बिपन्न बर्गका उपभोक्तालाई राहत प्रदान गर्न वन महासंघको आग्रह
वन समूहलाई आवश्यक सहजिकरण गर्न स्थानीय महासंघलाई अनुरोध
दाङ, चैत २५ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङले लकडाउनका कारण अप्ठेरोमा परेका वन समूहका बिपन्न बर्गका उपभोक्तालाई राहत प्रदान गर्न वन समूहहरुलाई आग्रह गरेको छ । सामुदायिक वन उपभोक्ता समूहका अति बिपन्न वर्गलाई खाना खान नपाउने अवस्था आउन नदिनका लागि सम्वन्धित वडा कार्यालयसँग समन्वय गरी उनीहरुलाई राहत प्रदान गर्न वन महासंघ दाङले जिल्लाका सवै वन समूहलाई आग्रह गरेको छ ।
वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी र सचिव जानका के सी ले आज मंगलवार एक बिज्ञप्ति निकालेर जिल्लाका सबै सामुदायिक वन समूहहरुलाई आवश्यक सहयोग गर्न स्थानीय महासंघहरुलाई समन्वय गर्न आग्रह गर्नु भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएका कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन लम्विदै जादा सामुदायिक वन समूहमा आवद्ध बिपन्न वर्गका उपभोक्ता पनि मारमा परेको भन्दै त्यस्तो वर्गलाई आवश्यक राहत प्रदान गर्नका लागि बिज्ञप्तिमा आग्रह गरिएको छ ।
आफ्ना बिपन्न वर्गका उपभोक्ताहरुलाई संकटमा सहयोग गर्न सक्ने ब्यवस्था वन समूहको विधानमा समेत ब्यवस्था हुने भन्दै बिज्ञप्तिमा सोही आधारमा त्यस्ता उपभोक्ताहरुलाई राहत प्रदान गर्न बिज्ञप्तिमा अनुरोध गरिएको छ । संकटको यस घडीमा आवश्यक सहजिकरण गर्न पनि बिज्ञप्तिमा दाङका १० वटै सामुदायिक वन उपभोक्ता महासंघका स्थानीय समितिलाई आग्रह गरिएको छ । दाङमा ५ सय बढी सामुदायिक वन समूह रहेका छन ।
