कसौँडीको भात ७ जनाले बाँडेर खाँदा …

म त्यो बेला सायद ८ वर्षको थिएँ होला । मेरो घरमा ५ जनाको परिवार थियो ।आमा, बुबा, दाजु, दिदी र म । त्यस दिन हाम्रो घरमा काँसको कसौँडीमा भात पाकेको थियो । त्यसमा २ जना पाहुना आउनुभयो । अघि–पछि ५ जनालाई पुग्ने भात त्यस दिन ७ जनाले खाएर सुतेका थियौँ । तुलसीपुर–५ निवासी खेलकुद पत्रकार संघ दाङका अध्यक्ष समेत रहेका लक्ष्मण बस्नेतले विगत सम्झँदै भने । त्यस दिन म, बुवासँग सुते र बुवाले राति सोध्नुभयो, ‘साने भोक लागेको त छैन ?’ मैले बुवालाई ‘नाइ’ भन्ने जवाफ दिएँ । मलाई त्यतिबेला बुवाले आत्मसुन्तुष्टिको कुरा सुनाउनुभएको थियो । मैले पनि बुझँे मानिसमा आत्मसन्तुष्टि नै ठुलो कुरा रहेछ ।

‘त्यस दिन हामीले ७ जनाले ५ जनाले खाने भात खाएर सुतियौँ, हामीलाई पुग्यो त्यो नै आत्मसन्तुष्टि रहेछ, मेरो बुवाबाट मैले धेरै सकारात्मक कुरा त्यस दिन सिक्न पाएँ, कसौँडीको भात ७ जनाले खाँदा मेरो जीवनको पहिलो खुसी लेखिदिनुहोला’, बस्नेतले विगत सम्झँदै भने । उनले त्यस दिन बुवाले पढाएको त्यो ज्ञान कहिल्यै पनि नभुल्ने भन्दै मानिसले आत्मसन्तुष्टि लिन सक्यो भने जीवनमा त्यसै पनि खुसी मिल्ने उनले बताए । उनले कर्मअनुसार फल प्राप्त हुने भन्दै आफ्नो परिवारमा कुनै पनि बेखुसी नभएको सम्झिए ।

मिजासिला कर्ममा विश्वास गर्ने बस्नेत सधैँ खुसीका साथ कर्ममा तल्लीन हुने गर्छन् । पत्रकारिता तथा खेलकुद क्षेत्र हुँदै हाल व्यवसायमा लागेका बस्नेतले आफू र आफ्नो परिवारमा कहिल्यै पनि आफूहरू दुःखी नभएको भन्दै हरेक काममा आफूहरू खुसीका साथ लाग्ने सुनाए । उनले अर्को खुसी पत्रकारिता क्षेत्रमा लाग्दाको सम्झिए । उनले खेलकुद क्षेत्र सँगसँगै रेडियो तुलसीपुरमा समाचार शाखाका काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘म पत्रकारिता पढेको पनि होइन र मेरो क्षेत्र पनि होइन तर मेरो आवाजले साथ दिएर मलाई समाचार वाचनको जिम्मेवारी रेडियो तुलसीपुरमा दिँदा असाध्यै खुसी मिलेको थियो’, बस्नेतले भने ।

सितोरिया कराँतेमा ३ डन बस्नेतले बुवा पनि पूर्व भलिबल खेलाडी भएकाले खेल क्षेत्रमा लागेर अनुशासनमा झनै बाँधिन पाउँदा खुसी लागेको सुनाए । ‘विसं २०४८ सालदेखि म खेलकुद क्षेत्रमा लागेको हुँ, जुन दिन सेतो ड्रेसमा म मैदानमा छिरेँ त्यो दिन पनि मलाई निकै खुसी लागेको थियो’, उनले भने । बस्नेतले त्यस अघि खेल खेल्न नपाउने भए पनि बहुदल आएपछि आफूले खेल क्षेत्रमा लागेर अनुशासनको अर्को पाठ सिकेको बताए । बस्नेतले आफू विभिन्न क्षेत्रमा खेल खेल्न पुगेको भन्दै शरीरले साथ नदिँदा भने राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा खेल खेल्न नपाएको सुनाए । उनले ३ लट खेलाडीहरू उत्पादन गरेको भन्दै आफूले उत्पादन गरेका खेलाडीहरू विभिन्न क्षेत्रमा रहेको भन्दै उनीहरूले सम्झँदा खुसी मिल्ने गरेको सुनाए ।

‘मैले खेलाएका खेलाडीहरू अहिले विभिन्न क्षेत्रमा जाँदा भेट हुन्छ, उनीहरूले गुरु भनेर सम्मान गर्दा दिलैबाट खुसी मिल्ने गर्छ’, बस्नेतले भने । उनले खेलाडी भएर संस्कार सिक्न पाउँदा पनि खुसी लागेको सुनाए । ‘मेरो घरमा पनि संस्कार थियो, झन खेलाडी भएर संस्कार सिक्न पाएँ म निकै खुसी छु’, उनले भने । भलिबल संघ र फुटबल संघको महासचिव समेत रहेका बस्नेतले खेल क्षेत्र तथा खेलकुद संघमा लागेर खेल क्षेत्रको विकासमा सामाजिक सेवा गर्न पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए ।

उनले साथीभाइ र अग्रज व्यक्तिहरूले आफूलाई सक्षम सम्झिएर जिम्मेवारी दिँदा अर्को खुसी मिल्ने गरेको सुनाए । तर बस्नेतले जसरी खेलकुदको विकास हुनुपर्ने हो त्यसरी विकास नहुँदा भने दुःख लाग्ने गरेको बताए । स्पोर्ट व्यवसाय सञ्चालन गरेका बस्नेतले आफ्नै माटोमा घरपरिवार, साथीभाइसँग यहीँ स्वदेशमै बसेर व्यापार गर्न पाउँदाको खुसी पनि कम्ता नभएको सुनाए । ‘अहिले म व्यवसायमा पनि जोडिएको छु, मैले कमाउने धेरै ठूलो सपनाभन्दा पनि खेलकुद क्षेत्रको मान्छे खेलकुदकै व्यापार गरेको छु, त्यसमा पनि म सन्तुष्ट छ’, बस्नेतले भने । उनले व्यापारलाई नाफामूलक भन्दा पनि सेवामूलक भएर व्यापार गरेको सुनाए । बस्नेतले अर्को खुसी उनले जीवनमा आफूलाई बुवाले कुनै चीजमा कमी हुन नदिएकोमा व्यक्त गरे ।

‘हामी सामान्य किसानी गर्ने मानिस हो । मेरो बुबा जहिल्यै पनि बाहिरबाट घरभित्र आउँदा मुख बिगारेर आउनुभएन, सधैँ हाँस्दै आउनुहुन्थ्यो’, उनले भने । बस्नेतले विसं २०६० सालमा आफ्नो परिवारमा लक्ष्मी भित्रिँदा पनि खुसी मिलेको सुनाए । ‘मेरो घरमा एउटा छोरी, एउटा छोरा छ । छोराछोरी दुवै जन्मिएको दिन पनि मलाई निकै खुसी लागेको थियो’, बस्नेतले भने । उनले जुन प्रकारको संस्कारबाट आफूहरू हुर्किएको सोही संस्कारबाट छोराछोरी पनि हुर्किएको भन्दै खुसी व्यक्त गरे । उनले घरमा बुवा आमा, श्रीमती सबैको साथ सहयोग पाएकोमा पनि खुसी व्यक्त गर्छन् ।

उनले बाल्यकालदेखि हालसम्म आफूले सबै साथीभाइ, इष्टमित्रको साथ सहयोग पाएको र आजसम्म आफूलाई कसैले पनि यो नराम्रो मान्छे भनेको नसुन्दा अर्को खुसी मिल्ने गरको सुनाए ।
‘सिङ्गो परिवार र मेरो सबै प्रकारका सुखदुःख बुभ्mनसक्ने पारिवारिक वातावरण, संस्कारिक माहोल, असल जीवन जिउनलायक जीवन पाएकोमा म खुसी छु’, उनले भने । तुलसीपुर –५ निवासी लक्ष्मण बस्नेत खेलकुद पत्रकार संघ दाङका जिल्ला अध्यक्ष हुन् भने विभिन्न खेलकुदसम्बन्धी संघसंस्थामा आबद्ध छन् ।
प्रस्तुती ः बालाराम खड्का