गोरक्ष समाचारदाता
दाङ, २५ मंसिर । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व प्राध्यापक तथा साहित्यकार स्व. गदाधर पौडेलका तीन कृति एक साथ विमोचन गरिएको छ । लेखक संघ दाङको आयोजनमा शनिवार घोराहीमा भएको कार्यक्रममा स्व. पौडेलको ‘प्रा. गदाधर पौडल स्मृतिग्रन्थ’ सँगै ‘मेरो नेपाल’ र ‘तरंगमाला’ कविता तथा निबन्ध संग्रहको लोकार्पण गरिएको हो ।
स्मृतिगन्थ्रमा विभिन्न व्यक्तिले स्वर्गीय पौडेलका बारेमा लेखेका लेखकहरू समेटिएका छन् । यसैगरी ‘मेरो नेपाल’ र ‘तरंगमाला’ कविता तथा निबन्ध संग्रहमा मृत्यु अघि पौडेलले लेखेका कतिवा तथा निवन्धहरूलाई समावेश गरेर कृति प्रकाशन गरिएको छ । स्व पौडेलको २०७७ साल मंसिर २४ गते निधन भएको थियो ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यता एवम् नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा लेखनाथ आचार्यको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा स्व पौडेलको सम्झनामा कृतिहरूको लोकार्पण गरेका हुन् । कृतिको लोकार्पण कार्यक्रममा बोल्ने वक्ताहरूले सरलता, बौद्धिक, सहयोगी र मिलनसार स्वर्गीय पौडेलले दाङको शिक्षा तथा साहित्यको विकासका महत्वपूर्ण योगदान पु¥याएको भन्दै चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कूलपति कुलप्रसाद कोइरालाले स्व पौडेल अत्यन्त मिलनसासार, सहयोगी र इमान्दारीसँगै प्रकृति र संस्कृतिमा आधारित साहित्य सिर्जना गर्ने व्यक्तित्व भएको बताएका थिए ।
कार्यक्रममा लेखक संघ दाङका पूर्व उत्तमकृष्ण मजगैयाँ, लेखक संघ दाङका पूर्व अध्यक्ष प्राडा शिवकुमार सुवेदी, लेखक संघ दाङका संस्थापक अध्यक्ष शंकर पौडेल, प्राज्ञसभा सदस्य डा गोविन्द आचार्य, डा डिल्लीराज शर्मा, राप्ती साहित्य परिषदका केन्द्रीय उपााध्यक्ष कमलमणि उपाध्यक्ष, महाकाव्यकार बुनु लामिछाने, राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष दीपक शर्मा समीर, डिल्लीराज शर्मा, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा, दाङ साहित्य तथा सस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, रेडियो स्वर्गद्वारी एफएमका प्रबन्ध निर्देशक दधिराम सुवेदीलगायतका वक्ताहरूले बोलेका थिए ।
कार्यक्रममा पुस्तकको बारेमा पुस्तकका प्रधान सम्पादक डा. कृष्णराज डिसीले जानकारी गराएका थिए भने पुस्तकको समीक्षा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतमले गरेका थिए । कार्यक्रमका सहभागीहरूलाई स्वर्गीय गदाधर पौडेलका छोरा केशव पौडेलले धन्यावाद तथा कृतज्ञता ज्ञापन गरेको कार्यक्रमको सहजीकरण लेखक संघ दाङका सचिव सरिता देवकोटाले गरेकी थिइन् ।