रोकिएको थियो । लामो समयको प्रयासपछि सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको थियो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र ५ सय ४९ बिगाहामा छ । औद्योगिक क्षेत्र घोषणा भए उद्योग स्थापनासँगै जिल्लाबासीहरुले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा गरेका छन् । रोजगारका लागि विदेशिने युवाहरुको संख्यामा समेत कमी आउने आशा जिल्लावासीले गरेका छन् ।

रोजगारको लागि जिल्लाबाट लाखाँै युवाहरु विदेशिने गरेका छन् । उद्योग स्थापना भएपछि जिल्लाको राजश्वमा समेत वृद्धि हुने अपेक्षासमेत गरिएको छ । अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा कुनै विवाद नभएकाले संघले औद्योगिक क्षेत्रका लागि पहल गर्दै आएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । ‘सबैको सहयोगले गर्दा विवादरहित तरिकाले घोषणा गर्न सकिएको हो’, अध्यक्ष बुढाथोकीले भने– ‘औद्योगिक क्षेत्र स्थापनाका लागि यस क्षेत्रका राजनीतिक दल, सरकारी निकाय, व्यवसायी तथा सरोकारवालाहरु मिलेर अगाडि बढ्नुपर्छ ।’

घोराही उपमहानगरपालिकाले नगर सभाबाट नै उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरि सकेको छ । संघले २०५८ सालदेखि नै जिल्लामा औद्योगिक क्षेत्र स्थापनाको लागि पहल गर्दै आएको थियो । सुरुमा करौतीडाँडामा ८६ बिगाहामा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो । औद्योगिक क्षेत्रका लागि जग्गा कम हुने भएपछि उक्त क्षेत्र घोराही उपमहानगरपालिका लागि ल्याण्डफिल साइडको रुपमा प्रयोग गर्न दिएर जग्गा खोजी गरिएको थियो ।

त्यसपछि सरोकावारवालासँगको समन्वय गरेर जग्गा खोज्ने क्रममा घोराहीका ३ वडामा औद्योगिक क्षेत्रका लागि जग्गा छनोट गरिएको थियो । अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा मानव बस्ती न्यून रहेको, शहरी क्षेत्रबाट टाढा, वन क्षेत्र भए पनि न्यून रुख विरुवा रहेको, पानीको सुविधा, सहजरुपमा सडक, विद्युत सहजरुपमा पु¥याउन सकिने, उत्पादन भएका वस्तु निकासी गर्न समेत सहज हुने भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त रहेको बताइएको छ ।

औद्योगिक क्षेत्र भएपछि उद्योग स्थापनाको लागि आफूले जग्गा किनेर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता समेत हट्ने छ । जसले गर्दा उद्योग स्थापना गर्नका लागिसमेत सहज हुने संघका अध्यक्ष बुढाथोकीले बताए । उद्योग स्थापना भएपछि जिल्लामा उत्पादन समेत वृद्धि हुने उनको भनाइ रहेकको छ । औद्योगिक क्षेत्र घोषणासँगै जिल्लामा स्वदेशी तथा विदेशी लगानीकर्ता भित्रिने अपेक्षासमेत गरिएको छ ।

औद्योगिक क्षेत्रका बारेमा छलफल

दाङ जिल्ला उद्योग वाणिज्य संघले औद्योगिक क्षेत्रका बारेमा छलफल गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका निर्देशक सञ्जयलाल मानन्धर, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, घोराही उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष रामप्रसाद चौधरी, संघका पदाधिकारी, निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरुको सहभागितामा छलफल गरिएको हो । छलफलमा हालसम्म भएका कार्यहरुका बारेमा जानकारी गराइएको थियो ।

आउँदा दिनमा सबै सरोकारवालाहरुसँग समन्वय गरेर छिटो औद्योगिक क्षेत्र स्थापना गर्न अगाडि बढ्नुपर्ने बताइएको थियो । कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।