मौलिक संस्कृति र संस्कार कता मोडिँदै छ ?

नारायणप्रसाद श्रेष्ठ
जीवनको गतिशीलतालाई स्वाभाविक र सरल रुपमा परिचालन गर्ने सशक्त आधार भनेको राष्ट्रले अंगीकार गरेको संस्कृति र संस्कार नै हो । जुन समय परिस्थिति र वातावरणमा जस्तो किसिमले जीवनलाई गतिशील बनाउनुपर्ने हो त्यसलाई संस्कार र संस्कृतिले सोही अनुकूल डो¥याइ पनि रहेको हुन्छ । अहिले हाम्रो आचरण र व्यवहारमा देखिएको परिवर्तन र वृत्तिविकास यही संस्कृति र संस्कारको उपज हो ।

जहाँ जुन समाजको संस्कृतिमा आदतार्थी विचारले सम्बोधन गर्ने परिस्थितिको सिर्जना हुन्छ, त्यहाँ त्यो समाज सधैँ सकारात्मक परिवेश अनुकूल व्यवहार र आचरणमा प्रदर्शित भइरहेको हुन्छ । विचारमा संयमता, कर्ममा धीरता र निरन्तरता, वचनमा पवित्रता, व्यवहारमा नम्रता यी सबै संस्कृति र संस्कारले सिकाइएका हाम्रो मर्यादित जीवन पद्धतिको आधार हुन् । त्यसैले संस्कृति र संस्कारमा रहेका यिनै गुणलाई जीवनको अभिन्न अंग बनाइ गतिशील बनाउने सोच सबैमा हुन जरुरी छ । यसको लागि हामीले युगौँदेखि सिक्दै आएको संस्कारयुक्त मान्यता र आदर्शलाई कहिल्यै भुल्नु हुँदैन ।

मौलिक संस्कार र संस्कृति हाम्रो जीवनशैलीको प्रमुख आधार हो । संस्कार बिनाको जीवन र संस्कृतिबिनाको आचरण मानव जीवनको लागि दुर्भाग्य मान्नु पर्छ । तसर्थ, समय, परिस्थिति र अवस्थाअनुसार सामाजिक मर्यादा कायम गर्दै मानवीय जीवनले निर्वाह गर्न खोजेको दायित्वलाई आत्मसात गरेर जीवनलाई गति दिनुपर्छ । यसको लागि विचार संप्रेषण गर्दा हामीले निर्वाह गर्दै आएका हाम्रो संस्कृति र संस्कार, रीतिरिवाज मान्यतामा प्रेमभाव जागृत हुने गरी अनुकूल चिन्तन गर्दै अगाडि बढ्न सक्नुपर्छ । प्रत्येकले प्रत्येकप्रति आत्मविश्वास बढाउँदै विविधतामा एकता कायम गरेर अघि बढ्ने संकल्प गर्नुपर्छ ।

अहिले हाम्रो आचरण र व्यवहारमा आएको परिवर्तनलाई सरसर्ती हेर्ने हो भने हामी आफैले पतनउन्मुख बनाउँदै लगेको देखिन्छ । विचारमा निरंकुशता, कर्ममा स्वार्थता, व्यवहारमा क्रुरता र हेराइमा हिंसात्मक प्रवृत्ति यी सबै हामी आफैले आफैप्रति अंगीकार गर्दै आएको गलत मानसिकताले उपाजेका व्यवहार हुन् । यसरी हाम्रो व्यवहार र चिन्तनमा आएको स्वार्थीपनका कारण अहिले हामी छाडाप्रवृत्ति उन्मुख आफ्ना मौलिक संस्कृति बिर्सँदै गएका छौँ । विचार संप्रेषण गर्दा निहित स्वार्थ पूर्ति गर्ने चिन्तन नै यसका प्रमुख कारक हुन् ।

वास्तवमा हामीलाई हाम्रो संस्कारले यस्तो गलत प्रवृत्ति अनुकूल आचरण गर्न कहिल्यै सिकाएन । यो त केवल केही गलत छद्मभेषी तत्वको गलत निर्देशन र नजीरका कारण मानिसको विचारमा स्खलन आएको हो । त्यसैले यस्तो प्रवृत्तिको अन्त्य गरी हामीले हाम्रो संस्कृति र संस्कारले सिकाएको उचित गन्तव्यतर्फ हाम्रो आचरण र व्यवहार गर्दै अगाडि बढ्नुपरेको छ । गलत आधारमा निर्माण भएका सामाजिक बन्धनलाई तोडेर क्षणिक लोभ र मोहमा आकर्षित हुने हाम्रो आचरण स्वयम् पतीत हो भन्ने सोची छोड्नुपर्छ ।

हुन त २१औँ शताब्दीको वर्तमानले समयसापेक्ष परिवर्तन गर्ने नाउमा विविध किसिमले मानिसको स्वतन्त्रताप्रति अप्ठेरो परिस्थिति सिर्जना नगरेको पनि होइन । विविध किसिमले संस्कारगत मान्यता स्थापित गर्न नखोजेको पनि होइन । तथापि, हामीले अंगीकार गर्दै आएको सामाजिक मर्यादा अनुकूल परिवार, समाजमा युगौँदेखि हुर्कँदै आएको हाम्रो आदर्श कदापि भुल्नु हुँदैन । आदर, सम्मान र अनुशासनलाई जीवनको मार्गनिर्देशकको रुपमा अंगीकार गर्दै आएको हाम्रो आदर्शलाई कहिल्यै बिर्सनु हुँदैन ।

‘भाइ फुटे गवाँर लुटे’, भनिन्छ, त्यस्तै ‘जहाँ पातलो हुन्छ त्यहाँ प्वाल पर्छ’, पनि भनिन्छ । त्यसैगरी यदि सामाजिक आदर्श र अनुशासित जीवनशैलीमा पातलोपन देखापर्न सुरु गर्दछ भने मनस्थिति कमजोर बन्ने परिस्थिति पैदा हुन्छ । तब सम्झनु पर्दछ, हाम्रो अचरण हाम्रो संस्कारभन्दा अलग भएर अगाडि बढ्दै छ । यदि यो यस्तो भयो भने यहाँ प्वाल पर्ने सम्भावना बढेर जान्छ । जसको फलस्वरुप जीवन पद्धतिमै प्रश्न उठ्ने स्थिति पैदा हुन्छ । हाम्रो पारिवारिक जीवनशैलीमा उतारचढाव हुनजान्छ ।

सामाजिक क्षेत्रमा शक्तिको रुपमा रहेको पारिवारिक जीवन यस्तो शक्ति हो, जसले जीवनशैलीमा नै प्रत्यक्ष असर पु¥याइरहेको हुन्छ । जीवनले सिक्ने र सिकाउने कुरा सिकाइरहेको हुन्छ । आचरण र व्यवहारबाट प्रदर्शन गरिरहेको हुन्छ तर यदि आपसी सम्बन्धमा बाँधिएको पारिवारिक जीवनमा कलहको वातावरण सुरु हुन्छ तब नवप्रतिभाको दिमागमा गलत नजीर बस्न पुग्छ । जसको फलस्वरुप लोभ, मोह र स्वार्थले आपसी द्वन्द्वको सिर्जना हुन पुग्छ । विचारमा स्वार्थ टक्राउन गई जीवनमा अहंकारको रुप पैदा हुने अवस्था आउँछ ।

त्यसैले परिवारमा ल्याउने यस्तो गलत संस्कारको कारण मानिसमा बढ्ने नैराश्यता र अहंकारपन हटाउन हाम्रो मौलिक संस्कृति र संस्कारले सिकाएको मेलमिलाप र सौहार्दको वातावरणलाई अगाडि ल्याउन सक्नुपर्छ । परिवार र समाजमा कहिले आरोह र कहिले अवरोह ल्याउने भनेको परिस्थितिलाई नबुझ्दा र संस्कृतिले देखाउन खोजेको मर्मलाई नबुझ्दाको कारण हो । यही परिवेशलाई बुझ्न नसक्ने आचरणले नै मानिसलाई कलुषित बनाइरहेको हुन्छ । अर्को कुरा परिवार हाम्रो साझा शक्ति हो भनी नबुझ्नाले बनेको एकल परिवारभित्रको शक्ति कमजोर हुन्छ भन्ने कुरो हामीले बुझ्नु पर्दछ ।

यस्तो सामाजिक संस्कार बढ्न गयो भने हाम्रो शक्ति कमजोर होला, नहोला ? अहिले परिवार समाजमा गलत संस्कृतिको विजारोपण गरिँदैछ । फलस्वरुप परिवार भिन्न–भिन्न हुँदै टुक्रिँदै गएको छ । विचारमा मतभेद देखापर्दैछ । तेरो र मेरो, ठूलो र सानो भनी जात, धर्म र कर्ममा भेद बढ्दैछ । यस्तो अवस्था आउनु भनेको हाम्रो संस्कृति र संस्कारमा प्रश्न उठ्नु हो । यो निकै चिन्ताको विषय पनि हो । अधिकार र कर्तव्यको नाममा छाडाप्रवृत्तिलाई प्रश्रय दिइ जे मन लाग्यो त्यो गर्ने र जथाभावी विचार संप्रेषण गरी अरुले थापेको मोहमा धकेलिँदै जानु भनेको हाम्रो सामाजिक मूल्य र मान्यतालाई ठेस पु¥याउनु हो ।

सामाजिक पद्धतिभित्र देखापर्ने यस्ता प्रवृत्तिलाई यदि समयमै निराकरण गर्नतर्फ नलाग्ने हो भने हाम्रो मौलिकता कहाँ गुम्ने हो ? अतः सामाजिक पद्धतिमा देखिने कुरीति र अहमवादी चिन्तनलाई क्रमशः परिवर्तन गर्दै असल संस्कारको स्थापना गर्न र मन, बुद्धि र विवेकमा सकारात्मक भाव जागृत गर्न जरुरी छ । सामाजिक सद्भाव भनेकै आपसी मेल र भाइचाराको अभिवृद्धि गर्नु हो । एकले अर्काको सहयोगी बनी सामाजिक पर्यावरणलाई असल गोरेटोमा लैजानु हो । तसर्थ, प्रत्येकले प्रत्येकलाई गर्नुपर्ने व्यवहार भनेको अनुशासित जीवनशैली हो भनी मन, वचन र कर्मले आफूभित्रको कलुषित विचार परित्याग गरेर सेवाभावमा समर्पण रहने संकल्प गर्नुपर्छ ।

विश्वास र भारोसामा जीवनलाई गतिशील बनाउनु पर्छ । अरुको भलाई गर्न चाहने मनले कहिल्यै पनि अपमानित हुनु पर्दैन भन्ने बुझी सत्यले सधैँ सत्यको उजागर गरिरहेको हुन्छ भन्ने सत्य बुझेर मनभित्रको कलुषित विचार परित्याग गर्नुपर्छ । समुद्रमा एउटा माछाले जति नै छलाङ लगाए पनि ऊ त्यही भित्र घुमिरहन्छ, समुद्रलाई कुनै असर पर्दैन । त्यसैगरी जसले संस्कृति र संस्कारमा गलत नजीर बसाल्न खोज्छ त्यो आफै बिग्रनसक्ने सत्य कदापि भुल्नु हुँदैन । त्यसैले सामाजिक विभेदको रुपमा देखापर्ने गलत नजीरलाई वास्ता नगरी असल संस्कारी बन्ने प्रतीज्ञा गरौँ । संस्कृति र संस्कार हराइ भौँतारिनुभन्दा आफ्नै मौलिकपन र अभ्यासलाई अझ परिमार्जित गर्दै नेपाल र नेपालीको गौरवगाथामा अभिछिन्न गति दिने संस्कारी बनौँ । यो वर्तमानले खोजिरहेको छ ।