calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

राज्यले सीप सिक्ने अवसर दिनुपर्छ : भन्ताना

हाम्रो समाजमा अधिकांश महिलाहरु घरभित्र नै सीमित हुने गरेका हुन्छन् तर बाहिर आए पनि व्यवसायमा कमै मात्रामा आउने गरेका छन् । झनै होटेल क्षेत्रमा आउँदैनन् नै । आएकालाई पनि समाजले हेर्ने दृष्टिकोण त्यति सकारात्मक रहेको पाइँदैन तर आफनो इच्छाशक्ति र लगनशीलता हुने हो भने सफलतापूर्वक होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण समेत धेरै भेट्न सकिन्छ । यस्तै उदाहरणीय रुपले अगाडि बढेको छ घोराही उपमहानगरपालिका वडा नं १४ मा रहेको मकालु भान्सा घर ।

प्रमिला भान्ताना र बिमला भान्ताना दुई दिदीबहिनी मिलेर २०७३ सालमा सञ्चालन गरेको भान्सा घरले आप्mनो छुट्टै पहिचान गराउन सफल समेत भएको छ । घरको भान्सामाजस्तै खाना पाइने स्थानको रुपमा अहिले परिचित छ, त्यो भान्सा घर । स्वादिष्ट परिकार पाउने भएकाले अधिकांश ग्राहकको रोजाई समेत बन्ने गरेको छ । यसरी महिलाहरुले सञ्चालन भएको होटल सञ्चालनमा के–कस्ता चुनौती तथा अवसर रहेका छन् भन्ने विषयमा सञ्चालक प्रमिला भान्तानासँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानी सार संक्षेप ।

 कसरी होटेल व्यवसायमा प्रवेस गर्नु भयो ?

 मेरो सानैदेखिको रुचि खाना पकाउने थियो । नयाँ–नयाँ खानाका परिकार बनाउने गर्थेँ । मैले खाना पकाएको देखेर चिनेकाहरूले विवाह, पूजा, पार्टीमा खाना पकाउन मलाई बोलाउने गर्नुहुन्थ्यो । खाना बनाउन जाने भएकाले खाना बनाउने व्यक्तिको रूपमा चिन्ने गर्नुभएको थियो । खाना बनाउन जाँदा त्यसबाट केही रकम पाउने गरेको थिएँ । सबैले यसरी यस्तो राम्रो सीप भएको व्यक्तिले यसलाई व्यवसायीकरण गर्नु पर्दछ भनेर सल्लाह र सुझाव दिने गुर्नभयो । पछि सीपलाई व्यवसामा जोडनु पर्दछ भनेर होटेल व्यवसाय सुरु गरेको हुँ । व्यवसाय सुरु गरेपछि आफ्नो सीपको समेत अहिले सदुपयोग भएको छ ।

 अहिले व्यवसायको अवस्था कस्तो पाउुनभएको छ ?

 अहिले सन्तोषजनक नै रहेको छ । कोभिडभन्दा पछि केही कमी भएको छ । त्यो अहिले सुधारोन्मुख भएको छ । अहिले आप्mनो परिवारले मात्र चलाएका छौँ । कोभिडभन्दा पहिले अरु व्यक्ति राखेका थियौँ । हाम्रो मात्र नभइ सबै व्यवसाय घटेको छ । हामीले आप्mनै घरको जस्तै अर्गानिक खाना खुवाउने भएकाले एक पटक खाना खाएको व्यक्ति फेरि–फेरि आउने गर्नुहुन्छ । हामीकहाँ खाना खानेहरू खुसी नै रहेको पाएका छौँ । हामीले खसी र लोकल कुखुराको परिकार बनाउने गरेका छौँ । हामीले बनाएका परिकारहरू स्वदेशमा मात्र नभई विदेशमा समेत लैजानुभएको छ । अर्डरअनुसार हामीले वस्तु उत्पादन गर्ने गरेका छौँ ।

 होटल व्यवसाय सञ्चालन गर्नुभएको छ, के–कस्ता समस्या भोग्नुपरेको छ ?

 समस्या त जुनसुकै ठाउँमा हुन्छन् । समस्या नभएको कुनै काम छैन । अझ व्यवसाय सञ्चालन गर्दा धेरै समयसम्म काम गर्नुपर्दा केही समस्या हुन्छ तर यसलाई समस्याको रूपमा लिनेगरेको छैन । आफूले सुरु गरेको व्यवसाय खुसीका साथ अगाडि बढाएको छु । पारिवारिक वातावरणसँगै भान्सा घरको रूपमा सञ्चालन गरेकाले अन्य होटेलमा जस्तो समस्या छैन । काम गर्ने मान्छे सहज रूपमा नपाउने समस्या छ । घरपरिवारको सहयोगले काम गर्न सहज भएको छ । घरपरिवारको सहयोग नहुने हो भने कुनै पनि काम गर्न सहज हुँदैन ।

 होटेल क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै हाम्रो समाजमा त्यत्तिको सकारात्मक छैन, त्यसमा पनि महिला आफैले चलाउनुभएको छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

 होटेल भनेको मानिसको आप्mनो घरपछिको दोस्रो घर हो । यसलाई पाहुना घरको रूपमा समेत लिइने गरिन्छ । होटेल व्यवसायलाई हेर्ने दृष्टिकोण भने फरक रहेको छ । यसलाई परिवर्तन गर्न जरुरी रहेको छ । यसका लागि व्यवसायीहरूले समेत आप्mनो व्यवसायलाई सुधार गरेर लग्न जरुरी रहेको छ । आप्mनो व्यवसाय सुधार गर्न आफै नै लाग्नु पर्दछ । आफू लागेमा मात्र होटेल क्षेत्रमा हुने विकृति रोक्न सकिन्छ । केही होटेल व्यवसायीहरूको कारणले सिङ्गो होटेल व्यवसाय नै वदनाम हुने गरेका छन् । यो राम्रो पक्ष होइन् । पारिवारिक वातावरण निर्माण गरेर त्यस्तै वातावरणमा बस्ने हुनु पर्दछ ।

 राज्यको तर्फबाट होटेल व्यवसायीलाई के गरिदिन आवश्यक छ ?

 होटेल पनि एक उद्योग हो । राज्यले उद्योग सरह मान्यता दिएर सहुलियतामा ऋणको व्यवस्था, कर छुट दिने व्यवस्था गराउनु पर्दछ । राज्यले व्यवसाय गर्ने वातावरणको सिर्जना गरिदिनु पर्दछ । अहिले व्यवसाय गर्ने वातावरण निर्माण हुनसकेको छैन । होटेलहरूको पनि वर्गीकरण गर्न जरुरी रहेको छ । निश्चित मापदण्ड बनाएर वर्गीकरण गरिनु पर्दछ । कस्तो प्रकारको होटेल हो भनेर निगरानी समेत गर्न आवश्यक छ । राज्यले उचित निगरानी गर्नसकेमा विकृति रोक्न समेत सहयोग पुग्नेछ । त्यसको लागि राज्यले व्यवसायीलाई सहज रूपमा लगानी गर्ने वातावरण निर्माण गर्न आवश्यक छ तर त्यो अझै बनेको अवस्था छैन । यसमा राज्यले विशेष भूमिका खेलेर होटल व्यवसाय गर्ने वातावरण निर्माण गर्न आवश्यक छ ।

 अधिकांश महिलाहरू घरमा मात्र सीमित हुने गर्नुहुन्छ, किन होला ?

 परनिर्भर हुने कारणले अधिकांश महिलाहरू घरमै सीमित हुने गरेको देखिन्छ । घरमा एक जनाले काम गरे भइहाल्यो नि, खान पुगेकै छ भन्ने सोचकै कारणले पनि अरुले काम नगरेको पाइन्छ । यो कार्य राम्रो होइन् । हामीले पनि केही गर्न सक्छौँ भनेर अगाडि बढ्न आवश्यक छ । महिला मात्र नभइ सबैले आत्मनिर्भर बन्नु पर्दछ भन्ने सोच राखेर अगाडि बढेमा घरभित्र मात्रै सीमित हुनु पर्दैन जस्तो लाग्छ । सबै आत्मनिर्भर बन्न सकेमा घरव्यवहार चलाउन समेत सहज हुन्छ ।

त्यसका लागि घरपरिवारले पनि सहज वातावरण निर्माण गरिदिनु पर्छ । हाम्रो समाज भनेको पुरुषप्रधान समाज हो । महिलाले केही काम गर्न थालेमा होच्याउने प्रवृत्ति छ । त्यो कार्यले महिलाहरूलाई कमजोर बनाउने काम गर्छ । हामी एकातिर समतामूलक समाज निर्माण गर्ने भन्छौँ भने अर्कोतिर महिलालाई कमजोर बनाउने काम पनि यही समाजबाट हुने गरेको छ । त्यसकारण समतामूलक समाज निर्माणको लागि पनि पुरुषसरह महिलाहरू आत्मनिर्भर बन्न आवश्यक छ । त्यसको वातावरण निर्माण गर्ने पहिलो दायित्व भनेकै घरपरिवारको हो ।

 अन्त्यमा केही भन्नु छ ?

 मेरो विचार राख्ने अवसर दिनु भएकोमा तपाईँ तथा गोरक्ष पत्रिका परिवारलाई धन्यावाद दिन चाहन्छु । व्यवसायमा आएपछि के गर्ने, कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउन जरुरी छ । योजना र भिजन हुन नसकेमा कुनै पनि स्थानमा सफलता हासिल गर्न सकिँदैन । नयाँ आउनेलाई मेरो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार छु । पैसा कमाउनका लागि मात्र व्यवसाय गर्ने होइन् । सामाजिक सेवाको दृष्टिले अगाडि बढ्नुपर्छ । होटेलमा पारिवारिक वातावरण बनाउनु पर्छ । राज्यले सीप सिक्ने वातावरण बनाउनु पर्दछ ।

राज्यले निःशुल्क सीप, सहज र सहुलियतमा ऋणको व्यवस्थापन गरिदिनु पर्छ । सीप सिकेमा मानिसलाई बेरोजगार हुनुपर्ने छैन । यसका लागि सीप सिक्ने स्थान बनाउनु पर्छ । उत्पादन भएका सामग्री तथा वस्तुको बजारीकरण गर्नमा सहजीकरण गरिदिनु पर्दछ । यसले व्यवसायमा लाग्नेलाई सहज हुनेछ । जसले गर्दा बेरोजगारीको समस्या समाधान गर्न समेत सहयोग पुग्नेछ । देशमा उत्पादन वृद्धि हुनुका साथै आत्मनिर्भर बनाउन सहयो पुग्नेछ ।