Goraksha

National Daily

कुटपिटबाट दाईको मृत्यु भएपछि फरार रहेका भाई पक्राउ

दाङ,२५ चैत । दाङको देउखुरीमा दाइको हत्या गरेको अभियोगमा फरार रहेका देउखुरीको राजपुर गाउँपालिका–१ रसरीखोला निवासी २३ वर्षीय जसराम कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा कुटपिट गरि ३२ वर्षीय दाई प्रेम कामीको हत्या गरेको अभियोगमा प्रहरीले आज मंगलबार उनलाई पक्राउ गरेको हो । राजपुर गाउँपालिका वडा नं. १ को रसरीखोलाकोे छेउमा रहेको मसुरोको भुसमा लुकिछिपी बसेको अवस्थामा जसराम कामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन ।

पक्राउ परेका कामीलाई कर्तव्य ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि कारबाही प्रक्रिया अघि बढाएको प्रवक्त खड्काले जानकारी दिए । कामीले चैतको १९ गते दाउराको चिरपटले दाईलई हान्दा दाई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा देउखुरीको लमही अस्पतालमा मृत्यु भएको थियो । दाईको मृत्युपछि फरार रहेका भाई आज पक्राउ परेका हुन ।