गोरक्ष समाचारदाता
दाङ, ३ मंसिर । राप्ती बहिरा संघ दाङले निर्वाचन स्थललाई अपाङ्गमैत्री बनाउन माग गर्दै प्रदेश निर्वाचन कार्यालयमा ज्ञापन–पत्र बुझाएको छ । बहिरा संघका अध्यक्ष रीता चौधरीको नेतृत्वमा आएको टोलीले प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीलाई ज्ञापन–पत्र बुझाएको हो ।
ज्ञापन–पत्रमा मतदान गर्न जाने ठाउँ अपाङ्गता भएका व्यक्तिहरूले बिनाअवरोध सजिलैसँग जानसक्ने व्यवस्था मिलाउनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूले गोप्य रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक परेको खण्डमा उनीहरूले चाहेअनुरूप भोट खसाल्नका लागि चाहिने सहयोगका लागि स्वीकृति दिइनुपर्ने, मतदाता बहिरा भएको स्थानमा साङ्केतिक दोभाषेको व्यवस्था गर्न, मतदान गर्ने तरिका सरल र बुझिने खालको भएको निश्चित गरिनुपर्ने, मतपत्र अपाङ्गता भएका व्यक्तिहरूले सजिलै उपयोग गर्नसक्ने हुनुपर्ने माग गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह आप्mनो सहायक सामग्री र आफूले राजेको सहयोगीका साथ आवतजावत गर्ने अधिकार प्रयोग गरी मतदान गर्नपाउने व्यवस्था गरिनुपर्ने, निर्वाचन कार्यालयमार्फत् स्वयम्सेवक परिचालन गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूका निमित्त सवारी साधनकोे आवागमनको विशेष व्यवस्था मिलाइनुपर्ने, निर्वाचन व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता हुनुपर्ने, महिला, गर्भवती र जोखिम समूहका महिला, ज्येष्ठ नागरिक, तेस्रोलिङ्गी, मेधेशी, विपन्न, अल्पसङ्ख्यकको राजनीति जीवनमा सहभागिता, मतदानको अधिकार सुनिश्चिता गर्न माग गरिएको छ ।
ज्ञापन–पत्र बुझदै प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले जिल्ला स्तरबाट हुनसक्ने माग पूरा गर्न लागिने बताए । ज्ञापन पत्रका बारेमा आयोगलाई समेत जानकारी गराउने समेत उनले बताए । मतदान अधिकृतको तालिमभन्दा पहिले यस प्रकारको जानकारी आफूहरूलाई आएको भए सबै मतदान अधिकृतहरूलाई तालिमको समयमै जानकारी गराउन सहज हुने उनले बताए । ‘अहिले अन्तिम तयारीमा छौँ, सम्भव भएसम्मको प्रयास गर्ने छौँ’, प्रमुख भण्डारीले भने ।
निर्वाचन स्थलहरू अपाङ्गमैत्री बनाउन आफूहरूले प्रयास गरेको समेत उनले बताए । सबै मिलेर निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गरिनुपर्ने उनले बताए । ज्ञापन–पत्र बुझाउन राष्ट्रिय अपाङ्ग महासंघका अजयकुमार शर्मा, अपाङ्ग समाज सुधारका हुमाकान्त कँडेल, संघका कार्यक्रम संयोजक बसन्ती वली, दोभासे स्मृति योगी, पार्वती वलीलगायतको सहभागिता थियो ।