मधुमेह दिवसमा निःशुल्क सुगर परीक्षण

गोरक्ष समाचारदाता
तुलसीपुर, २९ कार्तिक । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जमा विश्व मधुमेह दिवस मनाएको छ । अस्पतालले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

कार्यक्रममा सहभागीहरूले पछिल्लो समय विश्वभर बढ्दो संख्यामा रहेको यो रोग नेपालमा तीव्र रूपमा वृद्धि भइरहेको भन्दै सजक हुनुपर्ने बताएका थिए । मानिसले खानाको मात्रा मिलाएर नखाने, खाना खाएपछि टेबुलमा बसेर गर्ने काम गर्नाले र नियमित व्यायाम नगर्ने जीवनशैली र आपसी प्रतिस्पर्धाको पछि लागेर सधैँ तनावसहितको जीवन जिउनाले यो रोग बढिरहेको बताइएको थियो । मधुमेहबाट आँखामा पनि विभिन्न समस्याहरू हुने रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवदीले बताए ।

उनकाअनुसार आँखाको पर्दामा रगत जम्ने, पर्दामा नयाँ नशा पलाउने, नशा सुक्ने, पर्दा सुन्निने तथा च्यातिने, आँखाको नशाको पक्षघात हुने र मोतियाविन्दु तथा जलविन्दु हुने सम्भावना रहेको बताए । मधुमेह भएका व्यक्तिले ६÷६ महिनामा आँखाको दृष्टि पर्दाको जाँच गराउनपर्ने सल्लाह कार्यक्रममा दिइएको थियो । कार्यक्रममा नेत्र विशेषज्ञ डा इप्सा भण्डारी, शिलु थापालगायतले सुगर रोग, यसका लक्षण चिह्न, यसले शरीर र आँखामा पार्ने असरको बारेमा सहभागीलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुवेदी, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवी रिजाल, प्रमुख प्रशासक किरण पौडेल, नेत्रविशेषज्ञ डा ज्योति सापकोटा, नेत्रविशेषज्ञ डा निता सुनामलगायतको सहभागिता रहेको थियो । सो अवसरमा तीनवटै अस्पतालले सुगरको चेकजाँच निःशुल्क गरेका थिए ।

छन्द कालोबाबु नारायणी आँखा अस्पतालमा १५३ जनाको सुगर जाँच गरिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । त्यस्तै राप्ती आँखा अस्पताल, लमही आँखा अस्पतालमा पनि निःशुल्क रगतको परीक्षण गरिएको थियो ।