साफ विजेता विद्यार्थीलाई सम्मान

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, ३ मंसिर । बंगलादेशमा भएको नवौँ अन्बडर– १५ साफ महिला फुटबलमा नेपाललाई प्रथम बनाएर फर्केका दाङका दुई खेलाडीलाई सम्मान गरिएको छ । तुलसीपुर– ६ स्थित डिभाइन टेम्पल एकेडेमीमा अध्ययनरत राधिका वली र अञ्जना पुनलाई बाजागाजासहित बजार परिक्रमा गराएर सम्मान गरिएको हो । खेलमा नेपालको तर्फबाट सानदार प्रदर्शन गर्दै प्रथम भएको भन्दै सम्मान गरिएको हो ।

उनीहरूले जनही पाँच लाख पुरस्कार र आउने–जाने भाडा साढे दुई लाख प्राप्त गरेका थिए । ‘हाम्रा विद्यार्थी साफ गेम खेलेर फर्केपछि हामी थप उत्साहित भएका छौँ । हाम्रा उत्पादनहरू देशको प्रतिनिधित्व गर्ने साफ गेम खेल्न सफल हुनु हाम्रा लागि गर्वको कुरा हो’, विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले भने ।

नेशनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुवास न्यौपानेले विद्यालयले खेलकुदमा विद्यार्थीलाई सहभागी गराउनुपर्ने बताएका थिए । कार्यक्रममा नवौँ राष्ट्रिय फुटबल प्रतियोगितामा लुम्बिनीलाई प्रतिनिधित्व गर्दै सहभागी भएकी संगीता विक, दीपा पुन मगर, जुना छिनाल र टीका केसीलाई पनि सम्मान गरिएको थियो ।