कस्तोलाई भन्छन्, हेभिवेट ?

दाङ क्षेत्र नम्बर २ को निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । प्रतिनिधिसभा सदस्यका लागि एमाले महासचिव शंकर पोख्रेल र पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्माबीच प्रतिष्पर्धा हुनलागेको यो क्षेत्रमा रोचक भिडन्त हुने लख काटिएका छन् । गठबन्धनको साझा उम्मेदवारका रूपमा प्रस्तुत भएकी शर्मा गठबन्धनको मत आफ्नो जितका लागि काफी हुने बताउँछिन् । गठबन्धनको मतका आधारमा आफ्नो जित सुनिश्चित गर्न खोजेकी उनै रेखा शर्मासँग पत्रकार देवेन्द्र बस्नेतले गरेको कुराकानी ।

 चुनावी दौडका क्रममा यहाँले मतदाताहरूको अपेक्षा के पाउनुभयो ?

 हामी लामो राजनीतिक प्रकृयाबाट यहाँसम्म आइपुग्यौँ । जुन रूपमा मतदाताले अपेक्षा राख्नुभयो, स्वाभाविकै रूपमा विकास निर्माणको अपेक्षा रहने नै भयो । यसर्थ अहिले पनि विकास निर्माणको अपेक्षा पहिलो छ । मतदाताको अर्को भनोभाव या सुझाव भनौँ, सक्ने कुराहरू मात्रै गर्नुस्, सकिँदैन भने सक्दैन भन्नुस् भनेर पनि भन्नुभएको छ । समग्रमा मतदाताका अपेक्षा त्यति ठूला छैनन् ।

सामान्य जीवन यापनका कुराहरू, दैनिक जीवनसँग जोडिएका विषयहरू माथि नै उहाँहरूको अपेक्षा केन्द्रित छ । यी दैनिक समस्याका कुराहरू कसरी समाधान हुन्छ भन्ने नै उहाँहरूको चिन्तन छ र अर्को कुरा उम्मेदवार सँगको पहुँचको विषय अर्को महत्वपूर्ण विषयका रूपमा रहेको मैले पाएँ । भोलि जितेर गएपछि यो मान्छेसँग मेरो पहुँच पुग्छ कि पुग्दैन भन्ने चिन्तन पनि मतदातामा छ । यसर्थ, उम्मेदवारहरूमा सरलता, सामिप्यता, सजिलै ढङ्गबाट पहुँच कायम गर्नसक्ने व्यक्ति हुँदा हामीलाई सहज हुन्छ भन्ने मनोभाव मतदातामा छ ।

 मतदाताको नजरमा त्यो उपयुक्त पात्र तपाईं हो ?

 मेरो पुरानो राजनीतिक इतिहासलाई हेर्ने हो भने मैले २०५० सालसम्म दाङमै रहेर काम गरेँ । त्यसपछि पार्टीमा मेरो राष्ट्रिय स्तरको जिम्मेवारी रह्यो । राष्ट्रिय महिला संगठनको केन्द्रीय नेतृत्व सम्हाल्ने परिस्थतिमा म बढी काठमाडौँमै केन्द्रित भएँ । जनयुद्धका बेलामा पनि म दाङमा रहन पाएनँ । त्यसपछि ०७० देखि ०७४ सम्म मैले जनप्रतिनिधि बनेर काम गर्ने अवसर पाएँ । त्यो पनि प्रत्यक्ष निर्वाचित नभएर समानुपातिक तर्फबाट जनप्रतिनिधि बनेँ । यसर्थ म आम नागरिकसम्मको समीपमा हुन पाएनँ । त्यो

नभएपछि मतदाताले प्रत्यक्ष भेटघाट गर्न नपाएको अवस्था बन्यो तर पछिल्लो अवधिसम्म आइपुग्दा म आम मतदाताको नजिक बन्न सक्रिय छु । म जहाँ–जहाँ पुगेको छु त्यहाँ मप्रति असाध्यै सकारात्मक ‘रेस्पोन्स’ पाएको छु । संविधान, लोकतन्त्र यसको पक्ष विपक्ष, हिँजोका घटनाक्रम, गणतन्त्र प्राप्तिको आन्दोलन, त्यसपछि भएको अहिलेको खतरा, अहिलेको गठबन्धनको विश्लेषण गरेर हेर्ने र एजेण्डागत रूपमा कसको एजेण्डा बलियो छ भन्ने ढङ्गले हेर्ने मतदाता पनि हुनुहुन्छ । यो विश्लेषणसँगै आगामी निर्वाचनका लागि उपयुक्त पात्रका रूपमा मलाई हेरिरहनुभएको छ । यससँगै म सँगको सहजै पहुँच कायम हुनसक्छ, पहुँच कायम हुनसके दैनिक समस्या समाधानमा सहज हुन्छ भन्ने मतदाताको भावले मलाई रोजेको अवस्था छ ।

 मतदाताका गुनासालाई राजनीतिप्रतिको वितृष्णा भन्न मिल्छ ?

 यसलाई राजनीतिप्रतिको वितृष्णा भन्दा पनि राजनीतिकर्मीप्रतिको वितृष्णा हो भन्न मिल्छ । राजनीतिकर्मी बढी इमानदार बन्नुपर्ने अवस्था आएको छ भन्ने सन्देश मतदाताले व्यक्त गरिरहेको भन्न मिल्छ । जोसुकै आए पनि केही भएन भन्ने गुनासो कायमै छ । तथापि, यसमा केही भ्रमहरू छन् पनि । तर अहिलको अपरिहार्य के हो त भन्दा राजनीतिक दलप्रति, राजनीतिकर्मीप्रति गुनासा छन् र यी गुनासाका अन्त्यका लागि राजनीतिकर्मी बढी जिम्मेवार भएर लाग्नुपर्ने टड्कारो आवश्यकताा छ । सत्य के पनि हो भने जहिल्यै राजनीतिक आन्दोलनभन्दा पनि नागरिकका दैनिक समस्या समाधानका लागि राजनीतिक दल वा राजनीतिकर्मीले भूमिका खेल्नुपर्छ ।

यो अभियान कहिलेदेखि सुरु गर्ने, यो काम कसरी सुरु गर्न सकिन्छ ? भन्ने विषयलाई समेत केन्द्रमा राखेर राजनीतिक नेतृत्व सम्हाल्नुपर्ने रहेछ भन्ने चेतको विकास पनि हुन जरुरी छ । यसर्थ, दल र नेता सचिन्नुपर्छ भन्ने ठाउँसम्म आम नागरिकको मनोभाव पुगेको छ । यो राजनीतिक दल र हामी राजनीतिकर्मीका लागि सकारात्मक कुरा हो ।

 मतदाताले दलहरूलाई बाटो सिकाइरहेका छन् भन्न मिल्यो ?

 बाटो पहिल्याउने दलहरूले हो भने त्यो बाटोमा यसरी हिँड भनेर आम नागरिकबाट आउने सुझाव मार्गनिर्देशनको रूपमा लिन सकिन्छ । मतदाताले यसो गर, यदि गरेनौ भने राजनीतिक दलको पनि भविष्य छैन र राजनीतिकर्मीको पनि भविष्य छैन भन्नु दल र हाम्रा लागि खबरदारी पनि हो । यसबाट हामीले बुझ्नुपर्ने कुरा के हो भने हिँजोसम्म जुन निष्ठाको राजनीति थियो, त्यो निष्ठा अहिले ओझेलमा पर्दै गएको छ ।

निष्ठाको राजनीतिलाई कसरी जोगाउने ? भन्ने चिन्तन अब राजनीतिमा जरुरी भइसकेको छ । एकसातासम्म भ्रममा पार्ने र पाँच वर्षसम्म भ्रमको सावित गरिदिने जुन गलत परिपाटीको विकास भएको छ यसले आम मतदातालाई निराश बनाउँदै लगेको छ । यसर्थ मतदाता पनि राजनीतिक दल र राजनीतिकर्मीप्रति थप सचेत बन्दै गइरहेको पाइन्छ ।

 राजनीतिमा कसरी यो विचलन आयो ? यहाँको राजनीतिक अनुभवले के भन्छ ?

 मैले अघि पनि भनेँ, हिँजोको जस्तो निष्ठा, हिँजोको जस्तो आदर्श, मूल्य मान्यता जुनसुकै क्षेत्रमा हेर्नुस् आ–आफ्ना कामप्रति समर्पित हुने कुरामा समस्या छन् । जुनसुकै क्षेत्रमा पनि जुनबेला सकारात्मक प्रवृत्ति हाबी भयो, त्यो सकारात्मक भएरै जाँदोरहेछ । जुनबेला नकारात्मक प्रवृत्ति हाबी भयो त्यो बेला नकारात्मक नै भएर जाँदोरहेछ । यसर्थ, राजनीति सही बन्दा सबै पाटो सहज भएर जान्छ तर राजनीति गलत भयो भने सबै क्षेत्रले बाटो बिराउँछन् । यसर्थ, सकारात्मक बाटोलाई सबै राजनीतिक दलले स्थापित गर्ने र नकारात्मक पाटोलाई किनारा लगाउने काम गर्न सकिएन भने यो बढेर जान्छ ।

यति भन्दै गर्दा राजनीतिमा सकारात्मक पाटाहरू छैनन् भन्न खोजेको चाहिँ होइन । हरेक पार्टीमा इमानदार, निष्ठावान राजनीतिकर्मी पनि हुनुहुन्छ । यस्ता राजनीतिक पात्रहरूलाई अगाडि ल्याएर निष्ठाको राजनीतिलाई स्थापित गर्नु जरुरी छ । यसो हुनसक्यो भने फेरि राजनीतिप्रतिको आकर्षण बढेर जानेछ । यो सचेतता जरुरी छ र यसका लागि मतदाताले नै मार्गनिर्देश गरेको अवस्था छ । मतदाताको सुझावलाई दलहरूले आत्मसात गर्दै गइरहेको अवस्था पनि छ । तथापि, समाजलाई राजनीतिप्रति पुरापुर विश्वस्त राख्नका लागि केही समय त लाग्छ नै । यसका लागि हामी जत्तिका व्यक्तिहरू अगाडि आउन जरुरी छ ।

 तपार्इंलाई ‘हेभिवेट’ नेतासँग भिडेको ‘सामान्य’ उम्मेदवार भन्छन् नि ?

 अहिले निर्वाचनमा आउँदाखेरि हेभिवेटको कुरा गरिरहेका छन् । बाहिर विश्लेषण पनि चलिरहेको छ । मेरो एउटा प्रश्न छ, ‘हेभिवेट’ केलाई मान्ने हो ? हाम्रो दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी छ जस्तो मलाई लाग्छ । हाम्रो एजेण्डालाई हेभिवेट मान्ने हो कि व्यक्तिको पदीय हैसियतलाई ? व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो भने म हेभिवेटसँगै प्रतिष्पर्धा गर्दैछु, म ‘लो’ प्रोफाइलकै मान्छे हो, म सामान्य परिवारको मान्छे हो ।

धनसम्पत्ति, कस्तो परिवारमा, कस्तो कूलमा जन्मियो भनेर हेभिवेट मान्ने हो भने म लोवेट हो, म हेभिवेट होइनँ तर हेभिवेटका लागि हिँजो गणतन्त्र प्राप्तिको आन्दोलनमा भूमिका निर्वाह गरेको हिसाबले हेर्ने कि संविधान निर्माणमा भूमिका निर्वाह गरेको हिसावले हेर्ने ? उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि गरेका हाम्रा योगदानको हिसाबले हेर्ने हो भने त म हेभिवेट नै हो । हेभिवेट केलाई मान्ने भन्ने कुरा आ–आफ्नो ठाउँमा छजस्तो लाग्छ ।

यसर्थ, मैले यसलाई असहज रूपमा लिएको पनि छैन । मेरो प्रतिष्पर्धी हेभिवेट भनिएका शंकर पोख्रेलसँग मेरो कुनै आग्रह, पूर्वाग्रह नै छैन, उहाँलाई म अहिले पनि सम्मान गर्छु तर हेभिवेटको प्रश्न जुन छ, संविधानको पक्षमा उभिने मान्छे हेभिवेट हो कि संविधानको विपक्षमा उभिने मान्छे ?, संविधान च्यात्ने मान्छे हेभिवेट हो कि संविधान जोगाउने मान्छे ? आम मतदाताले फैसला गरेपछि बल्ल हेभिवेट के हो र को हो भन्ने भन्ने थाहा हुन्छ । जहाँसम्म सहजता असहजताको कुरा छ, मैले यसलाई अत्यन्तै सहजतापूर्वक लिएको छु । म एजेण्डामा स्थापित हुन खोज्ने व्यक्ति हुँ । म एजेण्डा केन्द्रित छु पनि । फलतः यो हेभिवेट र लो–वेटको असहजता मैले महसुस गरेकै छैन ।

 पुरुष उम्मेदवारसँग महिला भिडेको भनेर पनि भनिन्छ, महिलालाई कमजोर पात्रका रूपमा प्रस्तुत गरिएजस्तो लाग्दैन ?

 हो, यहाँले भनेजस्तै मलाई यो महिला हो, पुरुष उम्मेदवार त्यो पनि हेभिवेट पुरुष उम्मेदवारसँग भिडेको भनेर मलाई मिनिमाइज गर्न खोजिएकै छ । यो मैले हेरिरहेकी छु । अझ हाम्रो प्रतिष्पर्धी नै छैन । रेखाले जित्दैन, फलतः जित भइसक्यो भन्ने खालको धारणाहरू पनि आउँछन् । यो भनेको मलाई महिला अनि लो–वेटको दृष्टिकोणले हेरेर गरिएका व्यक्त धारणा मात्र हुन् । उहाँ (एमाले)हरूले मलाई किन कमजोर देख्नुभएको छ ? चार राजनीतिक दलको सिङ्गो गठबन्धन हामी एकै ठाउँमा छौँ ।

गठबन्धनको मतलाई हेर्ने हो भने त चुनावी परिणामको तस्वीर क्लियर छ नि त । यस्तो स्थिति हुँदा पनि हाम्रो प्रतिष्पर्धी नै छैन भन्नु त्यो पितृसत्तात्मक सोच बोलिरहेको छ । त्यो सामन्तवाद बोलिरहेको छ भन्ने मलाई लाग्छ । अर्को कुरा उहाँहरूले महिलाहरूलाई हेर्ने दृष्टिकोणको समस्या पनि हो । महिलाहरूलाई कमजोर रूपमा हेर्ने जुन दृष्टिकोणमा समस्या छ, यो समस्याका विरूद्ध पुरुष महिला सबै एक हुनु जरुरी छ ।

यसको जवाफ पुरुष महिलाहरू सबै हामी मिलेर दिनेछौँ । यसर्थ, मैले मेरो कुरा मात्रै गर्दैन, महिला भएकै कारण जो कसैलाई पनि मिनिमाइज गर्न खोजिनु जायज हैन । महिला असक्षम नै हुन् भन्ने कुराको म जहिल्यै विरोध गर्छु । महिलाले पनि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने तमाम उदाहरण देखेर पनि महिला चुलोचौकोमा मात्रै सीमित हुनुपर्छ भन्ने उहाँहरूको सोचकै उपज मेरो उम्मेदवारीलाई मिनिमाइज गर्न खोजिएको हो । मैले हिँजो संविधान बनाउने, कानुन बनाउने कुरामा महत्वपूर्ण भूमिका खेलेको छु । यसलाई के सक्षमता नमान्ने ? फलतः अहिले पनि म एजेण्डाप्रति पूर्ण रूपमा सचेत, प्रतिबद्ध र जिम्मेवार छु ।

 चुनावी अंकगणितको सम्भावित आँँकलन कसरी गरिरहनुभएको छ ?

 मैले अघि पनि भनेँ, हामी गठबन्धनमा आबद्ध चार राजनीतिक दलका मतदाताको संख्या मात्रै जोड्यौँ भने हाम्रो जित सुनिश्चित छ । यो चुनावी गणितका हिसाबले गरिएको आँकलन हो तर चुनाव गणितका हिसाबले मात्रै हुँदैन, चुनाव कला पनि हो । चुनावमा अरु पक्ष पनि हुन्छन् । यसर्थ, अरुले भनेजस्तो चुनावमा प्रतिष्पर्धा छैन, म यसो भन्दैन ।

म अरुलेजस्तो कसैलाई मिनिमाइज गर्ने पक्षमा छैन तर हामीले हाम्रो मतलाई बदर हुनबाट जोगाउन सक्नुपर्छ । हिँजो स्थानीय तहको निर्वाचनमा मत बदरका कारणले घोराही, तुलसीपुर उपमहानगरमा हारेको तीतो यथार्थ हाम्रो सामू छ । अहिले त्यो बेलाको मतदानको जस्तो भन्झट र अलमल छैन । त्यसैले त्यो मत बदरको दुर्भाग्य हामीले बेहोर्नु पर्नेछैन । यसका लागि हामीले अहिले मिहिनेत गरिरहेका छौँ ।

अहिले सचेत मतदातामा मैले के पनि देखिरहेको छु भने यो त कुनै व्यक्तिलाई हराउने जिताउने भन्दा पनि संविधानलाई हराउने कि जिताउने ? लोकतन्त्रलाई हराउने कि जिताउने ? गणतन्त्रलाई हराउने कि जिताउने भन्ने चुनाव पनि हो भन्ने बुझाइको विकास भएको छ । व्यक्तिगत रूपमा रेखा शर्मा जित्छ कि हार्छ भन्ने कुरा मात्रै ठूलो कुरा होइन । हाम्रो एजेण्डा ठूलो कुरा हो, संविधान ठूलो कुरा हो, लोकतन्त्र, गणतन्त्र ठूलो कुरा हो ।

यसर्थ हाम्रो जित निर्विकल्प नै हो । एकातिर हामी संविधानका रक्षकहरूको गठबन्धन बनेको छ, अर्कोतिर संविधानमाथि कुठाराघात गरेका र हिँजो यो संविधान र गणतन्त्रलाई मन नपराउनेहरूको गठबन्धन छ । यसर्थ मतदाताले यसलाई पनि अध्ययन गरिरहेको अवस्था छ । गणितका हिसाबले हामी जितको धेरै नजिक छौँ तर निर्वाचनमा अन्य पक्ष पनि हुन्छन् ती पक्षदेखि हामी सचेत भएर लाग्नुपर्छ र लागिरहेका पनि छौँ ।

 गठबन्धन कार्यान्वयनको पाटो कति बलियो बन्ला ?

 मैले गठबन्धन कार्यान्वयनमा कुनै असहज देखेको छैन । राष्ट्रिय स्वार्थका निम्ति हामीले दलीय स्वार्थ त्याग गरेका छौँ । नत्र अहिले गठबन्धनमा भएका सबै पार्टीका अलग–अलग उम्मेदवार हुने थियौँ होला नि त । पार्टी भित्रकै केही साथीहरूका गुनासा पनि सम्बोधन हुन्थे होला । धेरै आकांक्षी उम्मेदवार बन्ने अवस्था आउने थियो । हिँजोको प्रतिगमन कुनै एउटा पार्टीले मात्रै रोक्न सकेन, त्यो कांग्रेसले मात्रै पनि सकेन । माओवादी मात्रैले पनि सकेन । अन्य पार्टीले पनि एक्लै सक्ने कुरा थिएन । यसर्थ, मिलेर त्यसलाई रोकियो । मूल कुरा त संविधान, लोकतन्त्र रहे न हामी रहने हो भन्ने कुरा राम्रोसँग बुझिएको अवस्था छ ।