दाङ,२९ मंसिर । माउण्ट भ्यु इङ्गलिश बोर्डिङ स्कुल घोराहीले विज्ञान प्रदर्शनीको आयोजना गर्न लागेको छ । विद्यार्थीहरुलाई विज्ञान र प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले पुस १ गते विज्ञान प्रदर्शनीको आयोजना गर्न थालेको विद्यालयले जनाएको छ ।
विद्यालयको कक्षा ४ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, प्रविधि र वातावरणसँग सम्बद्ध सामग्रीहरु प्रदर्शनीमा राखिने विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । ‘विद्यार्थीहरुलाई विज्ञान र प्रविधिका बारेमा साक्षात्कार गराउने उद्देश्यले विज्ञान प्रदर्शनीको आयोजना गरेका छौं ।
कक्षा ४ देखि १२ कक्षासम्म अध्ययनरत हाम्रा विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, प्रविधि र वातावरणसँग जोडिएका सामग्रीहरु प्रदर्शनीका राखिने छन्’, प्रिन्सिपल पोखरेलले भन्नुभयो, ‘विज्ञान प्रदर्शनी अवलोकनका लागि अन्य विद्यालयका विद्यार्थीहरुलाई आमन्त्रण गरेका छौं ।’
बिहान ११ वजेदेखि दिउँशो ३ वजेसम्म हुने विज्ञान प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जितेका सामग्रीहरु राखिने र त्यसको प्रस्तुती राखिने प्रिन्सिपल पोखरेलले जानकारी दिनुभयो ।