गोरक्ष समाचारदाता
लालमटिया (दाङ) २९ मंसिर । दुई बर्ष दुई महिनाअघि प्रदेशसभाले निर्णय गरेको स्थायी राजधानी कार्यान्वयनको घोषणासभाका दिन देउखुरी पुरै उत्सवमय बनेको छ । अमिलियादेखि कालाकाँटेसम्मका बस्तीहरुमा दर्जनौं राजधानी स्वागतद्वार निर्माण गरिएका छन् । घोषणासभामा बस्ती–बस्तीबाट स्वतःस्फूर्त रुपमा स्थानीय सांस्कृतिक झाँकीसहित शोभायात्रा र विविध जातीय सांस्कृतिक प्रस्तुतीहरु देखाइएका थिए ।
कार्यक्रममा घोराहीको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयका अनुयायीहरुको विशाल शान्तियात्रासहित खेल क्षेत्रका साना बालबालिकाले अचम्मको हाप्डीको प्रस्तुती गरेर राष्ट्रिय झण्डा फहराएका थिए । सो अवसरमा देउखुरी क्षेत्र मात्रै होइन, तुलसीपुर उपमहानगरपालिकाले लगेको मयुर नाच पनि निकै आकर्षक बनेको थियो । तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्षले त्यसको व्यवस्थापन गरेका थिए । राप्ती उपत्यकाका सांस्कृतिक झाँकीहरुको उत्साह अलि धेरै देखिन्थ्यो ।

राप्ती गाउँपालिकाका हरेक वडाहरुले थारु समुदायको झुम्का नाच, बड्का नाच, लठ्ठी नाचलगायतका प्रस्तुतीहरु देखाएका थिए । गढवा गाउँपालिकाले यादव समुदाय र मैथिली अबुधा समूहको सांस्कृतिक प्रस्तुती पनि रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीसमेत आफ्नै सांस्कृतिक पहिरनमा झुल्केकी थिइन् ।
त्यसैगरी राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकी र उपाध्यक्ष धनपती चौधरी आफै अग्रपंक्तिमा लागेर आफ्ना पालिकाका प्रस्तुतीहरु ल्याएका थिए । सबैभन्दा उल्लेखनीय सहभागिता राप्ती गाउँपालिकाका जनप्रतिनिधि प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरीलगायत सम्पूर्ण कर्मचारीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो ।

राप्ती गाउँपालिकाका गुरुङ समुदायको सांस्कृतिक तथा गढवाको पञ्चेवाजा संरक्षण समूहको प्रस्तुतीले पनि घोषणासभालाई उल्लासमय बनाएको थियो । त्यसैगरी लमही उपमहानगरपालिकाले पनि कार्यक्रममा उत्साहजनक रुपमा सांस्कृतिक प्रस्तुतीहरु देखाउन सक्षम थियो । अन्य पालिकाहरुको पनि अर्थपूर्ण सहभागिता रहेको थियो । सो अवसरमा विभिन्न विद्यालयहरु, महिला समूहहरु, आमा समूहहरु, सहकारी संस्थाहरुलगायत राप्ती उपत्यकाका धेरै संघसंस्थाहरुको स्वतःस्फूर्तरुपमा सहभागिता रहेको थियो ।