नारायणप्रसाद श्रेष्ठ
प्रतिनिधि सभा र प्रदेश सभा २०७९ को निर्वाचन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । अब समानुपातिकको नाम सार्वजनिक हुन बाँकी छ । जनताले संविधान प्रदत्त अधिकार प्रयोग गरी जनप्रतिनिधि निर्वाचित गरी पठाएका छन् । राष्ट्र र राष्ट्रियताको संरक्षण र सम्बद्र्धन गर्दै नागरिक अधिकारलाई सम्मान गर्न र जनताका आधारभूत आवश्यकता पूरा गर्न प्रतिनिधि सक्षम छन् भनी विश्वासका साथ जिम्मेवारी सुम्पिएका छन् ।
हिजो निर्वाचन प्रक्रियामा जेजस्तो उतारचढाव भए पनि अब प्रतिनिधि राष्ट्रको साझा सम्पत्ति बनेका छन् । नेतृत्वलाई व्यवहार र कर्ममा परिस्कृत गर्दै राष्ट्रिय स्वाभिमान कायम गरेर भ्रष्टाचार मुक्त समाजको परिकल्पना गरी अघि बढ्न दबाब बढिरहेको छ । निकै आशा, विश्वास र भरोसाका साथ प्रतिनिधि नै राष्ट्रको आधार हो, उनीहरुबाटै राष्ट्रको समृद्धि हुन्छ भनी जनताले अभिमत दिएका छन् । चुनौती र अवसर दुवैलाई आत्मसात गर्दै अघि बढ्न प्रतिनिधिहरुलाई अब जिम्मेवारी बढेको छ । जनताको आधारभूत आवश्यकतासँगै भ्रष्टाचारमुक्त आदर्श समाजको परिकल्पना गरेर राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउँदै समतामूलक लोकतान्त्रिक शासन सदृढ गर्न अब प्रतिनिधिको काँधमा जिम्मेवारी आएको छ ।
वर्तमानमा देखापरेको राजनीतिक वितृष्णालाई हटाइ सबै हाम्रो, हामी सबैको यस्तो अवस्था सिर्जना गर्न र सपना बाँडेर होइन वा विदेशमा श्रम वा पसिना बेचेर होइन, स्वदेशी माटोमा प्रकृतिको सुन्दर उपहार स्वरुप प्राप्त राष्ट्रिय सम्पत्तिको रक्षा गर्दै आफ्नै धर्तीमा सून फलाउन अब प्रतिनिधिको काँधमा जिम्मेवारी आएको छ । निर्वाचनको दौरानमा प्रतिनिधिले जनता सामू गरेका प्रतिबद्धता र इमानदारीपन अब कसरी कार्यव्यवहारमा लागू हुने हो ? त्यसको कठिन परिस्थितिको सामना नेताले महसुस गर्दै परीक्षामा उत्तीर्ण हुनुपरेको छ । तसर्थ कोही कसैको बहकाउमा होइन, तटस्थ र निडर रहेर जनताको सच्चा सेवक बन्न अब समयले घचघच्याउन सुरु गरिसकेको छ । परीक्षाको कठिन घडी आइरहेको छ । अरुको काँधमा बन्दुक राखी पड्काउने दिन अब गए । अब नयाँ युगको सुरु गर्नुपर्ने अवस्था छ ।
विगतका केही कालखण्डमा नेताले जेजस्तो किसिमले जनतामा नैराश्यताको अवस्था सिर्जना गरेका थिए, त्यसको परिणामस्वरुप कतै फुक्ने कतै खुम्चिने र कतै नयाँ प्रतिभा उदाउने वातावरण वर्तमान राजनीतिक क्षितिजमा देखापरेको छ । कहलिएका नेतृत्व समेतले हार व्यहोरेको अवस्था छ । वास्तवमा यसले नेतृत्वलाई सचेत रहन र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक परिपालन गर्न घचघच्याएको अवस्था छ । निर्वाचनमा विजय, पराजय जे भए पनि त्यसलाई त्यहीँ सीमित गरी अब मेलमिलापको राजनीतिक परिदृश्य वर्तमानले खोजिरहेको छ ।
कुनै एकदलको स्पष्ट बहुमत नभएको अवस्थामा मिलीजुली सरकार बनाउनुपर्ने अवस्था एकातिर छ भने अर्काेतिर एकअर्काप्रति दिगो विश्वास र भरोसा राख्ने अवस्था छ । यस्तो अवस्थामा नेता र नेतृत्वलाई निकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ । अग्निपरीक्षाको यो घडीमा सम्यम र धीरताको निकै खाँचो पर्ने पनि छ । यस्तो अवस्था आउनु भनेको नेता र नेतृत्वको लागि चुनौती र अवसर दुवै हो । तसर्थ, चुनौतीलाई अवसरको रुपमा प्रयोग गरी हिजो जेजस्ता तीतामीठा भए पनि त्यसलाई बिर्सिएर, हठवादी चिन्तन छोडेर राष्ट्रिय स्वतन्त्रताका लागि धर्तीको एक मुठी माटो समाइ नेताले आफूलाई पहिचान दिनुपर्ने अवस्था छ ।
वर्षामा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भनेझैँ हिजोझैँ राष्ट्रिय ढुकूटीमा ब्रह्मलुट गर्ने छुट अब कसैलाई छैन । शासन सत्ता हत्याउने नाउमा सांसद बेचविखन भइ नेता रकममा सटही हुने परिस्थिति पनि अब नरहने अवस्था छ । जनता निकै सावधानीपूर्वक नेताको आचरण र व्यवहारलाई सूक्ष्म अध्ययन गर्ने कार्यमा जुटिसकेका छन् । पुरानो पिढीलाई नयाँ पिढीले औला देखाइ पनि रहेका छन् । अब प्रतिनिधिले देशको माटो समाइ कसम खानुपर्ने बेला आएको छ । राष्ट्रलाई समृद्धितर्फ लैजाने नीति र व्यवहार अबको नेतृत्वप्रति जिम्मेवारी बढेको छ ।
जनता सोझा छन्, यिनलाई ललिपप खुवाएर लठ्याउन सकिन्छ भन्ने दिन बितिसक्यो । तसर्थ, समय र परिस्थितिको सामना गर्दै सदनदेखि सडकसम्मलाई हेरेर प्रतिनिधिले आफ्नो जिम्मेवारी निभाउनु परेको छ । निर्वाचन परिणामले त्यस्तै संकेत दिइरहेको छ । अब पार्टीको नेता होइन, जनताको नेता बनेर देखाउनुपर्ने अवस्था आएको छ । पार्टी साख गुम्नु भनेको जनताको विश्वास गुमाउनु हो, लोकप्रियता हराउनु हो । त्यसैले हराउने र बिलाउने चरित्र प्रदर्शन गर्ने हो वा साच्चिकै जननेता बन्ने हो ? अब प्रतिनिधिको परीक्षा सुरु भइसकेको छ ।
निर्वाचन २०७९ को प्राप्त मत हेर्दा कांग्रेसले ठूलो दलको हैसियत राखेर आफ्नो विरासत केही सुदृढ गरे पनि पुरानो विश्वास गुमाइ अहिले पनि खुम्चिएको छ । एमाले र माओवादी आफ्नै बहुमत सरकार हुँदा पनि पार्टी छिन्नभिन्न भइ उसले पनि आफ्नो पुरानो विरासत गुमाइसकेको छ । हिजो जुन उत्साह र उमंगका साथ जनताले आफ्नो मत जाहेर गरेका थिए, सो अनुसार पार्टीहरुले पदीय आचरण नगर्नुका कारण विरासत गुमाउनु भनेको पार्टीले आफूलाई तोकेको जिम्मेवारी निर्वाह नगरेको यथार्थ सत्य हो । जसको कारण अहिले नयाँ राजनीतिक दलहरु उदाएको अवस्था छ ।
अहिले केवल प्रवेश परीक्षामा मात्र पास भएका छन्, प्रतिनिधिहरु । अब पनि आत्मालोचना गर्न जानिएन र पुरानै प्रवृत्ति देखापर्ने अवस्था पुनः दोहोरिए राष्ट्रिय मूलधारमा नै प्रश्न चिह्न खडा हुनसक्ने खतरा मडारिँदै गएको छ । आकाशमा कालो बादल मडारिँदै गएको छ । यदि यसलाई आफ्नै माटो सुहाउँदो प्रकृतिको स्वच्छ हावाले नफटाउने हो भने कालो बादल गर्जेर ठूलै झरी नपर्ला भन्न सकिन्न । फेरि पनि दम्भको राजनीतिलाई प्रश्रय दिने हो र जनअभिमत कुन दिशातिर गइरहेको छ भन्ने अनुमान गर्न नसकी म बाहेक अरु योग्य छैन भनी दम्भ गरिने हो भने राजनीतिक अवस्थामा व्यापक फेरबदल नहोला भन्न सकिन्न । स्वतन्त्रताको उर्लँदो भेललाई वर्षाको झरीसँग तुलना गर्नै दुष्शाहस गरियो भने राम्रो परिणाम नदेखिने सम्भावना बढ्दै गएको छ । अब फाइनल परीक्षा दिन सिङ्गै बाँकी छ ।
इमानदारी र नैतिकता अबको राजनीतिक परिदृश्यले खोजेको छ । विचारमा राष्ट्रियता, आचरणमा प्रेमभाव, कर्ममा जनभाव अहिलेको आवश्यकता भएको छ । बानी र कर्ममा एकरुपता ल्याइ आफूले दिएका वाचा र आश्वासन नेताको लागि फलामको चिउरा चपाए सरी हुनसक्ने अवस्था अहिले देखिँदै छ । यस्तो अवस्थामा नेताहरु अलमल पर्नसक्ने अवस्था पनि नआउला भन्न सकिन्न । तर पनि नैतिकता र इमानदारी नेपाल र नेपालीको पुख्र्यौली सम्पत्ति र सम्मान हो भन्ने चिन्तनमा सधैँ एकाकार भइ म होइन हामी र मेरो होइन हाम्रो भन्ने मानसिकता जगाइ जनताको घरदैलोदेखि सिंहदरबारको ढोकासम्म एउटै उद्देश्य एउटै धारणा र चिन्तन लिएर प्रतिनिधिले आफूलाई प्रस्तुत गर्न सक्नुपरेको छ ।
क्षणिक लोभ र मोहले हिजो जेजस्तो उतारचढाव देखियो, वास्तवमा त्यो अँध्यारो छलाङ थियो । तसर्थ, निर्वाचनको परिणाम र जनताले दिन खोजेको भावनालाई बुझेर अगाडिको बाटो निर्माण गर्न सबै नेतृत्वमा सत्बुद्धि आओस् यही कामना ।