राजधानी घोषणाको दुई बर्षपछि मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रालयका लागि धमाधम तयारी

  •   
  •  

देउखुरी , २१ मंसिर । लुम्बिनी प्रदेशको स्थायी मुकाम र नामाकरण भएको दुई बर्षपछि स्थायी राजधानी दाङको राप्ती उपत्यकामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थान्तरण भएको छ । राजधानी कार्यान्वयनको लागी मुख्यमन्त्री कार्यालय सोमबार राती स्थायी राजधानी देउखुरीको लालमटियामा सारिएको हो ।

साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको भवनमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बनाएको छ भने अन्य मन्त्रालयहरुका लागि पूर्वाधार तयार गर्ने काम धमाधाम भैरहेको छ । अहिलेसम्म मुख्यमन्त्रीको निवास, मुख्यमन्त्रीको कार्यालय, प्रमुख सचिवको निवास तयार भएको छ । मंगलवार दिनभरी सोमवार राती प्रदेशको स्थायी मुकाम बुटवलबाट ट्रकमा ल्याइएका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सामाग्री व्यवस्थापन गर्ने काम गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिङ बिकले जानकारी दिएका छन् ।

प्रदेशको राजधानी कार्यान्वयनका लागि प्रदेशको स्थायी राजधानी लामटियामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सामग्री आईसकेपछि दिनभर कार्यालय व्यवस्थापनका लागि काम भएको प्रेस संयोजक बिकले जानकारी दिए । ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सामग्री ल्याइसकेपछि आज व्यवस्थापनको काम गरेका छौ’,उनले भने,‘यहाँको व्यवस्थापनको सम्पूर्ण तयारी सकिएपछि मुख्यमन्त्रीले औपचारिक रुपमा काम सुरु गर्र्नुहुने छ ।’ उनका अनुसार मन्त्रीपरिषद्को बैठक कक्ष, सचिवाल, एक्सन रुमलगायका सामाग्री स्थायी राजधानीको लालमटिया ल्याइएको छ ।

मुख्यमन्त्रीको कार्यालय दाङ स्थानान्तर गरिएसँगै प्रदेश राजधानी कार्यान्वयनको गति बढेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिएका छन् । प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय आईसकेपछि अव थप मन्त्रालयका लागि पूर्वाधार तयार गर्ने काम भैरहेको कार्यकारी अधिकृत पोख्रेलले बताए । ‘प्रदेशको स्थायी मुकाममा सवै मन्त्रालयलाई व्यवस्थापन गर्ने गरि काम भैरहेको छ’,प्रमुख कार्यकारी अधिकृत पोख्रेलले भने,‘त्यसका लागि साविकको राप्ती प्राविधिक शिक्षा क्षेत्रमा रहेका भवनहरुको मर्मत, नयाँ भवन निर्माणसँगै कम्पाउण्ड सरसफाईको काम भैरहेको छ ।’

  • साविकको राप्ती प्रादेशिक शिक्षालय रहेको करिव १८ बिहाग क्षेत्रफलमा रहेका करिव साना ठुला दुई दर्जन बढी भवनहरुको व्यवस्थापन गर्ने काम भैरहेको छ । प्रदेशको स्थायी मुकाममा यसअघि पर्यटन,ग्रामीण तथा सहकारी मन्त्रालय र स्वास्थ मन्त्रालय गरि दुई वटा मन्त्रालय स्थापना भइसकेका छन् । लुम्विनी प्रदेशको स्थायी मुकाम दाङ देउखुरीको राप्ती उपत्यका र नाम लम्विनी प्रदेश २०७७ असोज २० गते लुम्विनी प्रदेशको प्रदेशसभाबाट बहुमतले घोषणा गरिएको थियो । राजधानी कार्यान्वयनसंगै प्रदेशसभाको दोस्रो कार्यकालयको पहिलो बैठक स्थायी राजधानीको लालमटियामा आह्वान गर्ने गरि प्रदेश सरकारले तयारीलाई अघि बढाएको छ ।