वर्तमान विश्वको परिदृश्य

भुवन पोख्रेल
विज्ञान र प्रविधिलगायत आमसञ्चारका साधनहरु, सामाजिक सञ्जाल तथा यातायातको सुविधामा आएको आमूल परिवर्तनसँगै सिंगो विश्व एक समुदायको रुपमा परिणत भएको छ । एक्काइसौँ शताब्दीमा विश्वव्यापीकरण वा भूमण्डलीकरण अझ व्यापक बन्दै गएको छ ।

भौगोलिक दूरीको हिसाबले टाढा–टाढा रहेका मानिस एवं समाजहरु एक–आपसमा नजिक भएको अनुभव गरेका छन् । भूमण्डलीकरणका कारण विकसित देशहरुको प्रभाव अविकसित देशहरुको सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका क्षेत्रहरुमा अझ बढ्दै गइरहेको छ । यसका कारण विभिन्न ठाउँका आफ्ना विशिष्ट मौलिकताहरु हराउँदै जान थालेका छन् । समकालीन विश्व परिवेश बदलिँदै जाँदा संसारको कुनै एक ठाउँमा देखिएको कुनै एक परिवर्तनको असर सजिलै अर्को ठाउँमा देखा पर्न थालेको छ ।

विश्वका अधिकांश मुलुकहरुमा अनेकखाले विविधताहरु विद्यमान रहेका छन् । वर्तमान विश्वलाई प्रतिविम्वित गर्ने केही विशेषताहरुले सन् २०१० को दशकको सुरुवातबाटै संसारका आधाभन्दा बढी मानिसहरु शहरमा बस्दछन् । शहरहरुको संख्या र सहरी जनसंख्या दिनप्रतिदिन बढ्दै गएको छ । अमेरिका, युरोप तथा एसिया महादेशहरुका मुलुकहरुलगायत अहिलेको विश्वका सबै देशहरुमा सहरीकरण व्यापक बन्दै गएको छ । बढ्दो सहरीकरणले गर्दा सर्वसाधारणको दैनिक जनजीवनमा आमूल परिवर्तन आएको छ ।

विश्वव्यापीकरण अहिलेको विश्वको अर्को प्रमुख विशेषता हो । विश्वव्यापीकरण बढ्दै जाँदा विश्व नै एउटा सानो गाउँका रुपमा साँघुरो हुँदै गएको छ । कुनै मुलुकको एक ठाउँको उत्पादन सजिलै विश्वको कुनै पनि कुनामा पुगेको छ । विश्वव्यापीकरणका कारणले नै गर्दा अहिले यातायात, सञ्चार, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा भएको विकाससँगै आर्थिक विकास र परनिर्भरताले गर्दा हामी संसारको जुनसुकै ठाउँमा रहेर सम्पूर्ण गतिविधिको बारेमा थाहा पाउन सक्छौं ।

वर्तमान विश्वका अर्को विशेषता बढ्दो बसाई–सराई हो । गाउँबाट सहरतर्फको आकर्षणले बसाई–सराईको दर बढ्दै गएको थियो भने हाल अन्तर्राष्ट्रि बसाई–सराईको प्रक्रियामा समेत व्यापकता देखिएको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी, सुविधा एवं अवसरको खोजीमा मुलुकभित्र राष्ट्रिय बसाई–सराई मात्र नभई अन्तर्राष्ट्रिय बसाई–सराईले विश्वका समाज एवं मुलुकहरुको जनसांख्यिक, सांस्कृतिक, आर्थिक, राजनीतिक परिदृश्य नै परिवर्तन हुँदैछ ।

वर्तमान विश्वमा प्रविधिको पहुँचमा विस्तार व्यापक रुपमा भएको छ । प्रविधिको परिवर्तन एवं विस्तारका कारण सञ्चार, स्वास्थ्य, शिक्षा, यातायातलगायत धेरै पक्षहरुमा आमूल परिवर्तनहरु आएका छन् । विश्वव्यापीकरणसँगै पुँजीवाद निकै शक्तिशाली बन्दै गएको छ । पुँजीवादी उत्पादन सम्बन्ध मजबुत बन्दै जाँदा समाजमा वर्गीय समानता अझ बढ्दै गएको छ । पुँजीवाद सशक्त बन्दै जाँदा समाज, सामाजिक सम्बन्ध र वैयक्तिक जीवनमा बहुआयामिक प्रभाव पारेका छन् । बढ्दो आधुनिकता, प्रविधिको विस्तार आदिका कारण व्यक्तिवादी प्रवृत्तिमा बढोत्तरी हुँदै गएको छ । आफ्नो फाइदालाई केन्द्रमा राखेर काम गर्ने प्रवृत्ति व्यापक बन्दैछ भने व्यक्तिहरुमा परिवार तथा नाता–सम्बन्धको प्रभाव कमजोर बन्दै गएको छ ।

बढ्दो विश्वव्यापीकरण र बसाई–सराईका कारण समाज एवं मुलुकहरु बहुसांस्कृतिक बन्दै गएका छन् । फरक–फरक सामाजिक तथा सांस्कृतिक विशेषता भएका मानिसहरुबीचको बढ्दो अन्तरघुलनले सामाजिक तथा सांस्कृतिक विशेषता भएका मानिसहरुबीचको बढ्दो सांस्कृतिक आदान–प्रदान भएको छ । उदाहरणका लागि जित, अमेरिका, अष्ट्रेलिया, क्यानेडा आदि मुलुकमा मनाउन थालिएको छ भने नेपाल, भारतलायतका मुलुकमा क्रिसमस–डे मनाउन थालिएको छ । विविधता मानवीय समाजको मुख्य विशेषता हो । वर्तमान विश्वमा रहेका समाजहरु नै एकअर्काबाट धेरै किसिमले भिन्न छन् ।

समकालीन विश्वमा भाषिक, धार्मिक, वर्गीय, लैंगिक, राजनीतिक प्रणालीगत विविधता मुख्यरुमा देख्न सकिन्छ । समाजलाई मानिसहरुका सम्बन्धको जालो भनिन्छ । व्यापक अर्थमा समाज, मानिसहरुको समूहमात्र नभई मानिसहरुबीचको अन्तक्र्रिया र यसले विकास गरेको सम्बन्ध पनि हो । अझ परिस्कृत रुपमा समाजलाई सामाजिक संरचना र सामाजिक सम्बन्धको समष्टिगत स्वरुप हो भन्ने बुझिन्छ । सामाजिक सम्बन्धहरु स्थापित गर्ने क्रममा विभिन्न सामाजिक अन्तक्र्रिया गरिन्छ । यसरी सामाजिक सम्बन्धले मानिसहरुबीचको अन्तक्र्रिया निर्धारण गर्दै सामाजिक व्यवहारको विकास हुन्छ । कुनै निश्चित उद्देश्य पूर्तिका लागि अर्थात् आवश्यकताहरु पूरा गर्न गरिने सामाजिक व्यवहारलाई मानिसको सामाजिक जीवनमा अभिन्न अंगको रुपमा लिइन्छ ।

परिवारलाई समाजको आधारभूत एकाई मानिन्छ । समाजको आधारभूत एकाई भएकाले सामाजिक व्यवहारको सुरुवात समेत परिवारबाट नै हुने गर्दछ । मानिसको बहुआयामिक आवश्यकता आर्थिक, सामाजिक, सांस्कृतिक हुने गर्दछ । मानिसका तिनै आवश्यकताहरु परिपूर्ति गर्नका लागि सामाजिक सम्बन्धहरु विकसित हुने गर्दछन् । समाजमा रहनका लागि एक व्यक्तिले अर्को व्यक्तिको सहयोग लिनुपर्दछ । यसरी गरिने सहयोग र लेनदेनलाई सामाजिक व्यवहारका रुपमा बुझ्न सकिन्छ । उदाहरणका लागि डाक्टरले आफ्नो घर निर्माणका लागि इन्जिनियरको भर पर्नुपर्छ ।

त्यसैगरी इन्जिनियरलाई बिरामी पर्दा उपचारका लागि डाक्टरको सहयोगको आवश्यकता पर्दछ । हाम्रो समाजमा प्रचलित छरछिमेकमा हुने ऐचोपैचोले मानिसहरुबीचको अन्तरनिर्भरता र सहकार्यको व्यवहारलाई झल्काउँछ । यसैगरी आफ्नो वरिपरिको वातावरण तथा छरछिमेकलाई शान्त र सफा राख्न प्रत्येक परिवारले एकअर्कासँग सहकार्य गर्नुपर्छ । यसरी कुनै पनि व्यक्ति वा समूहले अन्तक्र्रिया दोहो¥याउँदै जाँदा सामाजिक सम्बन्ध स्थापना हुने प्रक्रियालाई सामाजिक प्रक्रिया भनिन्छ ।

सामाजिक प्रक्रियाको माध्यमबाट मानिसले समाजमा अनुकूल हुने र सामाजिक प्रणालीलाई सन्तुलनका साथ सञ्चालन गर्नेजस्ता सामाजिक व्यवहारको विकास हुन्छ । यसरी सामाजिक व्यवहारको विकास गर्ने सामाजिक प्रक्रियाहरुमा पहिलो प्रक्रिया सामाजिकीकरण पर्दछ । सामाजिकीकरण निरन्तर र जीवनभर चलिरहने यस्तो प्रक्रिया हो, यसमार्फत मानिसले आफूलाई समाजमा स्थापित गर्नका निमित्त आवश्यक आधारभूत मूल्य–मान्यता, सीप, विश्वास एवं व्यवहार सिक्दछ । यस प्रक्रियाले जैविक प्रणालीलाई सामाजिक प्रणालीमा परिवर्तन गर्दछ ।

परसंस्कृति ग्रहण यस्तो सामाजिक प्रक्रिया हो, जसमा दुई भिन्न सांस्कृतिक समूहहरुका बीच लामो समयसम्म सम्पर्क हुँदा आफ्ना सामाजिक तथा सांस्कृतिक विशेषताहरु आदान–प्रदान हुँदै जान्छन् तर अल्पसांस्कृतिक समूहले आफ्ना सांस्कृतिक विशेषताहरु (खानपान, भेषभूषा) भने कायमै राख्दछन् । यस प्रक्रियामा दुवै समूहको मौलिक, सामाजिक, सांस्कृतिक ढाँचामा परिवर्तन आउन सक्छ । यस्तो अवस्थामा समूहहरु भने अलग नै रहन्छन् । परसंस्कृति ग्रहण व्यापक बन्दै जाँदा कहिलेकाहीँ एक समूहले अर्को समूहका विशेषताहरु अपनाउँदै जान्छन् भने यस्तो प्रक्रियालाई आत्मसात् भन्ने गरिन्छ ।

यस प्रक्रियामा आत्मसात् गर्ने समूहको मौलिक सामाजिक सांस्कृतिक विशेषताहरु नै हराएर जान्छन् । एकता यस्तो सामाजिक प्रक्रिया हो, जसमा व्यक्तिहरु वा समूहहरुले आपसी भिन्नता र अवरोधहरुलाई थाँती राखेर एकताबद्ध भएर अघि बढ्दछन् । ती व्यक्ति वा समूहहरुको बीच हामी एक हौँ भन्ने भावनाको विकास हुँदै सुमधुर सामाजिक, सांस्कृतिक सम्बन्ध स्थापित हुन्छ । भिन्न–भिन्न सामाजिक तथा सांस्कृतिक विशेषता भएका व्यक्तिहरु समाजमा रहँदा कहिलेकाहीँ उनीहरुबीच बेमेल तथा झै–झगडा हुन सक्दछ ।

सम्झौता यस्तो सामाजिक व्यवहार हो जसका माध्यमले समाजमा उत्पन्न भएका विभिन्न खाले बेमेल र झै–झगडाहरुको समाधान गर्दछ । यस प्रक्रियामा मानिसले आफ्ना हठहरु त्यागेर सामाजिक व्यवस्था कायम गर्ने गर्दछन् । प्रतिस्पर्धा भनेको सीमित स्रोत र साधन भएको अवस्थामा व्यक्ति वा समूहहरुका बीच एकले अर्कालाई पछाडि पारी जित हासिल गर्न सक्रिय प्रयासको प्रक्रिया हो । प्रतिस्पर्धात्मक व्यवहारले समाज वा समुदायमा रहेका व्यक्तिहरुको क्षमता विकास हुने गर्दछन् ।

समाजमा रहेका व्यक्ति वा समूहहरुले आफ्ना व्यक्तिगत तथा सामाजिक, सांस्कृतिक आवश्यकताहरुलाई पूर्ति गर्ने क्रममा कहिलेकाहीँ प्रतिस्पर्धामा उत्रिनुपर्दछ । दुई वा सोभन्दा बढी व्यक्ति वा समूहबीच मूल्य, मान्यता, उद्देश्य, विश्वास, अवधारणामा देखिने भिन्नता वा असहमतिका कारण उत्पन्न हुने मनोवैज्ञानिक अवस्थालाई द्वन्द्व भनिन्छ । अर्को शब्दमा द्वन्द्वलाई प्रतिस्पर्धाका क्रममा आफ्ना प्रतिस्पर्धीहरुलाई निषेध गरेर मानिस वा समूहले आफ्नो आवश्इकता पूर्ति गर्ने प्रयास भन्ने बुझिन्छ ।

द्वन्द्वलाई नकारात्रुमक मानिए पनि यसका सकारात्मक पक्ष पनि छन् । तसर्थ द्वन्द्व व्यवस्थापन आवश्इकताअनुसार गर्नुपर्दछ । सहकार्य त्यस्तो सामाजिक प्रक्रिया हो जसमा मानिसहरु अथवा समूहहरुले आफ्ना साझा आवश्यकताहरु पूर्ति गर्नका लागि एकअर्कासँग मिलेर काम गर्ने गर्दछन् । सामाजिक जीवन तथा सामाजिक व्यवस्थालाई जीवन्त राखिराख्न सहकार्यको व्यवहारलाई अति आवश्यक मान्ने गरिन्छ । अनुकूलन त्यस्तो सामाजिक प्रक्रिया हो, जसमा मानिस वा समूहले आफ्ना सामाजिक तथा अन्य आवश्यकताहरु पूर्ति गर्नका लागि समाजमा रहेको सामाजिक वातावरणसँग आफूलाई समायोजित गराउने गर्दछ ।

कुनै व्यक्ति वा समूह आफ्नो समाज छोडेर नयाँ समाजमा बस्न पुग्दा आफूले गर्दै आएका सामाजिक तथा सांस्कृतिक व्यवहारहरु र त्यस समाजमा प्रचलित नभएको पाउन सक्छन् । यस्तो अवस्थामा अनुकूलनको आवश्यकता हुन्छ । सामाजिक व्यवहार पनि संस्कृतिकै एउटा पाटो हो । सामाजिक व्यवहारका स्वरुपहरु पनि संस्कृतिअनुसार फरक–फरक खालका हुन सक्दछन् । संस्कृति कुने पनि समाजका सबैभन्दा महत्वपूर्ण विशेषता हो ।

वर्तमान विश्व सामाजिक विविधतायुक्त छ । विश्वभर बहुसांस्कृतिकताको बढ्दो प्रभाव छ । वर्तमान विश्वका मानिसहरुमा भौतिकवादी तथा व्यक्तिवादी सोच बढ्दै गएको छ । पुँजीवादी बजार सम्बन्धको विस्तार भएको छ । सामाजिक मूल्य–मान्यतामा परिवर्तन देखिएको छ । वर्तमान विश्वमा यान्त्रिकीकरण बढेको छ । उत्पादनका लागि मानव संशाधनभन्दा यान्त्रिक शक्तिको प्रयोग बढेको छ । जसको कारण रोजगारीको समस्या बढेको छ । वर्तमान समाजमा कार्यविभाजन क्षमताका आधारमा गरिन्छ, जसले कार्य विशिष्टीकरण भनिन्छ ।

साथै कार्यकै आधारमा सामाजिक स्तरीकरणको उदाहरण हो । वर्तमान विश्वमा सहरीकरण सँगसँगै विभिन्न सामाजिक समस्या देखापर्न थालेका छन् । जस्तै गैरसामाजिक कार्यहरु चोरी, डकैती, लुटपाट, बलात्कारका घटनाहरुमा बृद्धि भइरहेका छन् । आधुनिक विश्वपको अर्थतन्त्र पुँजीवादमा आधारित छ । पुँजीवादी समाजले खुल्ला बजार प्रणालीलाई जोड दिन्छ । आर्थिक समानता पनि पुँजीवादको असर हो । धनी झन्–झन् धनी र गरिब झन्–झन् गरि बन्दैछन् ।