लुम्बिनी प्रदेश सरकार स्थायी राजधानीमा

खेमराज रिजाल
लालमटिया (दाङ), २९ मंसिर । तात्कालीन ५ नं. प्रदेशसभाको दुई तिहाइ बहुमतले नामाकरण र तोकिएको स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीबाट विधिवत्रुपमा सञ्चालनमा आएको छ । प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन तथा ताम्रपत्रको अनावरण गर्दै आजका मितिदेखि लुम्बिनी प्रदेश सरकारका सबै कामकाज विधिवत्रुपमा देउखुरी उपत्यकामा स्थापित भएको स्थायी राजधानीबाट हुनेछन् ।

राप्ती उपत्यकाको राजधानी तोकिएका क्षेत्रका स्थानीयबासीसँगै स्थायी राजधानीको स्वागत पूर्वी नवलपरासी, पश्चिम बर्दिया तथा पूर्व रुकुमको पायक पर्ने स्थानमा राजधानी तोकिएकोमा प्रदेशवासीले गर्व गरेका छन् । राजधानी स्थापित हुने कार्यक्रममा देउखुरी पुरै उत्सवमय बनेको थियो । गौरवपूर्ण घोषणासभामा प्रदेशका बाह्र जिल्ला र १ सय ९ स्थानीय तहको सहभागिता रहेको थियो । त्यसमा केही प्रमुखहरुको अनुपस्थिति हुनुलाई स्वाभाविकरुपमा लिइएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डोत्तोलन तथा ताम्रपत्रको अनावरण गरेपछि आयोजित घोषणासभामा प्रमुख अतिथि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको कार्यान्वयन गर्दै तात्कालीन प्रदेशसभाको दुई तिहाई बमुहतबाट पारित स्थायी राजधानी कार्यान्वयनको सम्पूर्ण तयारी गर्ने प्रदेश सरकारका मुख्यमन्त्री, सांसदहरु, कर्मचारीहरुलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘अब देउखुरीको सम्पूर्ण समृद्धिको ढोका खुलेको छ, यहाँ कृषि, पर्यटन, पर्यावरणलगायतका धेरै समृद्धिका आधारहरु छन्, यसबीचमा तपाई देउखुरीबासीलाई थप जिम्मेवारी पनि आएको छ’, घोषणासभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेश प्रमुख शेरचनले भने । पिछडिएको देउखुरीको आधुनिकता र वैज्ञानिक विकासमा आफू पदमा रहे पनि नरहे पनि सधै सकारात्मक भूमिका निर्वाह गर्ने पनि उनको अभिव्यक्ति थियो ।

तर राजधानी घोषणा भएको उन्मादमा यहाँका जग्गाको भाउ अनावश्यकरुपमा बृद्धि गर्ने, कोठा भाडा चर्को लिने गरेमा राजधानी कार्यान्वयनको प्रक्रियामा निरन्तर ढिलाई भइरहने पनि उनले सुझाव दिए । ‘तपाईहरु भाग्यमानी हुनुहुन्छ तर तपाईको भूगोल त्यसै पनि भाग्यमानी थियो, त्यसैले अब जग्गाको मूल्य निर्धारण पनि सबै दल र सरोकारवाला मिलेर चाँडै निर्धारण गरिदिनुहोला अन्यथा दलालहरुले राजधानी निर्माणलाई पछि धकेल्नेछन्’, प्रमुख अतिथि शेरचनले भने ।

व्यवस्थित बसोबाससँगै भूउपयोग नीतिलाई सम्बोधन गर्न पनि उनले भ्याए । ‘मैले म्याग्दीमा कोदो दाइरहँदा मेरा पुर्खाहरुले देउखुरीबाट सह ल्याएस् भनेर भनेको झल्झल्ती सम्झेको छु, अन्नको भकारी यो क्षेत्रलाई बाँझो जमिन हुन नदिन पनि सबैको ध्यान जाओस् भन्ने चाहन्छु’, प्रमुख अतिथि शेरचनले भने । यहाँका स्थानीयबासीको पूर्ण सहयोग भएमा छिमेकी मुलुकहरु तथा दातृ निकायबाट अरबौं रुपैयाँ अनुदान सहजै प्राप्त भएर प्रदेश सरकारले निर्माण गरेको राजधानी गुरुयोजना कार्यान्वयनमा चाँडै आउने पनि उनको विश्वास थियो ।

मुलुकका केही प्रदेशले अझै पनि स्थायी राजधानी मात्र होइन, नाम समेत टुंगो लगाउन सकेका छैनन्, तर लुम्बिनी प्रदेश भाग्यमानी प्रदेश र धेरै सम्भावना बोकेको प्रदेश भएको पनि उनको अभिव्यक्ति थियो । यद्यपि यो खुसीलाई स्थायित्व दिन स्वयं देउखुरीबासीहरु गम्भीर भएर लाग्नुपर्ने पनि उनको सुझाव थियो । अब बन्ने प्रदेशसभाका सदस्यहरुले स्थायी राजधानीको गुरुयोजना कार्यान्वयनका सन्दर्भमा ठूला–ठूला निर्णयहरु गर्ने पनि प्रमुख अतिथि शेरचनको आशा थियो ।

राजधानी कार्यान्वयन घोषणासभामा अर्का अतिथि तथा प्रदेससभाका सभामुख पूर्णबहादुर घर्तीले राजनीतिमा जातीय, क्षेत्रीय, लैगिक मनोविज्ञान हुने भए पनि सबैलाई थाँती राखेर राजनीतिक निर्णयलाई कार्यान्वयन गर्नु प्रदेशसभाको प्रमुख दायित्व भएको बताएका छन् । उनले साविकको बुटवल मुकाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहँदा एउटा राष्ट्रिय झण्डा पनि नरहेको संयोग थियो । ‘हामी अब त स्थायी संरचनासहितको स्थानमा आएका छौं, यो प्रदेशसभा र आम प्रदेशबासीको गौरवको कुरा हो’, सभामुख घर्तीले भने ।

प्रदेशसभाले हचुवाका भरमा राप्ती उपत्यका देउखुरीलाई राजधानी नबनाएको भन्दै त्यसमा विभिन्न स्थानीय पालिकामा पुगेर नागरिकको सुझाव संकलन, विज्ञ समितिको राय सुझाव, विषयगत राजनीतिक समिति सबैको निर्णयले मात्रै देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी संविधानको धारालाई टेकेर दुई तिहाई बहुमतले निर्णय गरिएको पनि बताए । ‘यो कसैको विजय र कसैको पराजयको विषय होइन, लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ को कार्यान्वयन मात्रै हो’, सभामुख घर्तीले भने ।

अब प्रदेशसभामा हुने सधै अपायकको गुनासोलाई यो राजधानी कार्यान्वयनले सम्बोधन गरेको भन्दै सभामुख घर्तीले संविधानको भावनालाई कार्यान्वयन गर्दै स्थायी राजधानी निर्णय गर्ने प्रदेशसभा सदस्यहरुलाई विशेष धन्यवाद समेत दिएका छन् । उनले यो प्रदेश राजधानीलाई मुलुकका सबै प्रदेशमा उत्कृष्ट राजधानी बनाउन पनि सबैलाई आग्रह गरेका छन् । भव्य र सभ्य समारोहलाई सम्बोधन गर्दै लुम्विनी प्रदेशका मुख्य सचिव डा. दीपक काफ्लेले लुुम्बिनी प्रदेश सरकारको स्थायी राजधानीले यस प्रदेशका स्थानीयबासीलाई सेवा प्रवाहमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यो प्रदेशलाई स्मार्ट प्रदेश बनाउन यहाँको प्रशासनलाई पनि स्मार्ट बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा औपचारिकसभाका अध्यक्ष तथा मुख्यमन्त्री कुलप्रसाद केसीले एक साता मात्रैको तयारीले स्थायी मुकाममा आफ्नै भौतिक संरचनासहित कामकाजको अवसर जुटाएकोमा राप्ती उपत्यकाको देउखुरीबासीलाई धन्यवाद दिएका छन् । आफूले सधै जनमुखी काम गर्ने भन्दै उनले लुम्बिनी प्रदेशको राजधानीलाई देशकै नमुना योग्य स्मार्ट सिटी बनाउने पनि बाचा गरेका छन् । ‘मेरो सपथकै दिन मैले घोषणा गरेको थिएँ कि मेरो प्रदेशका मृगौलाका बिरामी, मुटुका बिरामी र क्यान्सरका बिरामी सबैलाई जनही २ लाख सहयोग दिने भनेर त्यसैले पनि हामी जनताको पक्षमा काम गर्दै जानेछौं’, मुख्यमन्त्री केसीले भने ।

जित्ने भनेको एक युगमा एक दिन एक क्षणको एक सेकन्ड मात्रै भएको भन्दै अहिले आफूहरुले जितेको बताएका छन् । जित्नका लागि अदम्य सहास हुनुपर्ने पनि उनको भनाइ थियो । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।