Goraksha

National Daily

झुठ नबोल, मत घट्न सक्छ

निर्वाचन नजिकिँदै गर्दा विकासे योजनामा आफ्नो अपनत्व लिने प्रवृत्ति हाबी भएको छ । सबैभन्दा बढी पुलपुलेसाहरु आफैले बनाएदेखि जनप्रतिनिधिविहीन अवस्थामा बनेका संरचना तुलसीपुर बसपार्कको जस लिने प्रवृत्ति समेत हाबी भएका छन् । यसमा पनि यो जिल्लामा सबैभन्दा बढी चर्चाको विषय चारलेन सडक बनेको छ ।

चारलेन सडक गुम्राहमा परिरहँदा यहाँका जनप्रतिनिधिहरु मौन थिए । चारलेन सडक खासमा लमहीदेखि घोराही हुँदै तुलसीपुरदेखि कपुरकोटसम्मको योजना थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा दिएको अनुदान सहयोग । यसैका नाममा एउटा परियोजना खडा भयो । ग्लोबल टेण्डरमा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले चारलेन सडक निर्माणको जिम्मा पाएको सबैलाई विदितै विषय हो ।

हो, भारतीय निर्माण कम्पनी काममा आएन वा आउन दिइएन र यहीँकै पेटी–ठेकेदारहरुले ठेक्काको जिम्मा लिए भन्ने सन्दर्भमा एउटा तार्कीक र तर्थपूर्ण बहस जरुरी छ । यसमा केन्द्रीय परियोजना कार्यालयका अधिकारीहरु समेतलाई छानवीनको दायरामा ल्याउन आवश्यक छ । किनकि चारलेन सडक निर्माणका क्रममा सडकलाई क्षतविक्षत बनाइएको छ । यही कारण एक वर्षको अवधिमा कम्तिमा २५ जनाभन्दा बढीको यही सडकदुर्घटनामा निधन भइसकेको छ । हजारौँ सवारी साधनहरुले इञ्जिन गुमाएका छन् ।

दुर्घटनामा सयौँ नागरिक घाइते भएका छन् तर अब चुनाव नजिकिँदै गर्दा चारलेन सडक यो पार्टीले गर्न दिएन, उ पार्टीले गर्न दिएन, मैले एक वर्षमा चारलेन बनाउँछु, मैले दुइ वर्षमा चारलेन बनाउँछु भन्नुको कुनै अर्थ छैन । आफै सत्तामा रहेकाहरुबाट पनि यो अभिव्यक्ति आउँछ भने त्यो झुठो अभिव्यक्ति हो । यस्ता झुठा आश्वासन निर्वाचनमा नबाँड । यसले जनताको मत बढाउने होइन, घटाउन सक्नेछ ।

फेरि निर्वाचनको मौकामा लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा एमाले पार्टीभित्र चुनावी नारा बनेको छ । बुटवलमा विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी जबर्जस्त रुपमा दाङमा तोकिएको भन्दै अर्को प्रदेशसभाले राजधानी फेरि बुटवल ल्याउने अभिव्यक्ति दिइरहेका छन् । उनको अभिव्यक्तिलाई दाङकै नेता तथा एमालेका महासचिव शंकर पोख्रेलले राजधानी पटक–पटक नतोकिने भनिरहेका छन् भने अर्का प्रदेशसभाका उम्मेदवारले देउखुरीमा तोकिएको राजधानीलाई दाङ उपत्यकामा ल्याउने अभिव्यक्ति दिए ।

जुन यो निर्वाचनका समयमा बोल्नुपर्ने विषयवस्तु नै होइनन् । यो सन्दर्भमा पनि उम्मेदवारहरु गम्भीर बन्न आवश्यक छ । संविधानले तोकेका विषयवस्तुबाट बाहिर कुनै पनि नेताले अभिव्यक्ति दिन सुहाउँदैन । संविधानमा उल्लेख भएका अपरिवर्तनीय विषय भनेकै प्रदेश राजधानीको हो तर निर्वाचनमा मत तान्ने नियतले गरिएका अभिव्यक्तिहरुले मत तान्न सक्दैनन् । निर्वाचनमा झुठा आश्वासन नबाँड ।