calander

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  

Goraksha

National Daily

१५ सैयाको लक्ष्मीपुर अस्पताल, दुई बर्षमा सक्नुपर्ने काम सुरु नै भएन

दाङ, १२मंसिर । घोराही उपमहानगरपालिका–४ को भकारेमा दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ मंसिर १३ गते शिलन्यास भएको १५ श्ययाको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अझै सुरु हुनसकेको छैन ।

शिलन्यास भएको दुई वर्ष पूरा हुनै लाग्दा समेत अस्पतालको भवन निर्माणको काम सुरु हुन नसकेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताएका छन् । अस्पताल निर्माणका लागि शिलन्यास भए पनि विभिन्न प्राविधिक समस्याका कारण निर्माणमा ढिलाइ भएको प्रमुख घर्ती बताउँछन् । ‘अस्पताल निर्माणका लागि शिलन्यास भए पनि अझै सुरु हुनसकेको छैन’, उनले भने, ‘अब छिट्टै सुरु हुन्छ ।’

भवन निर्माणका लागि शिलन्यास भएको करिब ८ महिनापछि २०७८ असार २८ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भए पनि अस्पतालको डिजाइन मन्त्रालयबाट स्वीकृत नहुँदा निर्माणको काम लामो समयसम्म हुन नसकेको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेलले बताउँछन् । ‘अस्पतालको भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए पनि मन्त्रालयले डिजाइन स्वीकृत नदिँदा काम हुनसकेको थिएन’, पूर्वाधार महाशाखा प्रमुख पौडेलले भने, ‘अहिले रि–डिजाइन स्वीकृत भइसकेकाले अबको केही दिनमै अस्पताल निर्माणको काम सुरु हुन्छ ।’

महाशाखा प्रमुख पौडेलले करिब २०–२५ वटा कोठा भएको एक तले अस्पतालको भवन निर्माणका लागि जग्गा खाली गर्नेदेखि निर्माण व्यवसायीसँग कुरा भइसकेकाले छिट्टै सुरु हुने बताए । ‘भवन निर्माणका लागि डिजाइन स्वीकृत नहुनका साथै अस्पताल निर्माण गर्ने भनेको स्थानमा बसेका एकजना मानिसलाई पनि हटाउनुपर्ने थियो तर हटाउन सकिएको थिएन’, उन भने, ‘अब यी सबै प्राविधिक कामहरू सकिएका छन्, त्यसैले अब छिट्टै निर्माणको काम अघि बढ्नेछ ।’

संघीय सरकारको बजेटमा घोराही उपमहानगरपालिकाले प्राविधिक सहयोग गर्ने गरी अस्पतालको भवन निर्माणका लागि सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार घोराही उपहानगरपालिकाबाट डिजाइन भएको अस्पतालको भवन मन्त्रालयबाट स्वीकृत नगर्दा लामो समय भवन निर्माणको अलपत्र परेको पूर्वाधार महाशाखा प्रमुख पौडेलले बताएका छन् । ‘अस्पताल शिलन्यासको बेला डिजाइन पनि थिएन, स्टिमेट पनि थिएन, त्यत्तिकै शिलन्यास मात्रै भयो’, प्रमुख पौडेलले भने, ‘जसले गर्दा भवन निर्माणको काममा विभिन्न कारणले ढिलाइ हुने काम भयो ।’

संघीय सरकारको करिब १० करोड ६६ लाख ४ हजार ९ सय १ रूपैयाँमा निर्माण हुने अस्पतालले घोराही उपमहानगरपालिकाका वडा नं. ४, ३, २ र १ नं. का वडाबासीलाई स्वास्थ्य सेवा लिन सहजता हुने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख घर्तीले बताए । अस्पतालको तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिलन्यास गरेका थिए ।