समानुपातिक सांसद छाने दलहरूले
गोरक्ष समाचारदाता
काठमाडौं, २५ मसिर । दलहरूले समानुपातिक सांसदको अन्तिम सूची पेश गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीको तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाएका छन् । शनिवार दिनभर दलहरूले बैठक र छलफल गरेर समानुपातिक सांसदको टङ्गो लगाउने काम गरेका छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेश गर्न दिइएको शनिवार अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेश गर्ने गरी दलहरूले काम गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट संख्याको अन्तिम सूची शनिवार बुझाउन निर्देशन दिएको थियो ।
कांग्रेसले छान्यो ३२ जना
कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष र २९ जना महिला छनौट गरेको छ । संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाएको छ । खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, मधेसी पुरुषतर्फ विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार छानिएका छन् ।
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएका छन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ । आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ ।
दलितबाट शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिक सांसदको सूची तयार गरेर निर्वाचन आयोगलाई बुझाइसकेको छ । लोसपाको केन्द्रीय समितिको बैठकबाट निर्णय भएर शुक्रबार आयोगलाई समानुपातिक सांसदको सूची बुझाइसकेको पार्टीको कार्यकारिणी समितिका सदस्य केशव झाले वताए । उनका अनुसार लोसपाका तर्फबाट मधेस प्रदेशमा रूपाकुमारी यादव (मधेसी महिला) र रमिता प्रधान (मधेसी अल्पसङ्ख्यक महिला) तथा लुम्बिनी प्रदेशमा मेमा वेल्वासे केसी (खस आर्य महिला) को नाम समानुपातिकका लागि आयोगमा पठाइएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपाले समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । लोसपाले मधेस प्रदेशमा सात र समानुपातिकतर्फ दुई सिट जितेको छ भने लुम्बिनीमा एक सिट गरी प्रदेशमा कूल १० सिट पाएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । प्रतिनिधिसभामा एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट जितेको छ । पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको सूची आयोगलाई बुझाइएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले वताए । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा आठ सिट जितेको छ ।
एमालेले छान्यो समानुपातिक सासद
नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म अटाएका छन् ।
आदिवासी जनजाति पुरुषमा देवीप्रसाद भट्ट चन्द, हेमराज राई र कालुराम राइर्, आदिवासी जनजाती महिलामा नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, खस आर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही छनौट भएका छन् ।
खस आर्य महिलामा मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, सोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा, सुनिता बराल, थारु महिला आश्मा कुमारी चैधरी, शान्ति चौधरी, दलित पुरुष इश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा महिला दलित रुकमणी राणा बराइली, हर्कमाया विश्वकर्मा, मधेसी पुरुष गंगा प्रसाद यादव, अमृतराज लालवंशी, महिला विना देवि, अमृतादेवि अग्रहरी, प्रतिक्षा तिवारी मुखिया र मुस्लिम सराज अहमद फारखी छनौट भएका छन् ।
रास्वपाले पनि टुगायो
राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक तर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ । शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । दलित समुदायबाट सन्तोष परियार र शिव नेपाली, जनजाति समुदायबाट ढाकाकुमार श्रेष्ठ, इन्दिरा मगर र सुमना श्रेष्ठको नाम सिफारिस गरेको छ ।
यस्तै खसआर्यबाट चन्दा कार्की, डोल प्रसाद अर्याल, निशा डाँगी र बिनिता कठायतको नाम सिफारिस गरेको छ । मधेसी समुदायबाट लक्ष्मी तिवारी र मनिष झा, थारु समुदायबाट अशोक कुमार चौधरी सिफारिस भएका छन् भने मुस्लिम समुदायबाट अशिम साहको नाम सिफारिस भएको छ ।
