घोराहीकोे सार्वजनिक सुनुवाईमा ठेकेदारको खोजी

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २० मंसिर । घोराही उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले सडक अलपत्र पारेर ठेकेदार बेपत्ता भएको भन्दै खोजी गरिदिन आग्रह गरेका छन् । बर्षाै वित्दा पनि सडक निर्माणसँगै कालोपत्रे गर्नका लागि ठेकेदार नआएको भन्दै घोराही–४ बसन्तापुर निवासी भुपाल थापाले सार्वजनिक सुनुवाई कार्यक्रममा सडक अलपत्र पार्ने ठेकेदारलाई सम्पर्कमा ल्याइदिन नगर प्रमुखलाई अनुरोध समेत गरे ।

घोराही उपमहानगरपालिका–५ को धारापानी–भैसकुर्मा–बन्जाडी–गोग्ली–डाडागाउँ–बसन्तापुर–लक्ष्मीपुर हुँदै सवारीकोट जोड्ने पर्यटकीय सडक कालोपत्रे गर्दागर्दै करिब डेढ बर्षदेखि ठेकेदार सम्पर्कमा छैनन् । ‘सडक कालोपत्रे गर्दागदै ठेकेदार बेपत्ता भएको छ’, उनले भने– ‘बेपत्ता ठेकेदारलाई खोजी गरिदिन आग्रह गर्दछु’, उनले भने ।

घोराही उपमहानगरपालिका–२ निवासी जयन्द्र चौधरीले रामपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको बारेमा प्रश्न गरे । चौधरीले पनि सार्वजनिक सुनुवाई कार्यक्रममा वक्ताहरुलाई प्रश्न गर्दै भने– ‘स्वास्थ्यचौकीको स्तरवृद्धि हुँदै सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बन्यो । केन्द्र बनेसँगै स्वास्थ्यका लागि आवश्यक ल्याव, एक्सरेलगायतका महत्वपूर्ण उपकरण आए तर ती उपकरणहरु किन प्रयोगमा आउँदैनन् ?’ लामो समयसम्म प्रयोगमा नआउँदा महत्वपूर्ण उपकरणहरुमा खिया लाग्ने अवस्था आएको भन्दै सहभागी चौधरीले सहरी स्वास्थ्य केन्द्रमा दक्ष जनशक्तिको व्यवस्था गरेर उपकरण संञ्चालनमा ल्याउन माग गरेका थिए ।

घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रमका अन्य सहभागीहरुले नगरका ग्रामीण क्षेत्रहरुमा सडक, विजुली बत्ती, खानेपानी, सिचाईको व्यवस्थासँगै विद्यालयको भौतिक अवस्थालाई सुधार गर्दै गुणस्तरीय शिक्षाका लागि ध्यान दिनुपर्ने, जनताको सेवाका लागि कर्मचारीहरु कार्यालयमा समयमै उपस्थिति हुनुपर्नेलगायतका प्रश्नहरु गरेका थिए ।

अहिले पनि उपमहानगरपालिकाभित्रकै बस्तीहरुमा खानेपानी, शिक्षा, सिँचाइ, सडक, बत्ती, स्वास्थ्लगायतका समस्याहरु देखिने गरेको भन्दै उनीहरुले ती समस्या समाधानका लागि उपमहानगरपालिकाले पहल गर्नुपर्ने बताएका थिए । साथै सहभागीले घोराहीको क्याम्पस रोडदेखि भरतपुरसम्म, बैंक रोडदेखि सहिदगेट हुदै जिल्ला प्रशासन कार्यालयलगायतका सडकहरुमा काम नगरेर सडक अलपत्र पार्ने, जनतालाई दुःख दिने ठेकेदारलाई कारवाही गर्न समेत माग गरेका थिए ।

प्रश्नको जवाफ पाएनन् सहभागीले

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले उठाएका प्रश्नहरुको जवाफ भने कार्यक्रमभर पाउन सकेनन् । वडा नं. ४ को अलपत्र सडक पार्ने ठेकेदारलाई खोजी गरिदिनुपर्ने, वडा नं. २ रामपुरमा रहेको सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रका उपकरणलाई प्रयोगमा ल्याउनुपर्नेसँगै वडा नं. १३ को सेवार खोला बस्तीमा आरसिसी ढलान गर्नुपर्नेलगायतका प्रश्न उठेपनि ती प्रश्न गर्ने सहभागीले जवाफ नै पाएनन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेल, शिक्षा विकास महाशाखाका प्रमुख बिनोद गौतम, महिला तथा सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्माले दिए पनि सहभागीले उठाएका यी प्रश्नहरुलाई सम्वोधन गर्न सकेनन् ।

राम्रो काम गर्दा केही समस्या देखिएका छन्

सहभागीले उठाएका प्रश्नहरु दिने क्रममा नगर प्रमुख नरुलाल चौधरीले नगरको विकासका लागि राम्रो गर्ने प्रयास गर्दागदैपनि केही समस्या देखिएको बताए । नगर प्रमुख चौधरीले भौतिक पूर्वाधार विकासतर्फ सडक, सिँचाइका लागि कृतिम जलाशय, फोहरबाट ग्यास उत्पादन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा, भाइरल सडकसँगै गाउँ–गाउँमा पुग्नका लागि बाटोहरु निर्माण गरे पनि बजार क्षेत्रमा सडक कालोपत्रे गर्नेदेखि घोराही उपमहानगरपालिकाको प्रशासनिक भवन निर्माणमा भइरहेको ढिलाईले समस्या गरेको बताए ।

‘नगरको विकासको सवालमा धेरै राम्रा कामहरु भएका छन् । भाइरल सडकहरु हुन् । जहाँ धेरैले टिकटक बनाउनुभयो’, नगर प्रमुख चौधरीले भने– ‘तर केही काम चाहेर पनि गर्न सकेका छैनौँ । जुन नगर क्षेत्रभित्र रहेर पनि आफ्नो क्षेत्राधिकारभन्दा बाहिरका छन् । जसले गर्दा नगरको बदनाम भइरहेको छ ।’ नगर प्रमुख चौधरीले सडक निर्माणका सवालमा गुणस्तरीय काम भइरहेको भन्दै अब पिच गरेको एक बर्षभित्रमा उप्कने कालोपत्रे कहीँकतै पनि नहुने बताए । कालोपत्रेका लागि अनिवार्य अक्सपाल प्रविधि अलम्वन गरिएको भन्दै अब कम गुणस्तरको प्रिमिक्स प्रविधिको एक बर्षमै उप्कनेपिच नहुने बताएका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० को पहिलो त्रैमासिकमा भएको प्रगति प्रतिबेदनमा घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी गराएका थिए । उनले पहिलो त्रैमासिकमा घोराही उपमहानगरपालिकामा भएका भौतिक तथा वित्तीय प्रगतिसँगै अघिल्लो आर्थिक बर्षमा सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको उपमहानगरपालिकाले सम्वोधन गरेको बताएका थिए ।

सूचनाअधिकारी चौधरीका अनुसार घोराही उपमहानगरपालिकामा पहिलो त्रैमासिकमा चालुतर्फ २२ प्रतिशत र पूँजीगततर्फ २ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ नगरको १ अर्व २७ करोड २२ लाख ६९ हजार ५ सय बजेटमध्ये २८ करोड ६१ लाख ७७ हजार ७ सय ६१ रुपैयाँ खर्च भएको र पूजीगततर्फ १ अर्व ६ करोड ६८ लाख ९ हजार पाँच सयमध्ये २ करोड ७ लाख ६९ हजार ५ सय ६८ रुपैयाँ खर्च भएको जानकारी गराएका थिए ।

कार्यक्रममा उपमहानगरपालिकाबाट सेवा लिएका नागरिक अभिमतको बारेमा तयार गरिएको प्रतिवेदन पत्रकार छवि पुरीले प्रस्तुत गरेका थिए । घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाका प्रमुख युवराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थारु पत्रकार संघका नवीन चौधरीले गरेका थिए । स्थानीय सरकार सञ्चालन ऐन अनुसार घोराही उपमहानगरपालिकाले प्रत्येक बर्ष त्रैमासिकरुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको छ ।