बजेट कटौती गर्नेले विकास गर्दैनन् : महासचिव पोख्रेल

गोरक्ष समाचारदाता
दाङ, २९ कार्तिक । नेकपा एमाले महासचिव तथा दाङ क्षेत्र नं २ का उम्मेदवार शंकर पोख्रेलले जनताको जीवन स्तरमा सुधार गर्न ल्याएका योजना गठबन्धन सरकारले कटौती गरेर जनतालाई सास्ती दिएको बताएका छन् । उनले विनियोजन गरेको बजेट कटौती गर्ने तर आजभोली गाउँ–गाउँमा आएर जनतालाई विकास गर्छम् भनेर प्रलोभन दिन थालेको बताए ।

‘मैले प्रदेशको नेतृत्व गर्दा बंगलाचुलीको विकासको लागि धेरै योजना ल्याएका थिए तर गठबन्धन सरकार बनेसँगै ती योजना सबै अलपत्र छन् । कामहरू रोकिएका छन्’, बंगलाचुलीको हांसीपुरमा सोमवार भएको चुनावीसभालाई सम्बोधन गर्दै पोख्रेलले भने, ‘भोट माग्न आउँदा हाम्रा योजनाको बजेट किन काटियो भनेर उहाँहरूसँग जवाफ खोज्नुस् ।’ जनताको बजेट कटौती गर्नेहरू कहिले पनि जनताप्रति उतरदायित्व बन्न नसक्ने समेत उनले बताए । उम्मेदवार पोख्रेलले आफू मुख्यमन्त्री भएको बेला बंगलाचुलीले धेरै विकासका योजना पाएको समेत बताए ।

‘सडक, कृषि, सिंचाइ र विद्यालय सुधारमा बंगलाचुलीले धेरै योजना पाएको थियो । जनु आजसम्म पाएको थिएन तर गठबन्धनबाट मुख्यमन्त्री बनेका माओवादीका नेताले यहाँका धेरै योजनाका बजेट कटौती गरेका छन्’, पोख्रेलले भने, ‘अब त्यसको लेखाजोखा चुनावमा मतदाताले गर्नुपर्छ ।’ लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका पोख्रेलले चौतर्फी प्रतिकूलताबीच प्रदेश राजधानी बुटवलबाट दाङ सार्न सफल भएका थिए । मुख्यमन्त्री भएका बेला पोख्रेलले जिल्लाको विकासको आधार खडा गर्ने काम समेत गरेका थिए । उम्मेदवार पोख्रेलले बंगलाचुलीदेखि रामपुर हँुदै भालुवाङ सडकको काम सुरु भएको र यसले यहाँका जनताको जीवन सहज बनाउने समेत बताए ।

चुनावी सभामा दाङ क्षेत्र नं २(१) का उम्मेदवार बलिभद्र रानालगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले बंगलाचुलीको विकासको लागि योजना बनाएर काम गर्ने बताए । ‘हामी यहाँका समस्यादेखि जानकार छौँ, हामी निर्वाचित भएपछि यहाँका नागरिकको जीवनस्तरमा सुधार गर्ने गरेर काम गर्ने छौँ’, उम्मेदवार रानाले भने । उनले गठबन्धनसँग विकास गर्ने कुनै योजना नभएको समेत बताए । सोमवार हाँसीपुरका चुनावी सभालाई उम्मेदवारले सम्बोधन गरेका थिए । आइतवार घोराही उपमहानगरपालिका वडा नं. १९ र बंगलाचुलीको मुर्कुटीमा भएको सभालाई सम्बोधन गरेका थिए ।