‘गुन्टु’ जसले स्कूल पढ्दा ‘कांग्रेस’ पढे

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, १ मंसिर । सिङ्गो परिवारमा ‘वीपी सिद्धान्त’ प्रेरित राजनीतिक छलफल चल्थे । जिल्लामा कांग्रेसको संगठनलाई कसरी मजबुत बनाउने भन्ने पारिवारिक चिन्तनले ‘बाल्य मानसपटल’ मा पनि ‘कांग्रेस चिन्तन’ को छाप बस्दै जानथाल्यो । मुलुकको सर्वाङ्गीण विकासको ‘पर्याय’ कांग्रेस मात्रै हो भन्ने निष्कर्षमा पुगेको त्यो बेलाको ‘बाल्य संकल्प’ अन्ततः पारिवारिक राजनीतिक यात्राको मार्गमा कुद्न सफल भयो, ‘अविराम’ राजनीतिक यात्रामा रहने अठोटमा पुग्यो ।

त्यही अठोटले अहिले जनप्रतिनिधि बनेर नागरिकको सेवक बन्ने दौडमा कुदाइरहेको छ, प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’लाई । स्कूले जीवनमा अध्ययनसँगै राजनीतिप्रति पलाएको अधिक मोहले जसलाई ‘काबिल’ कांग्रेसी बनायो । अनि त्यही कांग्रेसको मार्गले अहिले प्रदेशसभा सदस्य बन्ने सम्भावनाको नजिक पु¥याइदिएको छ । गुन्टु दाङ २(२) बाट प्रदेशसभा सदस्यका लागि भिडेका छन् । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा गुन्टुका बाबु भरतबहादुर न्यौपाने प्रदेशसभा सदस्यका लागि भिडेका थिए ।

२०१५ को पहिलो संसदीय निर्वाचन । जुन निर्वाचनबाट निर्वाचित भएर महामानव वीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । त्यही बेलाको निर्वाचनमा दाङका जुद्धबहादुर न्यौपानेले पनि चुनाव जिते । नेपालका पहिलो जननिर्वाचितमध्यका एक सांसद न्यौपाने २०५० सालमा पुनः राष्ट्रियसभा सदस्य निर्वाचित हुँदा उनका नाति प्रचण्डविक्रम न्यौपाने स्कूल पढ्थे ।

बाजेको राजनीतिप्रतिको लगाव÷लगानीले गुन्टुका बाबु भरतबहादुर न्यौपानेलाई पनि कांग्रेस राजनीतिप्रति पुरापुर प्रेरित गरिसकेको थियो । बाजे कांग्रेसका पुराना नेता तथा सांसद, बाबु भरतबहादुर कांग्रेसका क्षेत्रीय सभापति अनि जिल्ला विकास समितिको सदस्य । गुन्टुको पारिवारिक वातावरण कांग्रेसमय बन्थ्यो । घरमा चल्ने कांग्रेस राजनीति र नागरिकलाई प्रदान गरिनुपर्ने मौलिक अधिकारका दिनहुँका बहस सुन्थे, स्कूले बालक गुन्टुले । राजनीतिप्रतिको चरम उत्साहले उत्तेजित बनाउँथ्यो ।

‘पारिवारमा पुरै राजनीतिक वातावरण बन्यो’, उनी सम्झन्छन्, ‘मलाई पनि घरमा चल्ने राजनीतिक बहस, छलफलले राजनीतिप्रतिको मोह बढाउँदै लग्यो ।’ राजनीतिप्रतिको मोहले गुन्टुलाई नेपाल विद्यार्थी संघको इकाईमा रहेर काम गर्ने इच्छा जाग्यो । उनी स्कूल पढ्दा विद्यालयको नेविसंघको इकाई समितिको अध्यक्ष बनेर राजनीतिक मार्गमा औपचारिक रूपमा पहिलो पाइला टेके, नेविसंघको इकाईको अध्यक्षको जिम्मेवारी । कांग्रेस निर्माणका लागि ‘खम्बा’ बन्नुपर्छ भन्ने उत्साहप्रद भाषणले गुन्टुलाई लाग्दै गयो, ‘अब जीवनलाई राजनीतिमै समर्पण गर्नुपर्छ ।’

बाबु÷बाजेबाट वीपीको सिद्धान्त पढेका र सुनेका गुन्टु अब नेविसंघको संगठन निर्माणका क्रममा वीपीको सिद्धान्त सुनाउने जिम्मेवारीमा थिए । ‘कसरी नेविसंघलाई संगठित र मजबुत बनाउनुपर्छ भन्ने थियो’, उनले भने, ‘वीपीका सिद्धान्तलाई अनुशरण गरेका हामी उहाँकै सिद्धान्त अगाडि सारेर युवा पुस्तालाई संगठनप्रति आकर्षित गथ्र्यौँ ।’ यो बेला उनी पटक–पटक विद्यार्थी संघको क्षेत्रीय प्रतिनिधि चयन पनि भए । स्कूले जीवनपछि उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं पुगे । उनका लागि काठमाडौं यात्राको लक्ष्य अध्ययन त थियो नै, त्यससँगै कांग्रेसको राजनीति पढ्नु र अझै सिक्नु पनि थियो ।

गुन्टुले बुझेका थिए, ‘काठमाडौं त्यो सहर हो, जहाँ नेविसंघका आइडल गगन थापाहरू छन् ।’ थापाहरूको राजनीतिक सहरमा पसेर आफूलाई कांग्रेस राजनीतिमा स्थापित हुने अभिलाषाले गुन्टुलाई काठमाडौंका गल्ली–गल्लीबाट राजनीतिक शिक्षा आर्जन गर्नु पनि थियो ।
काठमाडौँ आइएको अध्ययन पूरा गर्दासम्म उनी नेविसंघको राजनीतिका सहयात्री बने तर यो एक वर्षको अवधिले उनलाई राजनीतिक अध्ययन गराइसकेको थियो । जहाँ उनी यो अध्ययनमा पनि पास हुने ल्याकत राख्थे । बिए पढ्नका लागि उनी त्रिचन्द्र क्याम्पस हानिए । त्यो कलेजको स्ववियुको सदस्यका लागि भिडे, जिते पनि । यो उनका लागि राजनीतिको अर्को महत्वपूर्ण इनिङ थियो ।

‘स्ववियु सदस्य निर्वाचित भएपछि मैले आफूलाई मेरो राजनीतिक यात्राको महत्वपूर्ण सफलताको सूचक ठानेँ’, उनी भन्छन्, ‘यसले मलाई राजनीतिप्रति थप प्रेरित ग¥यो ।’ स्ववियु सदस्यका रूपमा गगनहरूको सहरमा राजनीतिक पाइला टेकेका उनले २०६० सालमा झन ठूलो सफलता हात पारे । नेपाली कांग्रेसप्रतिको प्रतिबद्धता र सबल नेविसंघ निर्माणका लागि उनले गरेको अथक मिहिनेतको प्रतिफल आफूलाई स्ववियु सचिवको हैसियतामा पु¥याएका गुन्टु अब नेतृत्वमा बसेर संगठनलाई चलायमान गराउन सक्ने हैसियत राख्थे । फलतः ०६२ मा उनी स्ववियुको सभापतिको उम्मेदवार बने तर यो निर्वाचन उनी अनुकूलको भइदिएन ।

स्ववियु सभापतिमा भोग्नुपरेको पराजयले उनलाई थकाएन, गलाएन । ‘यो मेरा लागि राजनीतिमा अझ बढी मिहिनेत र क्रियाशील हुनुपर्छ भन्ने पाठ थियो’, उनी सम्झन्छन् ‘मैले सिके, पढेँ तर निराश भएन, मैदान छोडेन ।’ फलतः उनी यो क्याम्पसको नेविसंघको सभापति बने । ०६२ देखि ०६५ सम्म त्रिचन्द्रको नेविसंघ सभापति बनेका गुन्टुको राजनीतिक यात्रमा त्यसयता कतै पूर्णविराम लागेन । त्रिचन्द्र क्याम्पसको नेविसंघको सभापति बनेका गुन्टु अब नेविसंघको नेतृत्व तहसम्म पुग्ने हिम्मत राख्थे ।

यो उनीभित्रको राजनीतिक अनुभव थियो न कि रहर मात्रै । इकाई सभापतिबाट नेविसंघको केन्द्रीय सहमहामन्त्री बन्ने शाहसलाई उनले आफ्नो सक्षमता मान्थे । उनी भिडे, निर्वाचित भए पनि । जतिबेला नेविसंघको नेतृत्व प्रदीप पौडेलको हातमा थियो । ‘प्रदीप दाइ अध्यक्ष हुँदा म सहमहामन्त्री बनेँ’, गुन्टु भन्छन् । काठमाडौं केन्द्रित विद्यार्थी राजनीतिक सफलताको कारण उनको मिहिनेत, क्रियाशीलता थियो । सडकमा चल्ने हरेक आन्दोलनका सहयात्री थिए, गुन्टु । मुलुकमा भएका गलत कदमको विरोधमा आफूलाई सडकमा उतार्दा कैयन लाठी अनि कैयन बुट आफूमाथि बजारिँदाको दुखाइ सहनुप¥यो उनले ।

दुई महिनासम्म राज्य पक्षको नियन्त्रणमा रहेर राजनीतिक जीवनमा जेल सजाय भोग्नुपरेको नमीठो घटनालाई पनि सहे, गुन्टुले । ०५८ मा राजाले ‘कु’ गरे । मुलुकमा दिनहुँ आन्दोलन चल्नथाले । दिनहुँ सडकमा आगो बलिरहन्थे । काठमाडौं स्थित त्रिचन्द्र कलेजमा राज्य विरोधी आन्दोलनका रूपरेखा बुनिन्थे । ०६१ मा त्रिचन्द्र क्याम्पसका स्ववियु सचिव उनै गुन्टु नै थिए । विद्यार्थी आन्दोलनको चरम रूप देखिने त्रिचन्द्रलाई राज्यले आफ्नो निगारानीमा राखिरहेको थियो ।

‘क्याम्पसभित्रै सेनाहरू छिर्थे’, गुन्टु भन्छन्, ‘शैक्षिक थलोमा सेना, आर्मी हतियार सहित प्रवेश गर्न पाइन्न भनेर हामी प्रतिरोध गथ्र्यौँ, धरपकड हुन्थे, चोट खाइन्थ्यो, लाठी बुट बजारिन्थे ।’ तर पनि उनको आन्दोलनले हार मानेन । बरु तत्कालीन राजाको रुट नै परिवर्तन गरिदिने गरी गुन्टुहरूले आन्दोलनको स्वरूप देखाए । ‘राजाको रुट त्रिचन्द्र कलेज हुँदै हुन्थ्यो’, उनले भने ‘एक दिनको यात्रामा हामीले थाहा पायौँ र धेरै ठूलो आन्दोलन ग¥र्यौँ, अन्ततः राजाले रुट नै चेन्ज गरेर अर्को बाटो गएका थिए ।’

दिनहुँ चर्किरहेका आन्दोलनले गुन्टुहरूलाई थप उत्तेजित र आक्रामक बनाउँदै लगिरहेको थियो । उसैगरी राज्य पक्षको निगरानीमा उनी परिरहेका थिए । अन्ततः गुन्टु क्याम्पसबाटै गिरफ्तारीमा परे । ‘म क्याम्पसको कक्षा कोठाबाटै समातिएको थिएँ’, उनी सम्झन्छन् ‘अनि मलगायत अरु साथीहरूलाई हनुमान ढोका पु¥याइयो ।’ हनुमान ढोका पु¥याएको केही दिनपछि गुन्टुलाई महेन्द्र युवालयमा राखियो । ‘हनुमान ढोकामा राखिँदा हामीले शारीरिक र मानसिक यातना भोग्यौँ’, उनले भने ‘तर युवालयमा पु¥याएपछि राहत महशुस भयो ।’ राज्य पक्षको गिरफ्तारीमा परेको झण्डै दुई महिना पुगिसकेको थियो तर गुन्टुले तत्काल आफ्नो रिहाइको सम्भावना देखेका थिएनन् ।

‘एक÷दुई वर्ष जेलमै बस्नुपर्छ भन्ने मनस्थिति बनाइसकेका थियौँ’, उनले भने, ‘तर कांग्रेसले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि हामी दुई महिनापछि मुक्त भयौँ ।’ त्यो रिहाइलगत्तै उनी बिए तेस्रो वर्षको परीक्षा दिन पुगेका थिए । ‘मेरो परीक्षा उसै दिन थियो, परीक्षा जेल भित्रैबाट दिने योजनामा थिएँ तर परीक्षा सुरु हुनु अघिको आधाघण्टा मात्रै म मुक्त भएँ’, उनले भने ‘अनि म हतार–हतार पुगेर परीक्षा दिएको थिएँ ।’ आन्दोलन, संघर्ष अनि कांग्रेसको संगठन निर्माणका लागि अनेकन आरोह पार गरेका गुन्टु नेविसंघको राजनीति हुँदै पार्टी राजनीतिमा सक्रिय बन्ने योजनामा लागे । उनी लुम्बिनी प्रदेश कांग्रेसको सदस्यका लागि भिडे, निर्वाचित भए । अहिले उनी लुम्बिनी कांग्रेसका प्रवक्ता समेत हुन् ।