सामाजिक अभियानमा युवाको क्रियाशीलता बढाउन मेरो उम्मेदवारी : केसी
तुलसीपुर उपमहानगरपालिका ४ मा जन्मिएका सानै उम्मेरमा तुलसीपुर क्षेत्रमा सामाजिक तथा युवा व्यवसायीका रूपमा परिचित युवा व्यवसायी केशवराज केसी व्यवसाय सँगै विभिन्न क्षेत्रमा क्रियाशील भएर लागेका छन् । वि.सं २०४६ सालमा जन्मिएका केसी तुलसीपुर नगरजेसीजमा वर्ष २०१५ मा साधारण सदस्य हुँदै वर्ष २०१६ मा सहसचिव, वर्ष २०१७ मा उपाध्यक्ष, वर्ष २०१८ मा अध्यक्ष सल्लाहकार, वर्ष २०१९ मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०२० मा महासचिव र वर्ष २०२२ को अध्यक्ष भए ।
यही पुस ७देखि १० गतेसम्म वीरगञ्जमा जेसीजको ४९औँ महाधिवेशन हुँदैछ । देशभरि रहेका १ सय ७४ शाखामध्ये अध्यक्षमा ६ जना, कार्यकारिणी उपाध्यक्षमा १० जना र उपाध्यक्षमा १९ जनाको उम्मेदवारी रहेको छ । जेसीज समितिमा एक अध्यक्ष, ४ कार्यकारी उपाध्यक्ष र १२ जना उपाध्यक्ष रहने प्रावधान छ । जेसीज अभियान, तुलसीपुर नगरजेसीज र अब राष्ट्रिय उपाध्याक्ष पछिको भावि कार्यक्रम तथा जेसीजको अभियानबारे केशवराज के.सीसँग गोरक्षले गरिएको कुराकानीको सार संक्षेप ।
यहाँलाई सातावार्तामा स्वागत छ ।
मेरा र जेसीजबारे केही कुरा राख्ने अवसर दिनुभएकोमा तपाईँ अनि तपाईँको पत्रिकालाई धेरै धेरै धन्यवाद ।
कसरी र कहिलेबाट जेसीजमा लाग्नुभयो ?
म सानैबाट सामाजिक कामदेखि विभिन्न क्रियाकलापमा सरिक हुने गरेको थिएँ । म स्कूल बढ्दादेखि नै मेरो रुचि भनेको समाज सेवा नै थियो । मैले सामाजिक संघसंस्थाहरूको बारेमा जानकारी राख्ने र उनीहरूको क्रियाकलापहरू नजिकबाट बुभ्mने गरेको थिएँ । त्यसमा पनि जेसीजजस्तो पवित्र युवाहरूको सामाजिक संस्थामा म लाग्न किन प्रेरित भएँ भने जेसीज युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो ।
जेसीजमा लागेर केही सेवा गर्नुपर्छ भन्ने भावनाले म तुलसीपुर नगर जेसीजमा वर्ष २०१५ बाट आबद्ध भएको हुँ । साथीभाइहरू पनि यसमा आबद्ध भएको र मैले जेसीजले गरेका क्रियाकलापहरू नजिकबाट नियालेकाले म यो अभियानमा लागेको हुँ । म २०१५ देखि आफू जेसीजमा आबद्ध हुँदै वर्ष २०१६ मा जेसीजको सहसचिव बनेँ, २०१७ मा उपाध्यक्ष, २०१८ मा अध्यक्ष सल्लाहकार, २०१९ मा कार्यकारी उपाध्यक्ष, २०२० मा महासचिब, २०२१ मा बोर्ड सल्लाहकार र २०२२ मा अध्यक्ष बनेको हँु । युवाहरूमा नेतृत्व विकाससँगै क्षमता विकासका लागि जेसीज अपरिहार्य सामाजिक संस्था भएको मैले आत्मैदेखि महसुस गरेर जेसीजमा लागेको हुँ । मलाई लाग्छ जेसीजले मलाई सामाजिक अभियन्तासँगै सफल व्यवसायी पनि बनाएको छ ।
जेसीज संस्था के हो र यसले के काम गर्दछ ?
जेसीज १८ वर्षदेखि ४० वर्षसम्मका सकारात्मक सोच भएका युवाहरूको तालिमको महाविश्वविधालय हो । जेसीजले खास गरी विभिन्न ४ क्षेत्रहरूमा काम गर्छ जस्तै भनौँ ः व्यक्तिगत क्षेत्र जसमा विभिन्न तालिममार्फत् युवाहरूको व्यतित्व र नेतृत्व विकास गर्ने अवसर प्रदान गरिन्छ । यसैगरी सामुदायिक क्षेत्रअन्तर्गत युवाहरूलाई विभिन्न कार्यक्रमको सामाजिक अभियानको संयोजकको भूमिका निभाउने मौका दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्न सिकाइन्छ ।
यसैगरी व्यवसाय क्षेत्रअन्तर्गत युवाहरूलाई विभिन्न पेसा, व्यवसायमा लाग्न उत्प्रेरित गरिन्छ । पेसा व्यवसायलाई कसरी मार्केटिङ गर्ने, कसरी मुनाफा आर्जन गर्न सकिन्छ भनेर सिकाइन्छ र कुशल व्यवसायी बनाउन पनि जेसीजले प्रेरित गर्दछ भने अन्तिममा जेसीजले अन्तर्राष्ट्रिय क्षेत्रअन्तर्गत देश तथा अन्य देशका युवाहरूसँग भाइचाराको सम्बन्ध स्थापित गर्न मद्दत पु¥याउनुका साथै सहयोग आदानप्रदानमा टेवा पु¥याउँछ । जेसीजले सबै क्षेत्रका युवाहरूलाई समेटेको छ र यसले खास गरी नेतृत्व र व्यक्तित्व नै विकास गर्छ ।
नगर जेसीजले के–कस्ता अभियानहरू सञ्चालन गरेको छ ?
पहिला आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न किसिमका तालिमहरू सञ्चालन गरेका थियौँ । जेसीजमार्फत् हामीले युवाहरूलाई विभिन्न तालिममार्फत् नेतृत्व, व्यक्तित्व विकास गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत् समाजमा आइपर्ने जस्तोसुकै समस्याहरूलाई पनि सहज बनाउने काम गरिरहेका छौँ ।
पहिले खास गरी कोभिडबाट बच्ने र बचाउने अभियान, बिरामीलाई रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम, निःशुल्क शिक्षण, सरसफाई, सचेतनालगायतका विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ । त्यस्तै जेसीजले यस क्षेत्रमा हुने विभिन्न काममा साझेदारीको भुमिका पनि हामी लेनिर्वाह ग¥यौँ । सहकार्य गरी संघसंस्था र विभिन्न व्यक्तिहरूबीच भाइचाराको सम्बन्ध स्थापित गरी युवाहरूलाई विभिन्न क्षेत्रमा चिनाउने काम गरेको छ ।
सन् २०२३ राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ, तपाईँको अबको भावि योजनाहरू के–के छन् ?
युवा भनेको वायु हो, ती युवाहरूलाई राम्रोसँग परिचालनका लागि तालिम, सबै युवाहरूलाई जेसीजसँग जोडिने वातावरण सिर्जना गर्ने सबै सामाजिक संघसंस्थासँग समन्वय गर्दै यहाँको युवाहरूलाई उद्यमशील बनाउने मेरो उम्मेदवारी हो । मैले गरेको काम सबै जेसीजका मित्रहरूले देख्नु भएको छ । मैले तुलसीपुर नगर जेसीजमा हुँदा प्रभावकारी रूपमा भूमिका निर्वाह गरेको छु ।
त्यसैले पनि मैले राष्ट्रिय उपाध्यक्ष जित्न सक्छु भनेरै सबैले विश्वास गरेर समर्थन गर्नुभएको छ । म देशभरका विभिन्न शाखाहरूमा पुगेको छु, शाखाहरूले पनि मलाई समर्थन गर्नुहुने छ । जेसीजमा एक व्यक्ति एकपद एक कार्यकाल भएकाले राष्ट्रिय उपाध्यक्षमा समकालीन सम्बन्ध, समन्वय र सहकार्यमार्फत सन् २०२३ लाई जेसीज स्वर्णिम वर्षका रूपमा अगाडि लैजानेछु । जेसीजले नेतृत्व विकास, समुदाय, व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा जेसीजले काम गर्ने र म चुनिए युवा नेतृत्व, व्यक्तित्व विकासका नीति कार्यक्रमलाई सफल पार्न भूमिका निर्वाह गर्नेछु ।
जेसीज युवाहरूको नेतृत्व र व्यक्तित्वको विकास गर्ने संस्थाको रूपमा चिनिन्छ, त्यस अभियानलाई कसरी सार्थकता दिनुहुन्छ ?
हो, मैले अघि पनि भने जेसीजले विभिन्न कार्यहरू गर्दै आएको छ र गर्ने पनि छ । हामीले जेसिजमार्फत विभिन्न तालिम, गोष्ठी, सेमिनारमार्फत् युवाहरूको क्षमतालाई अझ प्रष्फुटन गराउँछौँ र विभिन्न कार्यक्रमहरूको आयोजना गरी युवाहरूलाई नेतृत्व प्रदान गर्दै तिनीहरूको नेतृत्व, व्यक्तित्व विकास गर्छौँ ।
तुलसीपुर नगर जेसीजले सबैलाई समेट्न सकेन भन्ने गुनासो छ नि, सबैलाई समेटेर कसरी लैजाने सोचमा हुनुुहुन्छ ?
सबै अट्ने मन, जेसीज बन्धुत्व स्थापित गर्ने संस्थ हो । हामी कहीँकतै कुनै कुरामा विचलित नभइ यस क्षेत्रका हरेक युवाहरू एउटा किसानको छोरा होस्, शिक्षक, व्यापारी, सरकारी निकायमा काम गर्ने सबै यस संस्था अट्नुभएको छ र जो जेसीजका आस्था बुझ्नुभएको छ । उहाँहरूको निरन्तरता संस्थभित्र रहेको छ । जसले आफूलाई क्षमतावान् बनाउनका लागि आस्थाभित्र रहेर काम गर्नुहुनेछ ।
अन्त्यमा केही भन्नु छ ?
म तपाईँ र तपाईँको लोकप्रिय पत्रिकालाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । सम्पूर्णलाई मलाई मेरो र जेसीजको बारेमा केही कुरा राख्ने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु । अन्त्यमा म सम्पूर्ण युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास गर्दै एउटा असल लिडर, व्यवसायी बन्न जेसीज अभियानमा आउन आह्वान गर्दछु । मलाई राष्ट्रिय उपाध्यक्षमा सबैले सहयोग गरी विजयी गराउन आह्वान गर्दछु ।
सबैलाई धन्यवाद दिन चाहन्छु । साथै म जेसीजको उपाध्यक्षको उम्मेदवार बनिरहँदा मैले नेपालभरका धेरै शाखाका साथीहरूलाई पनि मतदानका लागि आग्रह गर्न चाहन्छु । ज–जसलाई मैले भेटेँ उहाँहरूले पनि मलाई उम्मेदवार बन्न आग्रह गरिसक्नुभएको छ । भेट्न छुट भएका साथीहरूले पनि मलाई उपाध्यक्षमा मत दिएर एउटा सामाजिक अभियानमा सफल बनाउन सहयोग गर्नुहुने छ भन्नेमा पनि विश्वस्त छु । नेपाल जेसीजको गरिमा बढाउनु मेरो प्रमुख दायित्व हुनेछ ।
