पार्टीमा बसेर अन्तरघात गर्ने छुट छैन : नेता मजगैयाँ

गोरक्ष समाचारदाता
दाङ, २८ कार्तिक । नेपाली कांग्रेसका नेता बलदेव शर्मा मज्गैयाँले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनका लागि सबै लाग्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्य कर्ताहरूलाई आग्रह गरेका छन् । आइतवार नेपाली कांग्रेस पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँगको भेटघाटमा उनले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन लागिपर्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

पार्टीले गरेको निर्णय पालना गर्नु र त्यसको कार्यान्वयन गर्नु सम्पूर्ण नेताकार्यकर्ताको जिम्मेवारी भएकाले पार्टीको निर्णय पालना गर्न लाग्नुपर्ने बताए । गठबन्धनको मर्म र भावना अनुरूप प्रचारप्रसारमा लागेर गठबन्धनको उम्मेदवारहरूलाई विजयी बनाउनका लागि आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए । गठबन्धनको विरूद्धमा जाने व्यक्ति सच्चा कांग्रेस हुन नसक्ने भन्दै शर्माले सबैलाई जिम्मेवार नेता कार्यकर्ताको पहिचान दिन नेताकार्यकर्तालाई सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो । ‘पार्टीको सबै निर्णय चित्त नबुझ्न सक्छ तर पार्टीको निर्णय कार्यान्वयन गर्नु हामी सच्चा नेता कार्यकर्ताको जिम्मेवारी हो’, उनले भने, ‘त्यसैले हामी सबै गठबन्धनलाई विजयी बनाउनका लागि लाग्नुस्, यो मेरो निर्देशन हो ।’

नेपाली कांग्रेसका पूर्व संगठन विभाग प्रमुख समेत रहेका शर्माले निर्णय चित्त नबुझे पार्टीभित्र छलफल गर्नुपर्ने तर पार्टीको निर्णयविपरीत जाने छुट कसैलाई पनि नभएको बताए । ‘चित्त बुझ्दैन सिरक ओढेर बरू एक्लै रुनुस्m मनको पीडा पखाल्नुस् तर बिहान उठेर मुख धोएर फेरि पार्टीको प्रचारमा लाग्नुस्’, उनले भने, ‘तपाईँलाई चित्तै बुझ्दैन भने पार्टीभित्र बसेर घात नगर्नुस्, बरू पार्टी छोडेर जानुस्, त्यसपछि जे गर्न मन छ गर्नुस् ।’ गठबन्धनका उम्मेदवारहरूलाई जिताउनका लागि सबैलाई लाग्न नेता शर्माले निर्देशन दिएको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए । त्यस अवसरमा दाङ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी कार्यक्रमका बारेमा क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले जानकारी गराएका थिए ।