दाङ, ९ पुस । पुख्र्यौली पेशाले घर व्यवहार चलाउन धौधौ भइरहेको समयमा दुई दाजुहरुले बेवास्ता गरेपछि आमाबुबासहित घर–व्यवहार सम्हाल्ने जिम्मेवारी आयो राजपुर गाउँपालिका–४ दुलैया निवासी कमला परियारलाई । घर–व्यवहार सम्हाल्ने जिम्मेवारी आए पनि उनीसँग न सीप थियो न त सम्पत्ति नै । उसैमाथि सशस्त्र द्वन्द्वले दिएको पीडा थियो । सुरुमा उनले के गर्ने सोच्नै सकेकी थिइनन् । तर जीवन संघर्ष गर्नेहरुकै पक्षमा हुन्छ भन्ने बुझेकी कमलाले केही गरेर देखाउने आँट गरिन् ।
कमलाले पनि सुरुमा बुबा दलबहादुर दमाईले गरिरहेको सिलाई कटाईको काम रोजिन् । गैरसरकारी संस्थाको सहयोगमा केही दिनको सिलाई कटाई तालिम सिकेकी कमलाले बुबाकोे पुख्र्यौली पेशा सम्हाल्न पुगिन् । कमलालाई परिवार पाल्नका लागि सिलाई कटाईले केही आम्दानी त दियो तर सम्पत्तिका नाममा ऐेलानी एक कठ्ठा मात्रै जमिन भएको उनको परिवारलाई आर्थिक समस्या भने हट्न सकेन ।
वैकल्पिक आम्दानीको स्रोत पनि बनाउने उद्देश्यका साथ गाउँकै एक जनासँग दुई वटा बाख्राका पाठी लिएर (अधिया) पाल्न सुरु गरिन् । तर त्यो व्यावसायिक थिएन । परम्परागत रुपमा घर चलाउनका लागि दुईवटा बाख्रापालन गरेकी कमलालाई मानव कल्याण तथा संरक्षण केन्द्रले दुई बर्षअघि सीड कार्यक्रमअन्तर्गत अनुदानमा बाख्रापालनका लागि ५० हजार रुपैयाँ सहयोग गरेपछि यतिबेला उनको जीवन नै बद्लिएको छ ।
घर व्यवहार चलाउनका लागि बाख्रापालन रोजेकी कमला त्यही ५० हजार रुपैयाँको सहयोगमा उद्यमी बनेकी छिन् । सहयोग रकमबाट एउटा बोयर र एउटा लाम्काने जातका बाख्रासहित ६ बाख्रा किनेर बाख्रापालन सुरु गरेकी कमलाले दुई बर्षको अवधिमा ६ वटा बाख्राबाट ३० वटा बाख्रा पु¥याएकी छिन् । यसैवर्षको दशैमा मात्रैै ६ वटा खसी बिक्री गरेर डेढ लाख रुपैयाँ आम्दानी गरेको उनी बताउँछिन् ।
‘दुई वटा बाख्रा अधियामा ल्याएर बाख्रापालन सुरु गरेको थिएँ । पछि मानव कल्याणले दिएको ५० हजार रुपैयाँबाट ६ वटा बाख्रा किनेर व्यावसायिकरुपमा पाल्न सुरु गरे’, कमलाले भनिन्– ‘६ वटा बाख्राबाट सुरु गरेको थिएँ, अहिले साना–ठूला गरेर ३० वटा बाख्रा तथा खसीहरु पुगेका छन् ।’ ३० वटामध्ये ७ वटा खसी बिक्रीका लागि तयार भएको उनले बताइन् । त्यसैगरी १४ माउँ बाख्राहरु रहेका छन् भने अन्य बोका तथा पाठाहरु रहेका छन् ।
व्यावसायिक बाख्रापालनबाटै आयआर्जन गरेर जीवन चलाउने सोच बनाएकी कमलाले व्यवस्थितरुपमा बाख्रापालनका लागि खोर बनाएर बाख्रापालन गर्ने उद्देश्य रहेको बताइन् । ‘गाउँमा पैसाका लागि देशका विभिन्न ठाउँदेखि विदेशसम्म जाने गरेका छन् । तर मैले घरमै बाख्रापालन गरेर राम्रो आम्दानी गरिरहेको छु’, उनले भनिन्– ‘घरमै बसेर बाख्रापालन गरेर आम्दानी गर्दा खुशी छु ।’
बाख्रापालनका लागि सहज भए पनि गाउँमा बीमा गर्ने व्यवस्था नहुँदा समस्यामा रहेको उनले बताइन् । छोरीको मेहनतबाट आफूहरु सन्तुष्ट रहेको आमा अमृता परियारले बताइन् । ‘छोराहरु कमाउनका लागि इण्डिया गएर बुबाआमालाई बिर्सिएका छन्’, उनले भनिन्– ‘तर छोरीले घरमै बसेर व्यावसायिकरुपमा बाख्रापालन गरेर राम्रो आम्दानी गरेकी छ । घर व्यवहार चलाएकी छ । छोरीको कामबाट हामी खुशी छौँ ।’
कार्यक्रमको अनुगमन
यसैबीच मानवकल्याण तथा संरक्षण केन्द्रले राजपुर गाउँपालिकामा सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको अनुगमन गरिएको छ । मानवकल्याण तथा संरक्षण केन्द्र सीड कार्यक्रमअन्तर्गत राजपुर गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएका उद्यम विकास, आयआर्जन तथा गाउँपालिकाका विभिन्न विद्यालयहरुमा लागू गरिएको स्थानीय पाठ्यक्रमको बारेमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा बाख्रापालन, च्याउखेती, तरकारी खेतीसँगै साधारण माध्यमिक विद्यालयमा सञ्चालन गरिएको स्थानीय पाठ्यक्रम सञ्चालनसम्बन्धी सञ्चालन गरिएको कक्षाको अनुगमन गरिएको थियो । अनुगमनको कार्यक्रममा संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।