विजय जि.एम.
देश चुनावमय अवस्थामा छ । मौसम चिसो छ तर चुनावको सरगर्मी भने हवाट्टै बढेको छ । गाउँघरदेखि सहर बजारसम्म चुनावी आँकलनको बारेमा चर्चापरिचर्चा छ । राजनीतिक दलका नेता कार्यकर्ताहरु चुनाव प्रचारप्रसारमा व्यस्त देखिन्छन् । जनताको घरदैलोमा पुगेका छन् । नेता कार्यकर्ता चुनावी नतिजा आफ्नो पक्षमा पार्न साम, दाम र दण्डको प्रयोग गरिरहेका छन् । राजनीतिक दलहरुले सम्पुर्ण शक्ति चुनावमा केन्द्रित गरेका छन् ।
अहिले राजनीतिक दलहरु चुनावी अभियानमा छन् । राजनीतिक दलहरु घोषणापत्र मार्फत जनता समक्ष आरुआफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । जनतालाई विभिन्न आश्वासन दिइरहेका छन् । जनतालाई घोषणापत्र मार्फत उधारो सपना बाँडेका छन् । जनता समक्ष उधारो राजनीतिक व्यापार गरिरहेका छन् । राजनीतिक दलहरुले विगतका चुनावमा जनतालाई बाँडेका सपना र आश्वासन कति पुरा गरे होलान् ? सोचनीय विषय बनेको छ । कुनै लेखाजोखा छैन् । कुनै समिक्षा छैन् । जनतासँग कुनै गल्ती महशुस गरेका छैनन् । जनतालाई फेरि पनि भ्रममा पार्न खोजिरहेका छन् । फेरि पनि उही पुरानै नारा र झुटा आश्वासन बाँडिरहेका छन् ।
देशका कर्णाधार युवाहरु वैध वा अवैध तरीकाले दैनिक विदेशीन बाध्य छन् । राष्टिूय खेलाडीहरु बेरोजगार भएर म्यादी प्रहरीमा भर्ना हुन बाध्य छन् । बाटोघाटोको अवस्था नाजुक छ । महँगीले अकाश छोएको छ । रोजगारको अवसर छैन् । राजनीतिक स्थायीत्व छैन् । विकासको गति कछुवा तालमा छ । व्यापार व्यवसाय धराशय अवस्थामा छ । उत्पादन छैन् । रोजगारीको सिर्जना छैन् । देश अशान्त छ । देशको अर्थतन्त्र डामाडोल अवस्थामा छ । देशमा भ्रष्टाचारले नेटो काटिसकेको छ ।
प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन् भइरहेको छ । राजनीतिक चरित्र र संस्कार छैन् । जनताले सुशासनको अनुभुति गर्न सकेका छैनन् । हिमाली जिल्लामा शैक्षिकसत्र सकिन लागेको छ तर विद्यार्थीको हातमा किताब पुगेको छैन् । देशको यो अवस्थामा मंसिर ४ गते आवधिक चुनाव हुँदैछ । यो चुनावलाई निकै चासोका साथ हेरिएको छ । चुनाव जितेर बेपता भएका नेताहरु फेरि घरदैलोमा देखिएका छन् । जनतालाई फेरि पनि शिक्षा, स्वास्थ्य, रोजगार र विकासका आश्वासन बाँडिरहेका छन् ।
नेताहरुका झुटा आश्वासन बिर्सिएर बसेका जनताहरु ब्युझिएका छन् । जनता नेताले देखाएका सपना र आश्वासन सम्झेर विगतका घाउहरु कोट्याउने पक्षमा छैनन् । बरु विस्तारै अहिलेका नेताहरुको विकल्प खोजिरहेका छन् । अघिल्लो चुनावमा जुन आश्वासन जनतालाई बाँडेका थिए त्यो पुरा गरे कि गरेनन् हेक्का छैन तैपनि फेरि घोषणापत्र मार्फत झुटा आश्वासन, अठोट र प्रतिवद्धताको राजनीतिक व्यापार गर्न जनताको घरदैलोमा नेताहरु झुल्किएका छन् ।
देशमा विभिन्न आन्दोलन मार्फत देशको शासन व्यवस्था फेरियो । कैयौँ पटक चुनाव भयो । राजनीतिक दलका नेताहरुको जिवनस्तर र जिवनशैलि फेरियो । नेताका नातागोता र लम्पट कार्यकर्ताहरुको जिवनस्तर रातारात फेरियो । तर राजनीतिक दलहरुका मानसिकता फेरिएन् । देश र जनताको अवस्था फेरिएन् । देश विकास र जनताको जिवनस्तर फेर्न चुनाव चाहिएको हो ।
चुनाव प्रजातन्त्रको सुन्दर पक्ष हो । जनताले जनप्रतिनिधि छनोट गर्ने उत्तम विधि नै चुनाव हो । देश सञ्चालन गर्ने अभिभारा जननिर्वाचित जनप्रतिनिधिले नै हो । तर राजनीतिक दलहरुको अराजनीतिक क्रियाकलापले गर्दा चुनावको निष्पक्षतामाथि नै प्रश्न चिन्ह खडा भएको छ । अहिले चुनाव नेतालाई पाँच वर्षकोे लागि भ्रष्टाचार गर्न निर्वाचित गरेको जस्तो भएको छ । चुनाव जनप्रतिनिधिलाई भ्रष्टाचार गर्न वैधता दिएको जस्तो भएको छ । चुनावको समयमा जनताको घरदैलोमा आएर हारगुहार गरेर भोट माग्ने अनि चुनाव जितेर गएपछि जनताको अगाडी नाकमुख नदेखाउने प्रवृतिले नेता र चुनावप्रति जनताको वितृष्णा दिनप्रति दिन बढिरहेको छ ।
चुनावमा जनताले अमुल्य मत दिएर नेतालाई संसदमा पठाउने गर्दछन् । तर जनताले निर्वाचित गराएर पठाएको जनप्रतिनिधिले नै संसदहरुको हत्या गर्दछन् । संसद नै बारम्बार विघटन गर्दछन् । संसद अवरोध गरेर संसदलाई बन्धकी बनाउँदछन् । संसदको सर्वोच्चतामाथि धावा बोल्दछन् । संसदको मानमर्यादा, विधि र प्रक्रियामाथि नै हस्तक्षेप गर्दछन् । संसदीय प्रणालीलाई नै विकृत बनाइसकेका छन् । नेताहरुको गलत हर्कतले गर्दा संसदीय व्यवस्थाको विकल्प खोज्ने दिन आउनसक्छ । राजनीतिक दलहरुको गलत कदम र क्रियाकलापले गर्दा जनताले विकल्प खोजिरहेका छन् । राजनीतिक दलहरुको विकल्पकोे खोजिमा बालेन शाह र हर्क साम्पाङ जस्ता स्वतन्त्र व्यक्तिहरुको उदय भएको छ ।
तर राजनीतिक दलहरुको विकल्प तत्काल सम्भव देखिदैैन् । अहिलेका दलहरुको विकल्पको रुपमा स्वतन्त्र व्यक्ति वा अर्को नयाँ दल नै हो । तर अहिले नै कुनै स्वतन्त्र व्यक्ति र नयाँ दल पुराना दलका विकल्पको रुपमा खडा हुने अवस्था छैन् । अझै पनि केही समय पुरानै दलहरुको हालिमुहाली चलिरहने छ । नयाँ दल वा स्वतन्त्र व्यक्ति पुराना राजनीतिक दलहरुको विकल्पको रुपमा उदय हुनु दीर्घकालीन रुपमा सकारात्मक पहल नै मान्नुपर्छ । नयाँ दल वा स्वतन्त्र व्यक्तिको उदय हुनु राजनीतिक दलहरुको लागि खतराको घण्टी हो । राजनीतिक दलहरुको आगामी गतिविधिले उनीहरुको राजनीतिक यात्रा तय गर्नेछ ।
एक दुई सिट जितेर सरकार बनाउने र गिराउने खेलमा च्याँखे थाप्ने काम बाहेक नयाँ दल वा स्वतन्त्र व्यक्तिहरुको भुमिका देखिदैन् । राजनीतिक दलहरुको लागि यो चुनाव अवसर र चुनौति दुवै हो । राजनीतिक दलहरुले आफ्नो व्यवाहार, चरित्र र संस्कार परिवर्तन गर्न सकेनन् भने अबको पाँच वर्षपछिको राजनीतिक यात्रा निकै चुनौतिपुर्ण छ । नेपालको राजनीतिले नयाँ बाटो लिने देखिन्छ । राजनीतिक दलहरुले आगामी दिनमा आफूलाई करेक्सन गर्नसकेको खण्डमा नयाँ दल वा स्वतन्त्र व्यक्तिको अस्तित्व धरापमा पर्ने देखिन्छ । अन्यथा राजनीतिक दलहरुको भविष्य अन्धकार देखिन्छ ।
नेतृत्वको गलत कदमले गर्दा राजनीतिक क्षेत्र नै दुषित भएको छ । राजनीतिमा भविष्य देखेर राजनीतिमा होमिएका युवापुस्ताको भविष्य नै अन्धकार छ । नेतृत्वले युवालाई प्रयोग मात्र गरिरहेको छ । गलत नेतृत्वका कारण युवापुस्तालाई विश्वास गर्न सजिलो छैन् । युवाहरु गलत नेतृत्वको विरुद्ध बोल्न सक्दैनन् । नेतृत्वका ‘एसम्यान’ हुन बाध्य छन् । राजनीतिक संस्कार र चरित्र युवा नेतृत्वमा देखिदैन् ।
नेतृत्वले गरेका गलत कदमका विरुद्ध बोल्नसक्ने आँट छैन् । उल्टो गलत नेतृत्वको पक्षपोषण गरिरहेका हुन्छन् । चरित्रहीन र संस्कारहीन नेतृत्वको कारण युवा नेतृत्व पनि चरित्रहीन, संस्कारहीन र अराजकताको बाटोमा अग्रसर देखिन्छन् । राजनीतिक दलहरुको संरक्षणका कारण देशका कर्णाधार युवाहरु गलत बाटोमा लागिरहेका छन् । राजनीतिक दलहरुको अराजनीतिक गतिविधिले देशको हरेक क्षेत्र डामाडोल छ । नेतृत्वको गलत कदमलाई आँखा चिम्लेर साथ दिने युवा र युवाहरुको गलत कामलाई साथ र संरक्षण गर्ने नेतृत्वको कारण देशमा हत्याहिंसा, बलात्कार र अशान्तिको वातावरण सिर्जना भएको छ ।
तर पनि पुरानो नेतृत्वको विकल्पमा युवा नेतृत्वप्रति जनताको झिनो आश छ तर भरोसा छैन् । राजनीतिक दलहरुको नेतृत्व पार्टीभित्र र बाहिर स्वच्छ छवि भएका इमान्दार युवापुस्ताले नै गर्नुपदर्छ भन्ने आवाज सुनिन्छ । पुराना र डेट एक्सपाएर नेतृत्वप्रति जनताको आशा र भरोसा छैन् । नेताप्रति जनआक्रोश छ । अहिलेसम्म जनता आशै आशमा बाँचेका छन् । कति दिन आशमा बाँच्ने हो ? यो चुनाव जनताको लागि होइन, नेता र कार्यकर्ताको लागि हो । तसर्थ अब जनताले सोच बदल्ने हो कि ?
पार्टीमा अरु नेता नै नभएको जस्तो फेरी पनि उही पुरानै अनुहार र पुरानै नेतृत्व फेरि जनताको घरदैलोमा आएका छन् । सरकारमा मन्त्री पनि भएका छन् । पार्टीभित्र शतिmशाली पनि छन् । तर देशको कुरा छोडौं आफ्नो गाउँठाँउको लागि सिन्को पनि बाँच्न सकेका छैनन् । अहिल आएर यो गर्छु, त्यो गर्छु भनेर जनतालाई अझै झुटा आश्वासन दिइरहेका छन् । जनताले कसरी विश्वास गर्ने हो ? जनता यतिबेला मुख्य राजनीतिक दलका नेतृत्व नै मुछिएका वाइडबडी काण्ड, ललिता निवास प्रकरण, ओम्नी प्रकरण, यति काण्ड, बतास काण्ड, बुढीगण्डकी काण्ड, ७० करोड प्रकरण लगाएत थुपै्र काण्डहरु सम्झिरहेका छन् । तैपनि जनता धेरै बदमासहरु मध्ये कम बदमासलाई नै रोज्नुपर्ने बाध्यता छ ।
राजनीतिक दलका नेताहरु आफू मात्र ठिक अरु सबै गलत हुन् भन्ने मनोरोगबाट ग्रसित छन् । उनीहरुमा आफूले गर्दा ठिक अरुले गर्दा गलत भन्ने प्रवृति हावि भएको छ । संसदलाई आफ्नो रिस, इष्र्या र कुण्ठा पोख्ने ठाउँ बनाएका छन् । संसदलाई गफ गर्ने थलो बनाएका छन् । नेताहरुको क्रियाकलाप नै संसदको खिलाफमा देखिन्छ । नेताहरुको अराजनीतिक हर्कतले गर्दा संसदको गरिमामाथि नै प्रश्न चिन्ह खडा भएको छ । संसदीय व्यवस्थामाथि नै पुर्नविचार गर्नुपर्ने देखिन्छ । संसदयी व्यवस्था नै असफलतातिर अग्रसर छ । संसदमाथि नै बारम्बार प्रहार गरिरहने हो भने संसदीय चुनावको तामझाम किन गर्नु परेको होला ? राज्यको ढुकुटी किन रिट्याउनु परेको होला ?
सिद्धान्तविहीन राजनीतिक अपराध हो । पार्टीको नीति, विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर केवल सत्ता र शक्तिको लागि अपवित्र गठबन्धन गरेर दलहरु चुनावमा होमिएका छन् । दलका घोषणापत्रमा निशुल्क शिक्षा र स्वास्थ्यका कुरा उल्लेख छन् । सडक, रोजगार र विकासका सपनाहरु छन् । तर अघिल्ला चुनावहरुमा जनतालाई देखाइएका सपनाहरु कति पुरा भए, जनताले देखेका सपनाहरु कति पुरा भए, नेतालाई कुनै लेखाजोखा छैन । फेरि पनि उही झुटको खेती गरिरेहका छन् । जनतालाई अझै पनि भ्रम छरिरहेका छन् । हिजोका दिनहरुमा सत्ता र शक्तिमा हुँदा काम गर्न नसक्नेहरु अहिले विकास गर्छु भनेर भाषण गरिहेका छन् । जनतासँग आफूलाई जिताउन हारगुहार गरिरहेका छन् । यो राजनीति पनि विचित्रको छ ।