कानुन बने, कार्यान्वयन भएनन्
गोरक्ष समाचारदाता
तुलसीपुर, २५ मंसिर । ‘महिला अधिकार : मानव अधिकार’ भन्ने मूल नाराका साथ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तुलसीपुरमा पनि मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज दाङको आयोजनामा शनिवार महिला माथिको हिंसा र भेद्भाव अन्त्य, पीडितलाई न्याय र पीडकलाई सजाय विषयक अन्तत्र्रिmया कार्यक्रम गरी दिवस मनाइएको हो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका रजिष्ट्रार माधव अधिकारीले संविधानमा ऐन, कानुनका कुराहरू धेरै लेखिए पनि कार्यान्वयन र कर्तव्यको सवालमा सफल हुन नसकेको बताए । उनले आफ्ना अधिकार र कर्तव्य खोज्दै गर्दा अर्काको अधिकार र कर्तव्यलाई उत्तिकै बुझ्न सकेमा मात्र शान्ति प्राप्तिमा मद्धत पुग्ने तर्क गरे । सबै जातजाति, वर्ग र वर्णबीच सहभाव तथा समानता हुने खालको संविधान देशलाई आवश्यक रहेको बताउँदै उनले मानवअधिकार र शान्तिको सवालमा सबै सरोकारवालाहरू सचेत हुन जरुरी रहेको बताए ।
मानव अधिकार तथा शान्ति समाज दाङका सभापति नवीनकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय बरिष्ठ उपसभापति सुशील बस्नेतले नीति बनाउने, कार्यान्वयन गर्ने र कर्तव्यको पालना गर्ने पक्ष र बेथिति गर्नेहरूका लागि कडा कानुनको आवश्यक रहेको तर्क गरे । शान्ति समाजले राज्यलाई मूल प्रवाहीकरणमा नीतिगत रूपमा लैजानका लागि सरकारको नेतृत्वदायी भूमिकामा रहेर प्रतिगमन विरूद्धमा लागेकालाई पनि खबरदारी गर्ने काम गरिरहेको बताए ।
नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व अझै पनि हुन सकिरहेको छैन’, उनले भने, ‘निर्वाचनमा प्रमुख दलहरूले प्रत्यक्षतर्फको जुन प्रतिशत देखाएका छन्, त्यो लाजमर्दो छ, त्यो गलत छ भन्ने पक्षमा हामी छौँ, र मन्त्रिमण्डलमा महिला किन नराख्ने ? भन्ने पनि हाम्रो प्रश्न छ, प्रतिशतका हिसाबले महिलाको सहभागिता हुनुपर्छ भनेर त्यसलाई पनि अभियान रूपमा उठाइरहेका छौँ ।’ उनले कूटनीतिक नियुक्तिका विषयमा पनि महिलाको सहभागिताको सवालमा पैरवी गरिरहेको बताए । महिलालाई होच्याउने, अपमान गर्ने सामाजिक न्यायको लागि त्यो दण्डनीय कार्य रहेको हुँदा त्यसप्रति जनसमुदायदेखि नै अभियानलाई सञ्चालन गरिरहेको समेत उनले बताए ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सचिव निर्मल नेपालीले मावन अधिकारको नीतिलाई लिएर नेपाल सरकारले महिलाका निम्ति नीतिहरू बनाएको भए पनि ती सबै कागजमै सीमित रहेको बताए । ‘हिंसाको सवालमा महिला मात्र नभइ दलित समुदाय पनि न्यायको पहुँचबाट वञ्चित छ’, उनले भने, ‘त्यसकारण मानव अधिकारको दृष्टिकोणबाट कुनै पनि हिंसा पीडितलाई न्याय दिऔँ, पीडकलाई ठूलो सजाय दियौँ भने हिंसाको अन्त्य हुनसक्छ भनेर हामी शान्तिको विकल्प छैन, हिंसाको भविष्य छैन भन्ने अभियानलाई अगाडि बढाएका छौँ ।’
त्यस्तै अधिवक्ता मोहन धितालले लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि नागरिकले कानुनी राज्यको अनुभूति गर्न नसक्नु ठूलो बिडम्बना भएको बताए । उनले संविधानले मौलिक अधिकारमा ग्यारेन्टी गरेअनुसार विभिन्न जातजातिको वर्गीय हिसाबले कोटाहरू निर्धारण गरे तापनि राज्यशक्तिको प्रभावमा पर्ने न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका सेटिङ्मा चलिरहँदा मौलिक अधिकारहरू कार्यान्वयनमा जान नसकेको बताए । मानव अधिकार तथा शान्ति समाज दाङका संस्थापक सभापति डिल्लीराज धिताल हरेक वर्ष महिला हिंसा र मानव अधिकार उल्लङघनका घटनामा वृद्धि भइरहेको भन्दै यस्ता खालका क्रियाकलापलाई रोक्न सबै सरोकारवाला आ–आफ्नो क्षेत्रबाट जागरूक हुनुपर्ने बताए ।
नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले जबसम्म समानता न्याय र स्वतन्त्रता प्राप्त हुँदैन तबसम्म शान्ति सम्भव नरहेको तर्क गरे । महिला अधिकारकर्मी सूष्मा गिरीले मानव अधिकार दिवस परिणाममुखी बन्नुपर्ने धारणा राखिन् । उनले मानव अधिकार तथा शान्ति समाजले महिलामाथि हुने राजनीतिक हिंसालाई मुद्दाको रूपमा लिएर अभियान चलाउनुपर्ने माग गरिन् । उनले भनिन्, ‘पुरुषहरूको नेतृत्वले मात्र लोकतन्त्र र मानव अधिकारलाई संस्थागत गर्न सक्दैन, जबसम्म हरेक वर्ग, जातजाति, लिङ्गको समानुपातिक समृद्धि हुन सक्दैन, तबसम्म समृद्धिका यात्राहरू गन्तव्यसम्म पुग्न सक्दैनन् ।’
त्यस अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देबा डाँगी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ल, ज्येष्ठ नागरिक लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी, राप्ती बबई क्याम्पसका प्रमुख युवराज रावतलगायतले ऐन, नियम–कानुन बनाउने न्यायपालिका र कार्यपालिकाले नै नियमको कार्यान्वयन नगर्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्दै गइरहेको बताए । कार्यक्रममा ओरेक दाङका कार्यक्रम संयोजक कल्पना चौधरी लैङ्गिंक हिंसा, मानव अधिकार उल्लङ्घनका घटनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण शान्ति समाजका सचिव अमित शर्माले गरेका थिए ।
