‘करको दरभन्दा दायरा बढाऔं’

  •   
  •  

११औं राष्ट्रिय कर सप्ताह
गोरक्ष समाचारदाता
दाङ, ८ मंसिर । ‘स्वइच्छिक सहभागिता सहितको फराकिलो कर आधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारा सहित कर सप्ताह समापन गरिएको छ । सप्ताहको समापनको अवसरमा आन्तरिक राजस्व कार्यालय दाङ तुलसीपुरले प्रभातफेरी तथा करदातालाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट सुरु भएको ¥याली तुलसीपुरका विभिन्न भागको परिक्रममा गरी तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले करको दर नभइ दायरा बढाउनुपर्ने बताएका थिए । अहिले पनि सबै व्यावसायी करको दायरामा आउन नसकेको भन्दै सबैलाई करको दायरामा ल्याउनुपर्ने उनीहरूले बताएका थिए । पछिल्लो समयमा उद्योग तथा व्यावसाय क्षेत्र घरासयी हुँदै गएको भन्दै राज्यले उचित वातावरण सिजना गर्नुपर्ने उनीहरूको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । ‘देशको आर्थिक क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो सहयोग रहेको छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । उद्योगी तथा व्यावसायीले राज्यलाई कर तिर्नुपर्ने दायित्व रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । आफ्नो दायित्व भुल्न नहुने समेत उनले बताए । कर तिरेवाफत राज्यबाट सेवासुविधा पाउनु नागरिक तथा उद्योगी एवम् व्यावसायीको अधिकार रहेको उनले बताए ।

जिल्लाको आर्थिक विकासका लागि योजना बनाएर अगाडि बढ्न समेत उनले आग्रह गरे । योजना बनाएर अगाडि बढेमा जिल्लामा औद्योगिक विकास गर्न सकिने बताए । ‘औद्योगिक विकास भएमा जिल्ला आर्थिक रूपमा समेत अगागि बढ्नेछ’, उनले भने, ‘भएका स्रोतसाधनको उचित प्रयोग गरेर अगाडि बढ्नुपर्छ ।’ औद्योगिक विकासका लागि शान्ति सुरक्षाको व्यवस्था गर्न आफूहरूको तर्फबाट सहयोग रहने उनले बताए । ‘उद्योगी तथा व्यावसायीले पनि आफ्नो तर्फबाट सुरक्षाको व्यवस्था गर्नुपर्दछ’, उनले भने ।

जसले गर्दा उद्योग व्यवसाय सुरक्षित बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको छ । जिल्लामा द्वन्द्व बढाउने काम प्रशासनबाट नहुने समेत उनले बताए । जिल्लामा आयोजना हुने मेलामहोत्सव सबैको सहमतिमा मात्र सञ्चालन गरिनुपर्ने उनले बताए । ‘द्वन्द्व बढाउने काम हामीबाट हुँदैन, द्वन्द्वले समाजमा समस्या बढाउँछ’, प्रजिअ रेग्मीले भने । यसबारे आफूहरू सचेत रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले हरेक क्षेत्रबाट उद्योगी तथा व्यावसायीमाथि प्रहार भइरहेको बताए । कोभिडले थला परेका उद्योगी तथा व्यवसायीलाई बैंकले वृद्धि गरेको व्याजले थप समस्यामा पारेको बताए । विभिन्न समस्याका कारण अहिले धेरै उद्योगी तथा व्यावसायी पलायन हुँदै गएको उनको भनाइ रहेको छ । करको दायराभन्दा बाहिर रहेकालाई दायरामा ल्याउनुपर्ने बताए । करको दायराभन्दा बाहिर रहेकालाई करको दायरामा ल्याउन उद्योग वाणिज्य संघले पनि सहयोग गर्दछ । ‘हामी राज्यसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौँ’, अध्यक्ष बुढाथोकीले भने ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पछिल्लो समय उद्योगी तथा व्यवसायी पलायन हुँदै गएको बताए । अहिले धेरै कोठाहरू खाली हुँदै गएको उनले बताए । कोभिड तथा बैंक व्याज वृद्धिले व्यवसायी पलायन हुँदै गएको उनले बताए । राज्यले व्यवसाय गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय गैरव्यावसायीबाट समेत व्यापारिक मेला महोत्सव लगाउने कार्य गरिएको भन्दै यस प्रकारका कार्य रोकिनुपर्ने बताए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख टीकाराज चौलागाईले कार्यालयले सचेतनासँगै करको दायराभन्दा बाहिर रहेकालाई दायरामा ल्याउने बताए । यसका लागि सबैको सहयोग रहनुपर्ने समेत बताए । ‘हामी सबै मिलेर अगाडि बढेमा देशको आर्थिक विकासमा सहयोग पुग्नेछ’, प्रमुख चौलागाईले भने ।

कार्यक्रममा अडानका रमेश केसी, सम्मानित व्यक्तिहरू गेहेन्द्र बस्नेत, बलदेव योगी, सौगतवीर चौधरी, तुलसीपुर चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीलगायतले बोलेका थिए । कार्यालयका करअधिकृत सनु काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण करअधिकृत राजेन्द्र भण्डारीले गरेका थिए । अघिल्ला वर्षहरूमा सप्ताहको अवसरमा ७ दिन नै विभिन्न कार्यक्रमको आयोजना गरिए पनि यस वर्ष चुनावका कारण कार्यक्रम हुन सकेन ।

उत्कृष्ट करदातालाई सम्मान

समापनको अवसरमा उत्कृष्ट ३ करदातालाई सम्मान गरिएको छ । त्यस अवसरमा उद्योगीतर्फ गणपति भेनेएर प्लाइउड उद्योगका प्रोपाइटर गेहेन्द्र बस्नेत, राप्ती अटो इन्जिनियरिङका प्रोपाइटर बलदेव योगी, आत्म लघुवित संस्थालाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । यसैगरेर कार्यालयका कार्यालय सहयोगीहरू विष्णु चौधरी र गल्फी चौधरीलाई सम्मान गरिएको थियो ।