विनोद पोख्रेल
२०७८ बैशाख १४ गते
मान्छेले स्वार्थ छोड्नुपर्छ, परिवारको बारेमा मात्रै सोच्नु हुँदैन भन्छन् । सुन्दा राम्रो लाग्छ । ठिक पनि हो भन्ने लाग्छ तर जति समस्याले च्याप्दै जान्छ त्यति मानिसको मानसिकता पनि साँघुरो हुँदै जान्छ । त्यसमा पनि सन्तानको व्यक्तिको ठूलो कमजोरी हो । अहिलेकै कुरा गर्ने हो भने कोरोनाको प्रभाव बढ्दै गएको र उपचार गर्ने ठाउँ समेत नभएको भन्ने समाचारले मन आत्तिएको छ । हुन त मेरो छोराहरु आफ्नो लागि राम्ररी सोच्न सक्ने भएका छन् ।
सामाजिक सांगठनिक जिम्मेवारी पनि लिएर निभाएका छन् । यस्ता जिम्मेवारी निभाउन सक्छन् भन्ने विश्वास पनि छ । तर मलाई उनीहरुबारे अलि बढी चिन्ता छ । नजिकै लमही भएकाहरु पनि आफ्नो घरमै सीमित भएर बस्न पाए हुन्थ्यो जस्तो लाग्छ । सके त सबै सँगै भएको राम्रो, नभए पनि आफू बस्ने ठाउँमा सुरक्षित बसे सन्तुष्टि हुने थियो । चिन्ता सबैको बारेमा छ । कसैलाई केही समस्या नभए हुन्थ्यो भन्ने लाग्छ । तर आफ्नो सन्तानमा केही बढी फोकस हुन्छ । खोई, नेतृत्व र प्रशासनले के कसरी सोच्छ ? लमहीमा स्कूल अझै चलिरहेका छन् । भोलिबाट जाँच सुरु हुने समेत भएको छ । अन्यत्रका जाँच समेत स्कूलले स्थगित गरेको खबर छ ।
त्यहाँ केही नभएजस्तो गर्छन् । हिजो साँझ त कतै त्यहाँ पनि सबै स्थगित गर्ने निर्णय गरेको पढेको हुँ । औपचारिक रुपमा बन्दको घोषणा भएको अझै थाहा छैन । परीक्षा भरि चलाउने भने पनि एउटा नाति र बुहारी स्कूल जानुपर्ने हुन्छ । त्यस्तै विशाल चितवनमा छ । भोलि काठमाडौं फर्किने भन्दै थियो । त्यो पनि त्यसको बस्ने ठाउँमा पुग्यो भने मात्रै केही सन्तोष हुनेछ । विपुल धेरैसँग भेट्न बाध्य छ । उसका कामले, अरुका कामले औपचारिक, अनौपचारिक रुपमा भेट गर्नैपर्ने हुन्छ । यस्तो स्थितिमा सबैलाई मानिने रहेछ । कहीँ गल्ती गर्छन् कि अथवा कतै जानेर वा नजानेर गल्ती हुन्छ कि जस्तो लाग्छ ।
आत्माले अफिस के गर्ने हो ? सबै ठाउँ उस्तै सुरक्षा नहुनसक्छ । झन गोरक्ष पत्रिकामा काम गर्नेहरुमध्ये केही एकैपल्ट बिरामी भएपछि पत्रिका नै बन्द गर्नुपर्ने भएको छ । यसले अब सुलोचना सुरक्षित छ भन्ने लागेको छ । अझ पनि सुरक्षित होउन् । बिरामी भएकाहरु पनि चाँडो स्वस्थ होउन् भन्ने चाहना छ । तर ध्यान बढी लमही र काठमाडौंमा छ । पर्सिबाट त काठमाडौंबाट आउने जाने नै बन्द गर्ने भनेको छ ।
भोलिसम्म विशाल त्यहाँ पुग्छ कि, आत्मा र विशाल त ननिस्केलान् । विपुल ननिस्के भन्ने हो कि होइन ? निस्कनै पर्ने भए के कसरी निस्कने हो ? यही कुरा उनीहरुसँग गर्दा आफू अरु समक्ष र जान्ने भएको सम्झन्छन् तर पनि सोच त्यतातिर गइ नै हाल्छ । यति कुरामा मैले नै उनीहरुको भर पर्नुपर्छ । कति कुरा उनीहरुले मभन्दा धेरै जानेका छन् । तर पनि सन्तान मोहको शिकार सबै हुन्छन् जस्तो लाग्छ । यदि हुन्नन् भन्ने यो मेरो कमजोरी हो र म यसलाई सजिलैसँग स्वीकार गर्छु ।
२०७८ बैशाख १५ गते
आज अलिकति चाँडो भयो जस्तो छ । सूर्यको हल्का लालीमा मात्र देखिएको छ । त्यो एक्लो चरो अझै देखिएको छैन । बरु एउटा ढुकुर आएर तारमा बसेको थियो । त्यो पनि अहिले छैन । दिनहरु अलि अप्ठेरोसँग बित्दैछन् । भोलिबाट काठमाडौं बन्द हुँदैछ, केही दिनका लागि । पोहोर साल एक महिनाको लागि भनिएको थियो, अहिले बैशाख मसान्तसम्मलाई भनिएको छ, सायद । सोह्र दिन करिब पुग्छ । त्यस्तै दाङ पनि पर्सिबाट नौ दिनको लागि निषेधाज्ञा हो कि लकडाउन होमा जाँदैछ ।
शब्द पनि समयले बढी प्रयोग हुने । बढी चर्चा हुने गर्छन् । आजभोलि लकडाउन जनजिभ्रोमै बसिसकेको जस्तो लाग्छ । आज मेरो मनमा दुईवटा कुरा छन् । एउटा अतिधेरै गरिसकियो भन्ने मानवीय अहम्को हैसियत थाहा भएको छ । २०१९ बाट सुरु भएको रोगको २०२१ सम्म पनि भरपर्दो र सबैको पहुँचको औषधी बन्न सकेको छैन । बरु संसारमा मूल्य नरिेर पाइने प्रकृतिले आफै बाँड्ने हावा, अक्सिजनको कमी भएको भनेर तर्सो थपिएको छ । हामी जसता सामान्य मानिसले त सम्बन्धित निकायको जे भन्छन् त्यही पत्याउने हो ।
उनीहरुकै भनाइका आधारमा मेरो मनमा यिनी कुरा आएका छन् । प्रकृतिमा अक्सिजनको कमी हुनुको कारण, कसले र कहिले पत्ता लगाउने होला ? त्यस्तै सबै गर्न सक्यौँ वा सक्छौा भन्नेले मानिसलाई सास फेर्ने वातावरण बनाउन कहिले सक्ने होला ? मैले देखेको, सुनेको, भोगेको त यस्ता विषयमा पनि एउटा देशले अर्को देशलाई, एउटा निकायले अर्को निकायलाई दोष दिएर गाली गरेर र आफू चोखो प्रमाणित हुने प्रतिस्पर्धा नै चलेको छ । हिजो मात्रै एउटा सञ्चार माध्यमले भन्यो– दिलीमा सबै सिस्टम नै फेल भइसक्यो ।
अब केन्द्रको जिम्मा दिनुपर्छ । अहिलेसम्म केन्द्रले दिल्ली हेरेको थिएन ? म समाचारले पनि अचम्म परेँ । त्यस्तै यहाँ यत्रो संकट छ तर खर्चका बिलहरु अपत्यारिलो तरिकाले बढेका छन् । प्रष्ट भन्दा औषधी र आवश्यक सामानमा भ्रष्टाचार भएको गन्ध पनि आएकै छ । धन्य मानव मस्तिष्क । लासमा वा रोगमा समेत भ्रष्टाचार । दोस्रो कुरो अहिले अलि–अलि बहसकै रुपमा उठेको कुरो मानव स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमध्ये कुन जरुरी भन्ने छ ।
अर्थतन्त्र धरासायी भएर फेरि उठ्न पनि सक्छ । मानव जीवन नै संकटमा पुगेको हो भने अर्थतन्त्रको स्थान नै रहँदैन । मानव जीवन नरहे केका लागि अर्थतन्त्र ? तर आफ्नो उद्योग, व्यापार आदिमा असर नपरोस् बरु यसको मानव जीवनमा जति नकारात्मक प्रभाव परे परोस् भन्ने सोचले पनि तर्साएको छ । मानिस अब फेरि एकपल्ट विकासलाई उपभोगवादसँग नजोडेर मानव जीवनका आवश्यकताहरु जस्तो स्वास्थ्य, शिक्षाको क्षमता वृद्धिबारे सोच्ने बेला भएको जस्तो लाग्छ । बिरामी भएका बेलामा जाने अस्पताल समेत बनाउन नसकेकाहरुले अरु काम ग¥यौँ भनेर भाषण गर्न आफैमा एउटा व्यङ्ग्य बाहेक केही हुँदैन ।