सन्दर्भ विश्व मधुमेह दिवस २०७९ : जीवनशैली र वंशाणुगत कारणले बर्सेनि मधुमेहका बिरामी बढ्दै

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, २८ कार्तिक । पछिल्लो समयमा नेपालमा आरमदायी जीवनशैली, तनाव, सहरीकरण, असन्तुलित खानाको कारण टाइप टु (दोस्रो प्रकारको मधुमेह) बढिरहेको छ । महिला भन्दा बढी प्रतिस्पर्धा, तनाव र आरमदायी जीवनशैली पुरुषको हुनाले महिलामा भन्दा पुरुषमा मधृुमेह बढी भएको हुन सक्ने चिकित्सक अनुमान गर्छन् । तथ्याकंले मधुमेह लाग्ने महिला र पुरुष दुवैको संख्या हाराहारीमा देखाएको छ ।

पछिल्लो समय विश्वभर बढ्दो संख्यामा रहेको यो रोग नेपालमा तिब्र रूपमा बृद्धि भइरहेको छ । मानिसहरूले खानाको मात्रा मिलाएर नखाने, खाना खाएपछि टेवुलमा बसेर गर्ने काम गर्नाले र नियमित व्यायम नगर्ने जीवनशैली र आपसी प्रतिस्पर्धाको पछि लागेर संधै तनाव सहितको जीवन जिउनाले यो रोग बढिरहेको देखिन्छ ।

आज सोमवार विश्व तथा नेपालमा विश्व मधुमेह दिवस विभन्न कार्यक्रम गरि मनाईदैछ । यस बर्षको विश्व मधुमेह दिवसको नारा भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्वलाई यस वर्ष उजागर गरिँदै छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु नपर्ने चिकित्सकहरू बताउँछन् ।

विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् । डायबिटिज दुई प्रकारका हुन्छन् । टाइप वान डायबिटिज र टाइप टु डायबिटिज । हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन ।

यसको एक मात्र उपचार इन्सुलिन दिनु हो । दोस्रो प्रकारको मधुमेहबारे । यो अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ । हाम्रो प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबिटिज हुन्छ । हाम्रो शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । हामीलाई केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ । यो डायबिटिज हुने प्रमुख कारण चाहिँ मोटोपना हो ।

अहिले विश्वभर मानिसहरूमा मोटोपनाको चिन्ता देखिन थालेको छ । अहिले देखिएको डायबिटिजको मुख्य कारक पनि मोटोपना भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएको चिकित्सकहरू बताउछन् । मधुमेहबाट आँखामा पनि विभिन्न समस्याहरू हुने रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवदीले बताए । उनका अनुसार आँखाको पर्दामा रगत जम्ने, पर्दामा नयाँ नशा पलाउने, नशा सुक्ने, पर्दा सुन्निने तथा च्यातिने, आँखाको नशाको पक्षघात हुने र मोतिविन्दु तथा जलविन्दु हुने सम्भावना रहेको बताए ।

त्यस्तै डा. सुवेदीले मधुमेह रोकथाम गर्न शारिरिक सक्रिय रहि शरिरको तौललाई नियन्त्रण गर्ने, दैनिकरूपमा ४० मीनेट हिड्ने, ब्यायम तथा योगा गर्ने, सन्तुलित आहारको सेवन गर्ने, शरिरमा चिल्लो पदार्थ तथा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने, प्रसस्त मात्रामा सागसब्जी, फलफुल तथा रेशादार खानेकुरा खाने, बेला बेलामा रक्त परिक्षण गरी शरिरमा ग्लुकोजको मात्रा कती छ जाँच गर्ने सुझाव दिन्छन् । मधुमेह भएका ब्यक्तिले ६÷६ महिनामा आँखाको दृष्टि पर्दाको जाँच गराउनको सल्लाह छ । चिकित्सकका अनुसार यो रोग गाउँको तुलनामा सहरमा तिब्र गतिमा बढिरहेको छ । टाइप वान मधुमेह भने बंशाणुगत कारणले हुने चिकित्सक बताउँछन् ।

मधुमेहका कारण मिर्गौलामा बिग्रिन सक्ने मानिसमा हृदयघातको जोखिम मधुमेहले खुट्टा बिग्रिने मानसिक रोगलगाएतका जोखिम हुने बताएको छ । विश्व मधुमेह दिवस सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घले पनि आधिकारिकता दिन थालेको हो ।