४२ वडाका मतदान स्थल संवेदनशील

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, ३ मंसिर । स्थानीय तहको निर्वाचनमा अस्वाभाविक मतदान भएको ठाउँलाई संवेदनशील मानेर निर्वाचन आयोगले विशेष निगरानी गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा औषत ७० दशमलव ९६ प्रतिशत मतदान हुँदा २२ पालिकाका ४२ वडामा ९० प्रतिशतभन्दा बढी मत खसेको थियो । ती वडाका मतदानस्थल संवेदनशीलको सूचीमा परेका हुन् ।

आयोगले पाँचथरको हिलिहाङ गाउँपालिकाका वडा १ देखि ७ का मतदानस्थललाई सबैभन्दा बढी संवेदनशील मानेको छ । स्थानीय तहको निर्वाचनमा त्यहाँका अधिकांश वडामा शतप्रतिशत मत खसेको थियो । प्रायः सधैं बुथ कब्जा हुने गरेको दोलखाको बैतेश्वरलाई पनि आयोगले निगरानीको सूचीमा राखेको छ । स्थानीय तहको निर्वाचनमा बैतेश्वर–१ मा ९९ दशमलव ६५ प्रतिशत मत खसेको थियो । नुवाकोटको बेलकोटगढी–१० पनि संवेदनशील सूचीमा परेको छ ।

संवेदनशील मतदानस्थलमा बाजुराको गौमुल–१ लाई पनि राखिएको छ । गत स्थानीय निर्वाचनमा त्यहाँ ९.८ प्रतिशत मत खसेको थियो । बाजुराकै त्रिवेणी नगरपालिकाका वडा ५ र ७ तथा बुढीनन्दा नगरपालिका–१०, अछामको कमलबजार नगरपालिका–२, बझाङको साइपाल गाउँपालिका–१, २ र ५ पनि संवेदनशीलमा परेका छन् । ९७ प्रतिशतसम्म मतदान गरिएका डोल्पाको ठूलीभेरी नगरपालिकाका वडा २, ५, १० र ११ पनि आयोगको निगरानीमा परेका छन् । डोल्पाकै जगदुल्ला गाउँपालिकामा ९० देखि ९५ प्रतिशतसम्म मत खसेको थियो । त्रिपुरासुन्दरी नगरपालिकाका ५, ७, १० र ११, मुडकेचुला गाउँपालिका–५ मा पनि ९० प्रतिशतभन्दा बढी मतदान भएको थियो । आयोगले यी वडालाई पनि निगरानी गर्ने भएको छ ।

मुगुको छायानाथ रारा नगरपालिकाका वडा, ९ र १४ पनि आयोगको निगरानीमा पर्ने भएका छन् । मुगुकै मुगुम कर्मारोग गाउँपालिका–९ र सोरु गाउँपालिका–५ पनि अस्वाभाविक मतदान भएको थियो । मधेस प्रदेशमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– मा ९५ प्रतिशत मतदान भएको थियो । रौतहटको मौलापुर नगरपालिका–३ मा पनि ९० प्रतिशतभन्दा बढी मतदान भएको ठाउँमा पर्छ । वीरगन्ज महानगरपालिका–६ मा ९८ प्रतिशत मतदान भएको थियो । यस्तै, हुम्लाको चंखेली गाउँपालिका–३, सिमकोट गाउँपालिका–१ र ८ मा पनि अस्वाभाविक मतदान भएको आयोगले जनाएको छ ।

दार्चुलाको अपिहिमाल–५ पनि आयोगको विशेष निगरानीमा परेको छ । आयोगले संवदेनशील मतदानस्थललाई विशेष निगरानी गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ९० प्रतिशतभन्दा बढी मतदान भएका ठाउँमा कर्मचारीको पनि निगरानी भइरहेको जानकारी दिए । ‘त्यसबेलाकै कर्मचारी अहिले पनि खटिएका हुन सक्ने भएकाले उनीहरूको निगरानी गरिरहेका छौं’, उनले भने । केही मतदानस्थलमा आयोगका पदाधिकारी नै खटिने उनले बताए । अस्वाभाविक मतदान भएको मतदान स्थलको अनुगमन गर्न आयोगका पदाधिकारी नै जाने भएका छन ।

अस्वाभाविक मत खसेको स्थानमा हेलिकोप्टरबाट पनि अनुगमन गर्ने तयारी भइरहेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘विगतमा जे भएको थयो । यसपालि हुन नदिने आयोगको तयारी छ । औसतभन्दा बढी मत खसेको ठाउँमा हामीले विशेष निगरानी गर्छौं’, उनले भने । आयोगले गृह मन्त्रालयलाई अस्वाभाविक मत खसेको ठाउँमा सुरक्षा व्यवस्था थप कडा पार्न निर्देशनसमेत दिएको उनले बताए ।