मेरो खुशी : मनले रोजेको मान्छे पाउँदा …

समयको गतिसँगै उनी पनि दौडिरहेका थिए । उमेरले १६ वर्ष टेक्दै थिए शशिराम गिरी । त्यो बेलासम्म उनी ‘मुसाफिर’ नै थिए । स्कूल जाने, घुम्ने र खासै जिम्मेवारीको भारी बोक्नु परेको थिएन । एक्लो जीवन भएर खासै जिम्मेवारीको भारी थिएन । सामान्य परिवार भए पनि बाबुको रोजगारीले राहत नै दिएको थियो । पहाडी भूगोल, त्यही भूगोलमा हुर्के ।

गाउँघरमा हुने नाँचगान उनको उपस्थिति प्रायः नै हुने गरेको थियो । नाँचगानमा उनको महत्वपूर्ण भूमिका थिएन तर उनको गोलो अनुहार भने प्रायः उपस्थित नै हुने गरेको थियो । नाँचगानमा जानुको एउटा स्वार्थ थियो, मायालुसँगको साटगाँठ । छिमेकी गाउँकी अमृतामा उनको नजर थियो । उनले गोठालोदेखि मेलापात र नाँचगानमा उनलाई पछ्याउने गर्दै आएका थिए । उनको लगाव र प्रेमलाई अमृताले पनि ग्रिन सिग्नल दिएर अंकुराउनको लागि मलजलको काम भने राम्रै गरिन् । ‘प्रेम प्रस्ताव कसले राख्यो, त्यो एकिन छैन तर त्यो बेलाको समय र वातावरण त्यस्तै थियो’, गिरीले भने, ‘सायद दुवैले मन पराएर होला आज हामी यो ठाउँमा छौँ ।’

अमृताको प्रेममा उनी त्यति पागल भने भएका थिएनन् तर उनले मनमस्तिष्कमा भने अमृताको नामको प्रेम भने मजाले रोपेका थिए र हुर्काउने काम समेत गरेका थिए । केही समयसम्म दुवैले प्रेमलाई हुर्काउने काम गरे, त्यो पनि लुकी–लुकी भेटेर । २०५७ साल साउन १८ मा आफैले रोपेको प्रेमलाई सबैको ठाउँमा सावर्जनिक गरे, त्यो पनि विवाहमा परिणत गरेर । ‘लामो समय लुकाएर नै राख्यौँ, लुकेर नै भेटघाट ग¥यौँ, त्यो पनि नाँचगान र मेलापातमा तर साउन १८ मा भने सावर्जनिक रूपमा विवाहमा परिणत गर्न सफल भयौँ, त्यो नै मेरो जीवनको पहिलो खुसी हो’, उनले भने ।

यो पंक्तिकारले विवाहमा के खुसी लुकेको थियो भन्ने प्रश्नमा उनले गफिँदै भने, ‘जीवनमा रोजेको मान्छे प्राप्त गर्दा खुसीको सीमा नै फरक हुने रहेछ । त्यो मैले त्यही दिन नै फेला पारेको थिए ।’ अमृता उनको जीवनमा जोडिएपछि उनले तीन सन्तान दिइन । उनका तीन छोरा छन् । जेठो र माइलो छोराले सदरमुकामको कलेजमा व्याचलर र प्लस–टुमा र कान्छोले गाउँमै १० कक्षामा पढदै छन् । सन्तानको प्रगतिमा पनि उनि सन्तोष नै छन् ।

अमृतालाई विवाह गरेर घरमा भित्राएपछि उनको जीवन पनि उकालो नै छ । अधिकांश क्षेत्रमा उनले सफलता नै प्राप्त गरेका छन् । गाउँमै उनले सैघाली राइस मील नै स्थापना गरेका छन् । त्यो पनि उनको लागि खुसीको क्षण नै छ । विगतमा उनले गाउँमा हावाबाट मिल चलेको देखेका थिए । तर त्यो धेरै चलेन । गाउँमा मिल नहुँदा घोराही बजारसम्म कुटान पिसानको लागि आउने बाध्यता थियो तर त्यो समस्या अहिले समधान भएको छ । गाउँमा विद्युत गएपछि मिल नै चलाएका छन् । त्यो राम्रोसँग चलेको छ ।

आम्दानी पनि राम्रो नै छ ।गाउँलेले आजभोलि मिल मालिकको उपाधि नै दिएका छन् । त्यो पनि जीवनमा खुसीको क्षण भएर बसेको उनले बताए । गाउँमै उनले गिरी बाख्रा फर्म समेत खोलेका छन् । फर्ममा झण्डै १ सय २० वटा बाख्रा पालेका छन् भने टेक्टर किनेर गिरी ढुवानी सेवा समेत दिएका छन् । बाख्रा फर्मबाट पनि राम्रो आम्दानी छ । त्यसले पनि उनीमा खुसी दिने गरेको छ । ‘कर्म गरेपछि फल प्राप्ति नै हुन्छ’, उनले भने, ‘त्यो पनि मैले पाउँने गरेको छु ।’

विगतमा आप्mनै सदरमुकाम पनि उनलाई टाढै लाग्ने गरेको थियो । घोराही बजार आउन उनले दुई घण्टा पैदल नापेर आउने गरेका थिए । फर्कने बेला त्यो भन्दा पनि धेरै समय उनलाई लाग्ने गरेको थियो तर आजभोलि ३५ मिनेटमा सदरमुकाम आउने गरेका छन् । टिभिएसको आरटिआर मोटरसाइकलको साथले त्यो दूरीमा लाग्ने समय घटाउने काम गरेको छ । ‘सदरमुकामको बजार नजिकै लाग्छ । यो समयको मागअनुसार हिडनु नै पर्ने भयो’, उनले भने, ‘यो पनि एउटा खुसीको क्षणको रूपमा नै छ ।’

२०७४ सालको स्थानीय चुनाव उनलाई फापेन । वडा सदस्यको उम्मेदवार बन्दा उनले चुनाव जित्न सकेनन् । अरु सबैले चुनाव जिते र तर उनले मात्र चुनाव हारे । चुनाव हारेसँगै उनी गाउँमै बसेर उद्यम र सामाजिक क्षेत्रको अगुवाइमा भने सक्रिय नै भए । गाउँको सैघाली कृषि सहकारी संस्थाको अध्यक्ष भएर काम थाले भने जनउत्थान मूल समितिको अध्यक्ष समेत छन् । मूल समितिमा २१ समूहका ४ सय ४३ परिवार आबद्ध छन् । त्यसको नेतृत्व उनैले गरेका छन् । ‘यो पनि मेरो लागि खुसीको क्षण हो । सबैले विश्वास गरेर नेतृत्व दिनुभएको छ’, उनले भने ‘यो बाट पनि समाज रूपान्तरको काम भएको छ ।’

२०४१ साल असोज २७ गते बुवा तोयानाथ गिरी र आमा रुकुमा गिरीको पहिलो सन्तानका रूपमा उनको जन्म भएको थियो । उनका दुई भाइ र एउटा बहिनी छन् । गाउँकै होडवाङ माविमा कक्षा ८ सम्म अध्यन गरे, औपचारिक शिक्षामा पूर्णविराम लगाए । उनी अहिले त्यही विद्यालयको विव्यसका अध्यक्ष समेत छन् । उनको जीवन पनि सरल र वक्ररेखामै छ । जीवनका दुवै रेखामा उनीसँग केही न केही क्षणहरू छन् । जीवन वक्र वा सरलरेखामा चल्दा उनले जीवनको सुदूर नै देख्ने गर्छन् र, भन्छन्, ‘त्यही भएर जीवन खुसी नै छ । जीवनमा अधिकास खुसी नै भेट्ने गरेको छु ।’

प्रस्तुती : इन्द्र डि.सी.